​सबैभन्दा महान् डाक्ट​

5,678 भ्यु

प्राचीन चीनको युद्धकालीन समयमा बियान क्वे नाउँ गरेका एक जना प्रसिद्ध डाक्टर थिए । उनका अन्य दुई दाजुहरू पनि डाक्टर नै थिए, तर उनीजस्तै प्रसिद्धचाहिँ थिएनन् । कुनै एक दिन वेइ भन्ने देशका राजाले उनलाई प्रश्न सोधेछन्,

“तिमी र तिम्रा दाजुहरूमध्ये कोचाहिँ महान् डाक्टर हो जस्तो लाग्छ ?”

तब बियान क्वेले “मेरो जेठो दाजु महान् डाक्टर हुनुहुन्छ, त्यसपछि मेरो अर्का दाजु … मचाहिँ सबैभन्दा कमजोर छु” भनेर जवाफ दिएछन् । तब राजाले किन त्यसो भनेको भनेर कारण सोधेछन् ।

“मेरा जेठा दाजुले राम्ररी नहेरे पनि एक झलकमै समस्या ठम्याएर मानिसहरूलाई बिरामी हुनबाट जोगिन सहयोग पुऱ्याउनुहुन्छ । त्यसो हुँदा, उहाँले बिरामी हुनबाट बच्ने अवस्था पहिल्यै मिलाइदिएको कुरा मानिसहरूले राम्ररी बुझ्दैनन् । मेरा अर्का दाजुले चाहिँ बिरामीका लक्षणहरू चिनेर, अवस्था गम्भीर बन्नुभन्दा अघि नै उपचार गरिदिएर निको पारिदिनुहुन्छ । यसकारण मानिसहरू उहाँले सामान्य रोग निको पारेको हो भन्ठान्छन् । तर म त मानिसहरू गम्भीर रूपले थला परेपछि मात्र निको पार्ने गर्छु । मैले उपचार गरिदिँदा, मानिसहरू उनीहरूको ज्यान बचाएको भनेर मलाई धन्यवाद दिने गर्छन् । म महान् डाक्टरको रूपमा परिचित हुनुको कारण यही हो ।”