WATV.org is provided in English. Would you like to change to English?

निस्तार-चाड र प्रतिज्ञाको चिन्ह

126 हेरेको संख्या

पृथ्वीका हरेक ठाउँहरूमा झरिरहेको विपत्तिका कारण अहिले सारा संसार चिन्तित अवस्थामा छ । युद्ध र द्वन्द्व मात्र होइनकि भूकम्प, सुनामी, ज्वालामुखी विस्फोटन र असामान्य मौसम परिवर्तन जस्ता विपत्तिहरू निरन्तर झर्नेछन् भनेर बाइबलमा हजारौँ वर्षअघिदेखि नै चेताउनी दिइएको थियो । हामी जिइरहेको यस पवित्र आत्माको युगमा यी सम्पूर्ण विपत्तिहरू एकै चोटि झरिरहेका छन् ।

परमेश्वरले आफ्ना प्रजाहरूलाई हरेक किसिमको विपत्तिबाट बचाउन यस युगमा निस्तार-चाड पुनर्स्थापना गरिदिनुभएको छ । ३,५०० वर्षअघि प्रस्थानको समयमा, विशेष गरी मिश्रमा भयानक विपत्ति झर्न लागेकोले परमेश्वरले निस्तार-चाड स्थापना गरिदिनुभएको थियो । कुनै पनि विपत्ति झार्नुअघि परमेश्वरले आफ्ना प्रजाहरूलाई परमेश्वरको सुरक्षा चिन्ह, निस्तार-चाड मान्न सक्ने गरेर पहिल्यै तयारी गराउनुहुन्छ ।

मुक्तिको प्रतिज्ञा, निस्तार-चाड

यहोशूले यरीहो सहरलाई कब्जा गर्नुअघि सहरमा जासूसहरू पठाएका थिए । दुई जासूसहरू राहाब नाउँ भएकी वेश्याको घरमा वास बसे । यरीहोका सेनाहरूले तिनीहरूलाई खेद्‌दा, परमेश्वरको भय मान्ने राहाबले तिनीहरूलाई लुकाउन आफ्नो ज्यानलाई जोखिममा पारिन् । यहोशूकहाँ सुरक्षितसाथ फर्कनुअघि तिनीहरूले राहाबसित एउटा शपथ खाए : यदि तिनले आफ्ना परिवार र आफन्तहरूलाई घरमा ल्याएर झ्यालमा रातो डोरी बाँधिन् भने इस्राएली सेनाले यरीहोमा आक्रमण गर्दा तिनको घरमा भएका कसैलाई पनि नष्ट गर्नेछैनन् । केही समयपछि यरीहो सहर कब्जा गरिँदा, त्यो प्रतिज्ञाअनुसार राहाबको घरमा शरण लिएका सबै मानिसहरूको ज्यान जोगिएको थियो (यहो २:१-२१; ६:२०-२५) ।

राहाब र तिनका परिवारको निम्ति रातो डोरी मुक्तिको चिन्ह भएजस्तै, परमेश्वरले आफ्ना प्रजाहरूलाई पनि विपत्तिबाट बचाउन भनी प्रदान गर्नुभएको प्रतिज्ञाको चिन्ह नै निस्तार-चाड हो ।

ज्येष्ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार-चाडको विधि पालन गरे र रगत छर्के । हिब्रू ११:२८

परमेश्वरको आज्ञा पालन नगर्नेहरूले “धर्मीचाहिँ विश्वासद्वारा नै जिउनेछ” (रोम १:१७) भन्ने वचनलाई उद्धृत गर्दै, निस्तार-चाड भनेको विश्वाससँग असम्बन्धित एउटा विधि अथवा रीति मात्र हो भन्दै जिद्दी गर्छन् । तर परमेश्वरले निस्तार-चाड र रगत छर्कने विधिलाई विश्वासद्वारा पालन गर्ने एक विधिको रूपमा तोक्नुभयो । निस्तार-चाडचाहिँ एउटा रीति मात्र होइन तर विश्वासद्वारा स्थापना गरिएको धर्मविधि र परमेश्वरको चाड हो, जुनचाहिँ विश्वास हुनेले मात्र मान्न सक्छ ।

परमेश्वरले निस्तार-चाड स्थापना गर्नुभएको दृश्यलाई प्रस्थानको पुस्तकमा हेर्दै, निस्तार-चाडमा कस्तो प्रतिज्ञा समावेश छ भन्ने कुरा थाहा पाऔं ।

