“मिन, केही दिनको लागि तिमी घरमा आएर बसिदिन सक्छौ ?”
आमाले गम्भीर आवाजमा मलाई सोध्नुभयो । दाइ र मलाई चिन्ता लाग्ने कुरा आमाले विरलै भन्ने गर्नुहुन्छ । त्यसैले आमाले त्यसरी एक्कासि फोन गर्नुहुँदा पक्कै केही गम्भीर घटना घटेको छ भन्ने कुरा प्रष्ट थियो । नभन्दै, आमाको कम्मरको डिस्कमा खराबी देखिएकोले उहाँलाई आकस्मिक कक्षमा लगिएको रहेछ, अनि कुनै सुधार नआएकोले आमा केही समयसम्म अस्पतालमै भर्ना हुनुपर्ने भएको रहेछ । त्यसैले म तुरुन्तै कामबाट बिदा लिएर सीधै बुबा-आमाकहाँ गएँ ।
अस्पतालको ओछ्यानमा पल्टिरहनुभएकी मेरी आमाको अवस्था सोचेको भन्दा निकै खराब थियो । बस्न र उठ्न नसकेर आमा पल्टिरहनुभएको थियो । अरूको सहयोगविना आमा न खाना खान, नता शौचालय जान नै सक्नुहुन्थ्यो । थोरै मात्र हलचल गऱ्यो कि असह्य पीडा सहनुपर्ने आमालाई देखेर म भावविह्वल भएँ ।
मैले दिनको समयमा आमाको रेखदेख गरें, अनि रातमा चाहिँ म अस्पतालको खाटमा पोको परेर सुतें । अनि समय हुनासाथ मैले घरमा गएर बुबाको लागि खाना तयार गर्ने, लुगा धुने र घर सफा गर्ने गरें । हप्तादिन त्यहाँ रहने क्रममा मप्रतिको आमाको क्षमाप्रार्थी मनलाई मैले महसुस गर्न सकें ।
आमाचाहिँ सोचेको भन्दा लामो समयसम्म अस्पतालमा बस्नुपर्ने भएकोले म र मेरो दाइ पालैसँग उहाँलाई भेट्न गयौं । आमाले “तिमीहरू अब आइरहनुपर्दैन, म एकलै बस्न सकिहाल्छु” भन्दै ढिपी गर्नुभयो, तर मधुमेह र मुटुको रोग भएको बिरामीलाई कसरी एकलै छोड्न सकिन्छ र ? उहाँ आफै उभिन पनि सक्नुहुन्नथ्यो ।
स्वास्थ्यमा कुनै सुधार नआएकोले आमाले थुप्रै अस्पतालहरू चहार्नुभयो । अन्तमा हामीले महानगरीय अस्पतालमा जाने निर्णय गऱ्यौं, र त्यहाँको डाक्टरले आमाको शल्यक्रिया गर्नुपर्छ भनेर सुझाउनुभयो । आमालाई शल्यक्रिया गर्ने मन थिएन, तर अर्को कुनै विकल्प थिएन । शल्यक्रियाको समयचाहिँ सोचेभन्दा एक घण्टा बढी लाग्यो, जे होस् शल्यक्रिया सफल भयो ।
होशमा आउनुभएकी आमालाई देखेर म ढुक्क भएँ । तर एक कल फोन आयो, र चिन्ता अझ थपियो । दाइले फोन गर्नुभएको थियो ।
“निर्माण क्षेत्रमा काम गर्ने क्रममा बुबाको खुट्टा भाँचिएर अहिले उहाँ अस्पतालमा हुनुहुन्छ । हलचल गर्न पनि सक्नुहुन्न । एक पटक गएर भेट्न सक्छौ ? आमालाई नभन है । पीर गर्नुहुन्छ ।”
खुट्टाको लामो प्लास्टरले गर्दा बुबा, अरूको सहयोगविना आफैले लुगा फेर्न पनि सक्नुहुन्नथ्यो । आमालाई फोन गरेर त्यसबारे थाहा दिन बुबालाई अलि खिन्न लागेकोले उहाँले सट्टामा दाइलाई बोलाउनुभएको रहेछ । तर दाइ उतिखेरै बुबालाई भेट्न जान असमर्थ हुनुभएकोले मलाई अनुरोध गर्नुभएको रहेछ । सप्ताहन्तको ठीकअघि त्यो घटना घटेकोले मसँग केही फुर्सदको समय थियो । आमालाई अरू नै कुराको बहाना बनाएर म घर आएँ, र झोला प्याक गरें ।
‘किन बुबा-आमालाई यस्ता कुराहरू आइपरेको होला ?’
