
खाना खानको लागि रेस्टुरेन्ट जाँदा वा पसलमा केही किन्न जाँदाखेरि त्यहाँका कर्मचारीहरूले यहाँहरूसँग नम्र व्यवहार गऱ्यो भने साँच्चै राम्रो लाग्छ नि । कुनै सामान खासै मन नपरेको भए पनि कहिलेकहीँ विक्रेताको व्यवहारले गर्दा त्यो सामान किनूँ-किनूँ लाग्ने अवस्था पनि हुन्छ ।
नम्र हुनु यतिसम्म प्रभावकारी हुन्छ भने यो महिना आफ्नो परिवारलाई आफ्नो ग्राहक ठानेर उनीहरूसँग नम्र व्यवहार गर्दा कसो होला ? वास्तवमा परिवारसँग सधैँ नम्र व्यवहार गर्न सजिलो त हुँदैन । कहिलेकहीँ निराश हुँदा, बिरामी हुँदा अथवा अरू कुराको बढी वास्ता गर्दाखेरि रुखो बोली र व्यवहार गर्ने अवस्थाहरू धेरै हुन्छ । यसैकारण एक-अर्कालाई चोट पुऱ्याएको वा आपसमा असमझदारी सृजना भएको कुराप्रति पछुतो पनि लाग्न सक्छ ।
कुनै अपरिचित व्यक्तिसँग त मन्द मुस्काउँदै व्यवहार गरिन्छ भने आफ्नो परिवारसँग त्यसरी व्यवहार गर्न नसक्नुमा कुनै कारण छ त ? आफ्नो परिवारलाई एक VIP ग्राहकलाई जस्तै व्यवहार गऱ्यो भने यहाँहरूको घर पनि उज्ज्वल र हर्षपूर्ण ऊर्जाले भरिभराउ हुनेछ ।
- सुझाव
- ऐनामा हेर्दै मन्द मुस्काउन कोसिस गर्ने
- परिवारसँग कुराकानी गर्दा मैत्रीपूर्ण तवरले नम्रतापूर्वक बोल्ने
- परिवारलाई थाहा नभएको कुरा छ भने नम्रतापूर्वक जानकारी दिने
- परिवारको कुरालाई मुस्काउँदै अन्त्यसम्मै सुनिदिने
- “धन्यवाद” वा “म त्यसको कदर गर्छु” भनेर लगातार भन्ने
- परिवारले गल्ती गर्दाखेरि त्यसलाई सहेर बुझिदिन प्रयास गर्ने
- चाहिएको कुरा उनीहरूले माग्नुअगावै ल्याएर दिने
- सँगै घरभित्र प्रवेश गर्दाखेरि सबै जना प्रवेश नगरुञ्जेल ढोका समाइदिने
- केही समयसम्म यो मिसनलाई लागू गरेपछि एक-अर्काको नम्र व्यवहारको मूल्याङ्कन गर्ने