स्वतन्त्र अभियन्ताकी छोरी

7,048 भ्यु

पहिलो विश्व युद्ध चर्किएको सन् १९१५मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा दोस्रो पुस्ताको कोरियाली अमेरिकी सुसान आनको जन्म भयो ।

प्रशान्त युद्ध1 छेडिएको समयमा तिनी अमेरिकी नौसेनामा भर्ती हुनको निम्ति स्वेच्छाले लागिन्, तर तिनी एक एसियाली नागरिक भएकीले अधिकृत परीक्षामा अनुत्तीर्ण भइन् । तिनको अर्को प्रयासपछि तिनी अमेरिकी नौसेनामा भर्ती हुने प्रथम एसियाली अमेरिकी महिला बन्न पुगिन् । तिनी अधिकृत बनिसकेपछि पनि तिनलाई एसियाली भएकै कारण कोड ब्रेकिङ काम गर्नबाट ६ महिनासम्म वञ्चित गरियो । यद्यपि पछि गएर तिनको क्षमतालाई मान्यता दिइयो । तिनी अमेरिकी सशस्त्र बलमा क्रिप्टानालाइसिस विशेषज्ञ बन्ने पहिलो एसियाली अमेरिकी नागरिक बनिन् ।

1) सन् १९४१देखि १९४५सम्म जापान र छिमेकी देशहरूबीच भएको युद्ध, दोस्रो विश्व युद्धका दौरान जापानले पल हार्बरमा एक्कासि गरेको आक्रमणसँगै सुरु भएर जापानको आत्मसमर्पणपछि समाप्त भयो ।

त्यसरी तिनले जातीय तथा लैङ्गिक भेदभाव गरिने क्षेत्रलाई नै आफ्नो कर्मथलोको रूपमा छनोट गर्नुको कारणचाहिँ जापानविरुद्ध लड्नुभएका तिनका बुबाको इच्छाको अनुसरण गर्नको निम्ति थियो । जापानी औपनिवेशिक अवधिभर आफ्नो मातृभूमि कोरियाको स्वतन्त्रताको निम्ति सुसानका बुबा आन छाङ होले आफूलाई समर्पित गरेका थिए । पहिलो सन्तान सुसान ११ वर्षकी हुँदा आन छाङ हो, चीनको शंघाइमा कोरियाको अस्थायी सरकारका लागि भनेर स्वतन्त्रता कोष पुऱ्याउन गएका थिए । त्यसपछि उनी आफ्नो परिवारकहाँ कहिल्यै फर्किएनन् ।

“महान् अमेरिकी बन्नू, तर कोरियाली भावलाई नबिर्सनू”

आफ्नो बुबाको अनुपस्थितिका कारण भोग्नुपरेको मानसिक र आर्थिक कठिनाइको बाबजुद सुसानले बुबाको अनुरोधलाई हृदयमा राखिन् । अनि भेदभाव र पूर्वाग्रहविरुद्ध साहसपूर्वक लडिन् । लस एन्जलस काउन्टीले सन् २०१५ मार्च १० तारिखको दिनलाई ‘सुसान आन दिवस’को रूपमा घोषणा गऱ्यो, जुन दिनमा आन छाङ होको मृत्युको वार्षिकी पर्थ्यो ।