मैले झ्यालबाहिर हेरें, साँझ पर्न लागेको थियो । बुबा-आमाको विषयमा सोच्दा मलाई असहज महसुस भयो । साँच्चै भन्नुपर्दा, बुबा-आमाकै निम्ति मात्र म त्यसरी चिन्तित भएको थिइनँ । तर बुबा-आमाको बिमार र दुर्घटनाका कारण आफूमाथि आइपरेको असुविधा र समस्याहरूका कारण म बढी चिन्तित थिएँ । बुबा-आमाको घरसम्म पुग्न कारमा करीब ३ घण्टा लाग्छ । यो खासै लामो दूरी होइन, खासै छोटो दूरी पनि होइन । धेरै पटक आवतजावत गर्नु त्यति सजिलो थिएन । थकानको बाबजुद आमाको हेरचाह गर्ने क्रममा मेरो मन पूरै थकित भएको थियो ।
केहीबेर यसबारे सोचिरहँदा, एकछिनअघि पढेको बाइबलको एउटा पद याद आयो ।
उहाँले दु:ख ल्याउनुभए तापनि आफ्नो कृपा देखाउनुहुनेछ, उहाँको कहिल्यै नथामिने प्रेम अति महान् छ । किनभने उहाँले मानिसका सन्तानलाई स्वेच्छाले दु:ख दिनुहुन्न (विला ३:३२-३३) ।
हाम्रो पाप पखालिदिनको निम्ति परमेश्वरले हाम्रो जिन्दगीमा दु:ख र कठिनाइका प्रक्रियाहरू राखिदिनुहुन्छ । बुबा-आमाको निम्ति सबैभन्दा गाह्रो कुरा भनेकै छोरा-छोरीले कष्ट पाएका देख्नु हो । हाम्रा परमेश्वरचाहिँ हामीहरू क्षणिक कठिनाइद्वारा परिवर्तन भएर पूर्ण अस्तित्वको रूपमा नयाँ गरी जन्मेको अति हेर्न चाहनुहुन्छ ।
अहिले मलाई राखिएको अवस्था पनि त्यही प्रक्रियाको एक हिस्सा हुनुपर्छ । ममा यस्तो विचार उत्पन्न हुँदा मनको थकाइ सबै हरायो । पहिलो पटक अस्पतालमा भर्ना हुँदा बुबालाई अलि असहज भयो । तर मैले उहाँलाई सान्त्वना दिन, हेरचाह गर्न, लामो समयदेखि नगरेको कुराकानी गर्न सकें, र चिङ पाङ(पीठोको डल्लाभित्र रातो बोडी राखेर बफ्याएर पकाइने एक गुलियो परिकार) र बेछुजिजिम(बेछु साग राखेर बनाइने एक प्रकारको गिलो रोटी) जस्ता स्वादिष्ट भोजन पनि सँगै खान सकें । आमाजस्तै, मेरा बुबा पनि मप्रति निकै क्षमाप्रार्थी र कृतज्ञ हुनुहुन्थ्यो, सायद सबै बुबा-आमामा आफ्ना छोरा-छोरीप्रति यस्तै मन हुन्छ जस्तो लाग्छ । तर उहाँहरूले मेरो निम्ति गर्नुभएको समर्पणसँग तुलना गर्ने हो भने वास्तवमा मैले गरेको कार्य त केही पनि थिएन ।
