
एक जना शिक्षकले सेमेस्टरको अन्तमा आफ्ना विद्यार्थीहरूलाई झारले भरिएको खेतमा लगेछन् । वास्तवमा ती शिक्षकले विद्यार्थीहरूलाई एउटा अन्तिम शिक्षा दिन चाहन्थे । खेततिर देखाउँदै शिक्षकले सोधेछन्,
“यी झारहरूलाई कसरी हटाउन सकिन्छ होला ?”
अन्तिम कक्षा भएकोले विद्यार्थीहरूले महत्त्वपूर्ण शिक्षाको आशा गरेका थिए तर प्रश्न एकदमै सामान्य भएकोले तिनीहरूले जथाभावी उत्तर दिए,
“साबेल र कोदालोले जोत्दा हुन्छ ।” “त्यसलाई जलाउँदा ठीक हुन्छ ।” “त्यसलाई उखेल्यो भने हुन्छ ।”
टाउको हल्लाउँदै शिक्षकले जवाफ दिएछन् ।
“मानिसको हृदयमा लोभ, स्वार्थीपन र घृणा जस्ता झारहरू उम्रिन सक्छन् । अन्तिम कक्षाको असाइनमेन्ट भनेको तिमीहरूले सुझाएको तरिका प्रयोग गरेर आफ्नो हृदयभित्र रहेका झारहरू हटाउन प्रयत्न गर्नु हो । अर्को वर्ष हामी फेरि यही ठाउँमा भेट्नेछौं ।”
एक वर्ष पछि, मनमा उम्रिएको झारको समस्या लिएर विद्यार्थीहरू फेरी त्यही ठाउँमा भेला भए । तर कुनै समयमा झारले भरिएको त्यो खेत गहूँले भरिएको थियो । त्यहाँ एउटा बोर्डमा यस्तो लेखिएको थियो :
“झार हटाउने उत्कृष्ट तरिका भनेको त्यो खेतमा गहुँ छरेर त्यसको राम्रोसँग हेरचाह गर्नु हो । हाम्रो मनमा उम्रने झारको सन्दर्भमा पनि उस्तै हो ।”