सबैभन्दा महान् चिकित्सक

10,292 भ्यु

प्राचीन चीनको युद्धकालीन समयमा बिएन क्यु नाउँ गरेका एक जना प्रसिद्ध चिकित्सक थिए । उनका अन्य दुई दाजुहरू पनि चिकित्सक नै थिए, तर उनीजस्तै प्रसिद्धचाहिँ थिएनन् । कुनै एक दिन वेइ देशका राजाले उनलाई प्रश्न सोधे,

“तिमी र तिम्रा दाजुहरूमध्ये कोचाहिँ महान् चिकित्सक हो ?”

तब बिएन क्युले “मेरो जेठो दाजु महान् चिकित्सक हुनुहुन्छ, त्यसपछि मेरो अर्का दाजु … मचाहिँ सबैभन्दा कमजोर छु” भन्ने जवाफ दिए । तब राजाले त्यसको कारण सोधे र तिनले यसो भने ।

“मेरा जेठा दाजुले एक झलकमै समस्या ठम्याएर मानिसहरूलाई बिरामी हुनबाट बचाउनुहुन्छ । त्यसो हुँदा, उहाँले बिरामी हुनबाट बच्ने अवस्था पहिल्यै मिलाइदिनुभएको कुरा मानिसहरूले पत्तो पाउँदैनन् । मेरा अर्का दाजुले चाहिँ बिरामीका लक्षणहरू चिनेर, अवस्था गम्भीर बन्नुभन्दा अघि नै उपचार गरिदिनुहुन्छ । यसकारण मानिसहरू उहाँले सामान्य रोगहरू मात्र निको पार्न जान्नुहुन्छ भन्ठान्छन् । तर मचाहिँ मानिसहरू गम्भीर रूपले थला परेपछि मात्र रोग पत्ता लगाउन सक्छु । त्यस्तो गम्भीर अवस्थामा उपचार गरिदिँदा, मैले उनीहरूको ज्यान बचाएको भन्दै उनीहरूले मलाई धन्यवाद दिने गर्छन् । म महान् चिकित्सकको रूपमा परिचित हुनुको कारण यही हो ।”