
येशूज्यूले डुङ्गाबाट समुद्र किनारमा भएका भीडहरूलाई परमेश्वरको वचन सुनाउनुभयो । साँझ परेपछि उहाँले चेलाहरूलाई “आओ, हामी पारिपट्टि जाऔं” भन्नुभयो । चेलाहरूले येशूज्यूलाई डुङ्गामा लगे, र अरू डुङ्गाहरू पनि तिनीहरूको पछि लागे ।
अनि त्यहाँ ठूलो हुरी-बतास चल्यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्म कि डुङ्गा पानीले भरिन लाग्यो । डराएका चेलाहरू डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएका येशूज्यूनेर आए र उहाँलाई ब्यूँझाए ।
“गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन ?”
तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, “शान्त हो ! रोकिजा !” अनि बतास थामियो र ठूलो सन्नाटा छायो ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्छौ ? तिमीहरूमा विश्वास छैन ?”
येशूज्यूको हप्काइ सुनेर चेलाहरू साह्रै भयभीत भए र आपसमा यसो भन्दै गनगन गर्न थाले ।
“यिनी को हुन् ? बतास र समुद्रले पनि यिनको हुकुम मान्छन् ।”
चेलाहरूले येशूज्यूको अस्तित्वलाई राम्ररी बुझेनन्, जसको हुकुम बतास र समुद्रले पनि मान्छन् । तिनीहरूले सँगै हुनुभएका सर्वशक्तिमानलाई चिन्न सकेनन्, त्यसैले बतास र छालहरूले बगाइलैजाने डरले तिनीहरू भयभीत भए ।
सबै कुरा सृष्टि गर्नुभएर शासन गर्नुहुने नै परमेश्वर हुनुहुन्छ । सर्वशक्तिमान परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरा सोच्यो भने कुनै कुराको पर्वाह गर्नुपर्दैन, यहाँसम्म कि अप्रत्याशित रूपमा हुरी बतास आए पनि त्यसको पर्वाह गर्नुपर्दैन । विश्वास गरौं । हाम्रो जीवनको कठोर बतास र अनियन्त्रित छाललाई शान्त पार्नुहुने परमेश्वर सधैँ हाम्रो साथमा हुनुहुन्छ भन्ने कुरा विश्वास गरौं ।