
सउलको कुनै बजारनेर एक जना सानो केटोले हजुरआमाको ठेलागाडा सट्टामा तानिरहेको थियो । तब ठेलागाडाले, त्यहाँ पार्क गरेर राखिएको एउटा महँगो कारलाई कोताऱ्यो । अब के गर्ने होला भनेर आत्तिनुभएकी हजुरआमालाई देखेर नाति रुन थाल्यो । त्यो देखेर बटुवाहरूलाई पनि उनीहरूप्रति दुःख लाग्यो । त्यो कार उच्चस्तरीय ब्रान्डको भएकोले मर्मत गर्न धेरै पैसा लाग्ने जस्तो देखिन्थ्यो । कारका मालिकले यो कुरा थाहा पाए भने तिनी रीसले चूर हुने कुरा पक्का थियो ।
यसैबीच एक जना प्रत्यक्षदर्शीले कारका मालिकलाई बोलाए, र घटेको घटनाबारे विस्तृत रूपमा वर्णन गरिदिए । तब अधबैँसे एक दम्पती त्यहाँ आइपुगे । आफूले कारलाई पार्किङ स्थलमा पार्क नगरी सडक छेउमा त्यत्तिकै राखेको कुराप्रति उनीहरूले शिर झुकाएर ती हजुरआमासँग माफी मागे । कारलाई गलत ठाउँमा पार्क गरेकोले सबैलाई असुविधा हुन गई त्यसरी ठेलागाडा ठोक्किन पुगेको हो भनी उनीहरूले बताए ।
यस्तो हृदयस्पर्शी दृश्यलाई हेरिरहेका एक जना प्रत्यक्षदर्शीले ती दम्पतीको धनप्रति होइन, तर उनीहरूको व्यक्तित्वप्रति लालायित भएर इन्टरनेटमा उनीहरूको विषयमा पोस्ट गरे । इन्टरनेट प्रयोगकर्ताहरूले पनि “उनीहरू मनका धनी रहेछन् । कति हृदयस्पर्शी व्यवहार ! कति मज्जाका मान्छेहरू ! व्यक्तित्व पनि कति उत्कृष्ट !” भन्दै विभिन्न प्रशंसाका टिप्पणीहरू पोस्ट गरे ।
वास्तवमा साँचो गरिमाचाहिँ बोली र कार्यबाट आउँछ । त्यसलाई रुपैयाँ-पैसाद्वारा कदापि किन्न सकिँदैन । त्यो त हृदयबाट प्रस्फुटन हुने कुरा हो ।