हाम्रो परिवारमा घटेका यी सबै घटनाहरूचाहिँ एक्कासि पर्ने बेकामको झरी नहोस्, तर आत्मिक मौसमी झरी बनोस् भनेर मैले सहृदयले प्रार्थना गरें । मैले आशा गरेजस्तै सबै कुरामा परमेश्वरको इच्छा थियो । प्रथमत: आमालाई दशकौँसम्म सताएको ढाडको पीडा अब लगभग निको भयो, र थुप्रै अस्पतालहरू चहारेर सबैभन्दा राम्रो औषधी पाएकोले आमाको मधुमेह पनि सुधार भयो । यीबाहेक केही महिनासम्म ओछ्यानमा पल्टिने क्रममा आमाले प्राप्त गर्नुभएको सबैभन्दा अमूल्य उपहार नै परमेश्वरको प्रेम थियो ।
“केही समयको लागि यसरी बिरामी हुँदा, मलाई संसार नै लोप भइरहेजस्तो लाग्यो भने अहिलेसम्म हाम्रो निम्ति कष्ट भोगिरहनुभएकी स्वर्गीय मातालाई झन् कति पीडा भइरहेको होला ? सधैँ सन्तानहरूको सामु मुस्कुराउनुहुने माताको जीवन सहज छ होला भन्ठानेको थिएँ । तर माता कस्तो अवस्थाबाट गुज्रिरहनुभएको छ भन्ने कुरा मैले कति पनि बुझिनछु ।”
बुबा पनि आमाले जस्तै गहिरो महसुस गर्नुभएजस्तो देखिनुहुन्थ्यो । बुबा आफ्नो स्वास्थ्यप्रति धेरै गर्व गर्नुहुन्थ्यो, तर अबचाहिँ आफू संसारको स्वस्थ व्यक्ति नरहेको कुरा स्वीकार्दै आफ्नो अगि के छ भन्ने कुरा कसैलाई थाहा हुँदैन भन्नुहुन्छ । यो कुरा महसुस गरेदेखि बुबाले आफ्नो स्वास्थ्यमा हानि पुऱ्याउने बानी छोड्नुभयो, अनि परमेश्वरको नजिक हुन उहाँ नियमित रूपमा मण्डली जान थाल्नुभएको छ ।
मैले पनि धेरै कुराहरू महसुस गरें । बुबा-आमाको निम्ति गरेको थोरै परिश्रमलाई बोझको रूपमा लिएकोमा मलाई आत्मग्लानी भयो । अबचाहिँ कुराद्वारा मात्र होइन, तर कार्यद्वारा कर्तव्यनिष्ठ छोरा बन्ने मैले सङ्कल्प गरें । यो सङ्कल्पलाई व्यवहारमा लागू गर्ने क्रममा बुबा-आमासँगको मेरो सम्बन्ध अझ प्रगाढ भयो । कठिनाइ र कष्टप्रतिको मेरो दृष्टिकोणमा परिवर्तन आएको कुरा पनि, मेरो आत्माको निम्ति परमेश्वरको अनुग्रह र आशिष् हो ।
विभिन्न पक्षमा कमजोर यी छोरा-छोरीका निम्ति सिक्ने र महसुस गर्ने प्रक्रिया विस्तृत रूपमा तयारी गरिदिनुभएका परमेश्वरलाई गहिरो धन्यवाद चढाउँदछु । फेरि कुनै कठिन परिस्थितिको सामना गर्नुपऱ्यो भने त्यस्तो परिस्थितिबाट कस्तो महसुस लिन सकिन्छ भन्ने कुरालाई म बुझ्न कोसिस गर्नेछु, किनकि त्यसमा परमेश्वरको साँचो अभिप्राय रहेको हुन्छ ।