गुन तिरेका धनी मानिस

3,576 भ्यु

चीनको जिआंगशीमा अवस्थित एउटा सानो गाउँमा परिवर्तनको लहर छायो । कच्ची बाटोहरूलाई कालोपत्रे बाटोमा परिणत गरिनुको साथै जीर्ण घरहरूलाई एकदमै शानदार भवनहरूको रूप दिइयो । ती भवनहरूमा बास्केटबल कोर्ट, टेबलटेनिस बोर्ड र त्यहाँका बासिन्दाहरू जोसुकैले पनि चाहेअनुसार प्रयोग गर्न सक्ने पुस्तकालय छ । यसको साथै त्यहाँ वृद्ध-वृद्धा लगायत कम आमदानी भएका मानिसहरूले सितैँमा खाना खान सक्ने भान्सा-घर समेत छ । त्यसोभए त्यहाँका बासिन्दाहरूले यस्तो सुविधाको लागि कति पैसा तिर्छन् होला ? अचम्मको कुरा, ती सबै सितैँमा दिइएका सुविधाहरू हुन् ।

त्यो ठाउँमा जन्मेर हुर्किएका जियोङ सुइवा नाउँ गरेका व्यक्ति गरीबीबाट मुक्त हुनको निम्ति आफ्ना तीन दाजुभाइहरूसँगै कडा मेहनतसाथ काम गरेर धनी भए । प्रशस्त धन-सम्पत्ति कमाएपछि तिनलाई सबैभन्दा सुरुमा याद आएको कुरा नै आफू जन्मेर हुर्केको ठाउँ थियो । यसकारण तिनले आफ्ना बुबा-आमा बितिसके तापनि आफू सानो छँदा आफूलाई मद्दत गरेका र आफू पैसा कमाउन विदेश गएको बेलामा आफ्ना बुबा-आमाको रेखदेख गरिदिएका गृहनगरका ती मानिसहरूको गुन तिर्नको निम्ति तिनले ती भवनहरू बनाइदिएका हुन् । त्यस गाउँका एक जना वृद्धले यसो भनेका थिए,

“उसका बुबा-आमा एकदमै दयालु मनका थिए । जिउन गाह्रो भइरहेको अवस्थामा समेत अरूको धेरै ख्याल गर्थे । छोराहरूमा पनि बुबा-आमाको त्यो दयालु मन हस्तान्तरण भएको रहेछ ।”