​उडान भ्रम​

5,677 भ्यु

विमान उडानका दुई वटा नियमहरू छन् । ती हुन्, प्रत्यक्षदर्शन उडान नियम(Visual Flight Rules, VFR) र यान्त्रिक उडान नियम(Instrument Flight Rules, IFR) । विमान चालकले ककपिटबाट बाहिर हेर्दै विमान चलाउने प्रक्रियालाई प्रत्यक्षदर्शन उडान नियम भनिन्छ भने, पूर्ण रूपमा उपकरणमा भर पर्दै नियन्त्रण केन्द्रबाट आएको निर्देशनअनुसार विमान चलाउने प्रक्रियालाई यान्त्रिक उडान नियम भनिन्छ । प्रत्यक्षदर्शन उडान नियममा विमानले धेरै चक्कर काट्दा अथवा विमान उल्टो परेर उड्दाखेरि एकदमै कौशल चालक समेत उडान भ्रममा पर्ने सम्भावना हुन्छ । समुद्र आकाशजस्तै देखिन्छ, अनि राति पृथ्वीमा बलिरहेको बत्तीको ज्योति आकाशका ताराहरूको ज्योतिजस्तै देखिन्छ । विमान तलतिर झरिरहेको भए पनि चालकलाई माथितिर गइरहेको जस्तो लागेर विमान जमिनमा दुर्घटनाग्रस्त पनि हुने गर्छ ।

चालकले दिशाको समझ गुमाउन पुगेको जोखिमपूर्ण अवस्थामा आफ्नो अनुभव वा निर्णयमा भन्दा बरु यान्त्रिक प्यानलमा भर पर्नुपर्छ । चालकले आफू उडान भ्रममा परेको कुरा जानेर तुरुन्तै यान्त्रिक प्यानलको सूचना पढ्नुपर्छ र परिस्थितिलाई सम्हालेर खतरामुक्त हुनुपर्छ भनेर विज्ञहरू बताउँछन् ।

गलत बाटोमा गइरहेको पत्तो नपाई बढी नै आत्मविश्वासी भयो भने दुःखद् अन्त्यको सामना गर्न पुगिन्छ । गलत धारणालाई विश्वासको रूपमा नलिनको लागि हामीले सही रोजाइ र निर्णय लिएका छौं कि छैनौं भनेर जाँच्दै सधैँ सतर्क रहन आवश्यक हुन्छ ।