पिनोकियो प्रभाव

5,603 भ्यु

पिनोकियोले झूट बोल्दैपिच्छे किन उसको नाक लामो हुँदैगएको होला ? उसको नाकमा झूट पत्ता लगाउने उपकरण भएकोले होला त ?

यो एउटा आधारहीन कथा होइन । संयुक्त राज्य अमेरिकाको सिकागोस्थित बास्ना र स्वाद उपचार अनुसन्धान संस्थाका अनुसन्धानकर्ता डा. एलेन हर्सले वास्तवमा झूट बोल्नेहरूको नाकमा ‘क्याटेकोलोमिन’ नामक रसायन उत्पन्न हुने हुँदा त्यसले नाकको स्नायु तन्तुलाई अस्थायी रूपमा फुलाइदिन्छ भन्ने तथ्य पत्ता लगाएका थिए । नाकको टुप्पोमा रहेको स्नायु तन्तु फुलिने भएकोले नाक चिलाउने गर्छ । त्यसो हुँदा थाहै नपाई हातले नाक कन्याउन वा माड्न पुगिन्छ । यसलाई ‘पिनोकियो प्रभाव’ भनिन्छ ।

वास्तवमा कुनै व्यक्तिले झूट बोल्दाखेरि उसको नाकले मात्र प्रतिक्रिया दिने चाहिँ होइन । भण्डाफोर हुने हो कि भन्ने डर र चिन्ताका कारण उसको स्नायु प्रणालीमै परिवर्तन देखा पर्छ, अनि रक्तचाप बढ्ने, मुख सुक्खा हुने, अनुहार रातोपीरो हुने वा चिसो पसीना निस्केर शरीरले तुरुन्तै चेताउनी दिने गर्छ ।

तर कहिलेकहीँ झूट बोल्दाखेरि शरीरले कुनै प्रतिक्रिया नदिने अवस्था पनि हुन्छ । त्योचाहिँ अर्को व्यक्तिलाई राम्रो महसुस दिलाउनको निम्ति ‘सफा झूट’ बोलेकोले हो । कसैलाई हानी गर्ने वा धोका दिने मनशायले बोलिएको झूट नभएकोले चिन्तित हुनुपर्ने कारण नै हुँदैन । तैपनि अरूलाई प्रसन्न तुल्याउनु छ भने सफा झूट बोल्नुभन्दा बरु ईमानदारितापूर्वक बोल्नु नै अझ प्रभावकारी हुन्छ जस्तो लाग्छ, कि कसो ?