
उच्च माध्यमिक तहमा प्रवेश गर्नुअघि मेरी दिदी(काकाकी छोरी)बाट डोरिँदै म परमेश्वरको मण्डलीमा आएँ । बुबा-आमाले मलाई विरोध गर्नुभए तापनि परमेश्वरको वचनभित्र त्यहाँका दाजुभाइ, दिदीबहिनीहरूको सुन्दर एकता देखेर मलाई सियोन मन पर्थ्यो ।
विश्वविद्यालयमा प्रवेश गरेपछि मेरा बुबा-आमाले मेरो धार्मिक जीवनलाई स्वीकार्नुभयो, तर उतिखेरै मेरो मन परिवर्तन भयो । सुरुको मण्डलीका सन्तहरूले गाह्रो अवस्था आइपर्दा परमेश्वरमा पूर्ण भरोसा गर्दै आफ्नो विश्वासलाई दह्रिलो गरी जोगाएका भए पनि अनुकूल अवस्थामा चाहिँ सत्यतालाई बेवास्ता गर्न पुगेका थिए । त्योजस्तै, एक ताका सियोनतर्फ गएको मेरो मन पनि बिस्तारै संसारतर्फ जान थाल्यो, अनि म विश्वासको जीवनमा अल्छी भएँ ।
जागिर गर्न थालेपछि मैले विभिन्न ठाउँको यात्रा गर्दै आफूले गर्न चाहेका सबै कुरा गरें । मैले साँचो स्वतन्त्रता र खुशी नै त्यही हो भन्ठाने । यो संसार नै सर्वस्व भएझैँ गरेर मैले स्वर्गको आशा र परमेश्वरलाई पनि पूर्ण रूपमा बिर्सिएँ ।
विवाह गरेर दुई सन्तानकी आमा भएपछि ममाथि एउटा परीक्षा आइपऱ्यो । देशभरि स्वाइन फ्लू भाइरस व्यापक बनेको वर्ष प्रायः बिमारी भइरहने मेरा बच्चाहरू अस्पतालमा भर्ना भए, र उच्च ज्वरोले गर्दा मेरो कान्छो सन्तानको होश आउने-जाने भइरहेको थियो । त्यतिखेर बल्ल मैले परमेश्वरलाई सम्झिन पुगें ।
“हे परमेश्वर, तपाईंले सृष्टि गर्नुभएको यो सानो बच्चाको जीवन ननिभ्ने गराइदिनुहोस् । कृपया रक्षा गरिदिनुहोस् ।”
धन्न मेरो बच्चाको स्वास्थ्य ठीक भयो । त्यो समयदेखि मैले कहिलेकहीँ परमेश्वरको बारेमा सोच्न थालें ।
तब एक दिन हामीहरू काममा जाँदैगर्दा बाटोमा मेरा पतिले अप्रत्याशित कुरा गर्नुभयो ।
“हाम्रो जीवनका सबै घटनाक्रमलाई सञ्चालन गर्नुहुँदै अगि बढाउनुहुने कोही त पक्कै हुनुहुन्छ जस्तो लाग्छ ।”
त्यो ‘कोही’चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई मैले नकार्न सकिनँ । वास्तवमा परमेश्वरबाट टाढिँदा मैले आफू लुसुक्क सियोन गएर पछाडिको कुर्सीमा बस्दै आराधना गरेको सपना प्रायः देख्ने गर्थें । सपनामा पनि म आफैलाई “किन म यो पृथ्वीमा छु ?” भन्ने गर्थें, अनि त्यति भनिसकेपछि म निद्राबाट ब्यूँझिन्थें । त्यसरी परमेश्वरले मलाई लगातार बोलाइरहनुभएको थियो ।
गत वर्षको वसन्तमा, सियोनमा विश्वासको जीवन जिइरहनुभएकी मेरी भाउजूसँग फोनमा कुराकानी गर्ने क्रममा, माताले मलाई कति व्यग्रतापूर्वक पर्खिरहनुभएको रहेछ भन्ने कुरा मैले महसुस गरें ।
“अहिले तपाईं, बच्चाकी आमा हुनुभएकोले सायद माताको मनलाई थोरै भए पनि बुझ्नुहुन्छ होला, होइन र ? सन्तान गुमाउँदा माताको मन कति दुख्छ होला ?”
भाउजूको त्यो कुरा सुनेर मेरो छाती भतभती पोल्यो । फोन समाएर म धेरै रोएँ । ‘कसरी म अहिलेसम्म हठी भएर माताबाट टाढिएर जिउन सकेकी होला ?’
मैले मेरा पतिलाई सबै कुरा बताएँ, अनि म फेरि सियोनमा जान चाहन्छु भनें । धन्यवादको कुरा, उहाँ पनि स्वेच्छासाथ मसँगै जान चाहनुभयो । मेरा मायालु परिवारको साथमा मैले माताको अँगालोमा शरण लिएँ । माताको अँगालो सदाझैँ न्यानो थियो ।
उडाउ पुत्र, मलाई बोलाउनुभएका परमेश्वरप्रति म अति धन्यवादी भएँ, र अर्कातिर परमेश्वरबाट टाढिएको विगतप्रति आत्मग्लानि भएकोले ‘के मैले मेरा पापहरू साँच्चै क्षमा पाउन सक्छु होला ?’ भन्ने सोचाइ लगातार आइरह्यो । त्यो समयमा, मैले माता नजिकैको सियोनमा आउनुहुनेछ भन्ने खबर पाएँ । परमेश्वरको अगाडि उभिनसमेत आँट गर्न नसक्ने पापी भएकीले मैले मातालाई पत्र लेख्ने निर्णय लिएँ, अनि एक-एक गर्दै मेरा विगतका गलत कार्यहरू लेख्न थालें । पत्र लेख्ने क्रममा मेरो आँसु थामिएन ।
‘मातालाई एक पटक मात्र भए पनि देख्न पाए त !’
योचाहिँ मेरो अन्तर्रात्माको पुकारा थियो ।
म साहस बटुलेर मातालाई भेट्न गएँ । १३ वर्षपछि मैले फेरि मातालाई देखें । मेरो पापले गर्दा माताको स्वरूप बिग्रियो होला भन्ने सोचेकीले मैले माताको सामु शिर उठाउन पनि सकिनँ ।
‘माता, मलाई माफ गरिदिनुहोस् । हजूरको मन धेरै दुखाएकी यो पापीलाई क्षमा गरिदिनुहोस् ।’
अहिले म आँसुमा मेरा पापहरूप्रति पश्चात्ताप गर्दछु । विद्रोही भएर माताबाट टाढिएकी यो पापी सन्तानलाई फेरि बोलाइदिनुहुने माताको अनुग्रहलाई नबिर्सीकन म एलोहिम परमेश्वरको महिमा प्रदर्शन गर्ने कार्यमा आफ्नो सारा जीवन समर्पित गर्नेछु ।