
दिवङ्गत छोरीको नाम सधैँ एउटा बहुमूल्य प्रकाशको रूपमा चम्किरहोस् भन्ने एक बुबाको निश्चल प्रेमद्वारा इ जिन ए मेमोरियल पुस्तकालयको निर्माण गरिएको हो । पुस्तकालयको भित्री भित्ताहरूमा कुँदिएका शिलालेखहरू
‘सबैभन्दा उत्कृष्ट नाम भएको भवन’, ‘सबैभन्दा सुन्दर पुस्तकालय’, ‘दुःखद कहानी भएको पुस्तकालय’, ‘कोरियामा अनुदानमा आधारित पहिलो पुस्तकालय’ ⋯ यी सबैचाहिँ सदेमुन झ्यालखाना ऐतिहासिक सङ्ग्रहालयको नजिकै अवस्थित इ जिन आ मेमोरियल पुस्तकालयका उपनामहरू हुन् । त्यसोभए इ जिन आ को हुन् र पुस्तकालय स्थापना गर्नुको कारण के हो ?
इ जिन आचाहिँ एक कान्छी छोरी थिइन्, जसले दोभाषे बनेर आफ्ना आमा-बुबालाई गर्व महसुस गराउने सपना देखेकी थिइन् । तर सन् २००३ जुनमा, संयुक्त राज्य अमेरिकाको बोस्टनमा अध्ययन गर्दा, एउटा अप्रत्याशित दुर्घटनामा उनको निधन भयो । दुर्घटना हुनुभन्दा दुई हप्ताअघि मात्र, उनका बुबा व्यावसायिक यात्राका लागि अमेरिका पुगेका थिए, र त्यसबेला बुबा, छोरीले सँगै संगीतमय कार्यक्रम हेरेका थिए र बेसबल पनि खेलेका थिए । तर अचानक आएको खबरले बुबालाई स्तब्ध बनायो ।
मनलाई सम्हाल्दै ती बुबाले आफ्नी छोरीको सम्झना सधैँका लागि रहिरहोस् भन्ने हेतुले एउटा अन्तिम उपहार तयार पारे । छोरीले पुस्तक पढ्न रुचाउने भएकोले बुबाले छोरीको नाउँमा पुस्तकालय बनाउने निर्णय गरे । यसरी सन् २००५ सेप्टेम्बर १५ मा, स्वर्गीय इ जिन आको २५औँ जन्मदिनमा इ जिन आ स्मृति पुस्तकालय उद्घाटन गरियो ।
असह्य पीडालाई एउटा सुन्दर सेवामा बदल्ने बुबाको त्यो अन्तिम उपहारले, सन् २००६ मा सउल वास्तुकला सउल पुरस्कार जित्न सफल भयो । अनि सन् २००९ देखि लगातार चार वर्षसम्म उत्कृष्ट पुस्तकालयको रूपमा छानिएर यसले धेरै मानिसहरूलाई सपना र आशा प्रदान पनि गऱ्यो ।