मेरो बाल्यकालको स्वरूप स्पष्ट झल्काउने त्यस्तो एउटा कुरा छ । त्यो हो क्यामकर्डरद्वारा रेकर्ड गरिएको एउटा भिडियो टेप, जुनचाहिँ मेरा बुबाले बीस वर्षअघि किन्नुभएको थियो । स्मार्ट फोन प्रचलनमा आएदेखि घरको कुनै कुनामा थन्किएको क्यामकर्डरले ज्योति देख्न पाएको थिएन । त्यसलाई लामो समयसम्म नचलाएकोले टेप पहिचान उपकरणले काम गरेन । त्यसमा रेकर्ड गरिएका भिडियोहरू हेर्न म उत्सुक थिएँ । मैले भिडियोलाई डिजिटल फाइलमा रूपान्तरण गर्ने एउटा कम्पनी पत्ता लगाएँ, अनि त्यो टेप त्यहीँ दिएँ ।
एक हप्तापछि भिडियोसहित एउटा USB घर आइपुग्यो । मेरो परिवारका जम्मै सदस्यहरू उत्साहित हुँदै टिभीको अगाडि भेला भए, अनि भिडियो प्ले गरियो । मेरो पूरै शरीर घामका कारण कालो भएको थियो, साहिँली बहिनी थोते थिइन्, अनि मेरी कान्छी बहिनीचाहिँ भर्खरै एक वर्ष लागेकी थिइन् । भिडियोमा हाम्रो बाल्यकालको स्वरूप देखेर हाँसो रोक्नै सकेनौं । हाम्रा गतिविधिहरूमा एकदमै बालापन थियो । हामी सङ्गीतविनै नाँचेको दृश्य देखेर सबै जना जोडले हाँसे ।
समस्याको कुरा, हामीले गरेको उपद्रव पनि जस्ताको तस्तै रेकर्ड भएको थियो । खेलौनाको लागि झगडा गरिरहेको, गृहकार्य गर्न नचाहेर किताब कच्याककुचुक पारिरहेको, पानी पोखाइरहेको इत्यादि । त्यस बेला मेरा बहिनीहरू सानै थिए, स्कूल पनि जान थालेका थिएनन् । त्यसैले उनीहरू सबै कुरामा मायालु देखिन्थे, तर मेरा अविवेकी व्यवहारले मलाई लज्जित बनायो, किनभने म प्राथमिक तहको विद्यार्थी थिएँ । मैले आफूभन्दा ठूलासँग खराब ढङ्गले बोलेको थिएँ, कान्छी बहिनीलाई बोक्दाखेरि लडाइदिएको थिएँ, अनि मेरा बहिनीहरूलाई विनाकारण रुवाएको थिएँ ।
मैले अस्वीकार गर्न चाहेको विगतका मेरा कार्यहरू आँखाको सामु प्रकट भयो । मैले क्यामकर्डरमा रिसाएर हेरिरहेको दृश्य आउँदा मैले आमालाई हेरें । तर मेरी आमा खुशी देखिनुभयो । जुनसुकै दृश्य आए पनि उहाँ सुन्दर छ भन्दै मुस्काउनुभयो । “कति राम्रो,” “ती दिनहरू धेरै सम्झन्छु” भन्नुहुँदै उहाँ रमाउनुभयो । आमाका स्मृतिहरू पो ठीकसँग सुशोभित भइरहेझैँ लाग्यो ।
हामी सबै जना फुर्सदको समयमा भिडियो हेर्न भेला भएका थियौं । ११ घण्टाको भिडियो हेरिसकेपछि मैले आमालाई कुन दृश्य सबैभन्दा प्रभावशाली लाग्यो भनेर सोधें । त्यो भिडियोमा हाम्रो परिवारको दैनिक जीवन मात्र नभएर बितिसक्नुभएका हजुरबुबासँग बिताएको समय, आफन्तहरूसँग बिताएको ग्रीष्म बिदाको समय इत्यादि धेरै स्मृतिहरू समावेश थिए । मेरी आमाले केही बेर सोचेर एउटा दृश्य छान्नुभयो जसमा मेरी कान्छी बहिनीले रुँदै आफ्नो शिर उहाँको काखमा राखेकी थिइन् । कारण सरल थियो ।
“किनभने उसलाई आमा चाहिएको थियो ।”
तब बल्ल थाहा पाएँ, हाम्रो उपद्रवी बाल्यकाल मेरी आमाको स्मृतिमा किन “सबैभन्दा सुन्दर समय”को रूपमा सञ्चय भएको रहेछ भनेर । भिडियोमा हामीले साइकल चलाउँदा, खुशी भएर नाँच्दा र निद्राबाट ब्यूँझिएर आँखा मिच्दाखेरि आमालाई खोजेको दृश्य थियो । आमा हाम्रो लागि सधैँ प्रथम स्थानमा हुनुहुन्थ्यो । उहाँ विगतका ती दिनहरूमा नै सबैभन्दा सन्तुष्ट र खुशी हुनुहुन्थ्यो जस्तै लाग्यो । तर वास्तवमा ती दिनहरूमा ३ जना उपद्रवी बच्चाहरूको हेरचाह गर्दा उहाँलाई एकदमै थकाइ लागेको हुनुपर्छ ।
हामी ३ जना सबै अहिले ठूलो भइसकेका छौं, हाम्रो मनमा को प्रथम स्थानमा हुनुहुन्छ भनेर म सोच्ने गर्छु । शरीर हुर्किसकेको भए पनि हाम्रो मनले बाल्यकालमा जस्तै सधैँ आमालाई खोजोस् भन्ने चाहन्छु । त्यसो हुँदा अहिलेका दिनहरू पनि मेरी आमाको लागि अर्को सुन्दर स्मृतिको रूपमा सञ्चय हुन सक्नेछ ।