​“तिमीहरूको पाठो खोटरहित होस्– एक वर्षको पाठो । तिमीहरूले त्यो भेडा अथवा बाख्राबाट लिनू । त्यो तिमीहरूले त्यस महिनाको चौधौँ दिनसम्म राख्नू, र इस्राएलको समुदायका सबै मानिसहरूले यो बेलुकीपख मारून् । तब तिनीहरूले त्यसको रगत लिएर जुन-जुन घरमा त्यो खाइन्छ, त्यसको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाऊन् । … पटुका कसेर, खुट्टामा जुत्ता लाएर, हातमा लहुरो लिएर र हतार-हतार गरी तिमीहरूले त्यो खानू । यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ । तिमीहरू बसेका घरहरूमा त्यो रगत तिमीहरूका निम्ति चिन्ह हुनेछ । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु, र मैले मिश्रलाई प्रहार गर्दा नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन । त्यो दिन तिमीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, र तिमीहरूले त्यो दिन परमप्रभुको निम्ति चाड मनाउनेछौ । तिमीहरूले यो पुस्तौँसम्म एउटा रहिरहने विधि स्वरूप मान्नू ।” प्रस १२:५-१४

निस्तार-चाड स्थापना गर्नुभएका र त्यो मान्नू भनेर आफ्ना प्रजाहरूलाई आज्ञा गर्नुभएका व्यक्ति परमेश्वर हुनुहुन्छ । त्यसैले विश्वासद्वारा परमेश्वरको भय मान्ने इस्राएलीहरूले परमेश्वरको वचनमा आज्ञाकारी भई निस्तार-चाड माने । परिणामस्वरूप तिनीहरू विपत्ति पार भए, र मिश्रको दासत्वबाट मुक्त भए । तर परमेश्वरलाई विश्वास नगरी निस्तार-चाड नमानेका मिश्रीहरू भने विपत्तिबाट पार हुन सकेनन् । परमेश्वरको वचनको पूर्णतास्वरूप, पहिले जन्मेकाहरू सबै मारिए, र त्यहाँ मान्छे नमरेको कुनै घर थिएन (प्रस १२:२९-५१) ।

विपत्तिबारे परमेश्वरको चेताउनी

विपत्तिबाट बचाउने निस्तार-चाडको शक्ति के प्रस्थानको समयमा मात्र सीमित थियो होला ? होइन । निस्तार-चाडचाहिँ पुस्तौँसम्म अर्थात् युगको अन्त्यसम्म एउटा रहिरहने विधिस्वरूप मान्नुपर्ने परमेश्वरको करार हो । प्रस्थानको समयपछि पनि निस्तार-चाड मानेर परमेश्वरका प्रजा विपत्ति पार भएका घटनाहरू बाइबलमा देख्न सकिन्छ (२ इति ३०:१-२७; २ राज १९:३२-३५) ।

पुरानो करारको समयमा, इस्राएलीहरूले आफू परमेश्वरको प्रजा हुँ भन्ने कुराको चिन्हस्वरूप घरका ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा निस्तार-चाडको थुमाको रगत लगाउँथे । यो युगमा परमेश्वरले हामीबाट विपत्ति पार गर्न निस्तार-चाडको थुमाको वास्तविकता हुनुभएका येशूज्यूको देह र रगत दिनुभयो । विगतमा भन्दा धेरै विपत्तिहरू झरिरहेको यो युगमा, “नाश गर्ने कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन” भन्ने परमेश्वरको निस्तार-चाडको प्रतिज्ञा अझ शक्तिशाली छ ।

… परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: विपत्तिमाथि विपत्ति ! सर्वनाश (नसुनिएको विपत्ति, NIV) तँमाथि आउँदैछ ! अन्त्य आएको छ ! अन्त्य आएको छ ! त्यो तिमीहरूका विरुद्धमा उठेको छ । त्यो आएको छ ! देशमा बस्ने तिमीहरूमाथि सत्यनाश आएको छ । बेला आइपुगेको छ, दिन नजिकै छ । पर्वतहरूमा खैलाबैला भएको छ, आनन्द त होइन । अब म मेरो क्रोध तँमाथि पोखाउनेछु, र मेरो रीस तँमाथि खन्याउनेछु । तेरो चालचलनअनुसार म न्याय गर्नेछु, र तेरा सबै घिनलाग्दा कामहरूका निम्ति म तँसँग साटो फेर्नेछु । म तँलाई दयाको दृष्टिले हेर्नेछैनँ, तँलाई म टिठ्याउनेछैनँ । तेरो माझमा भएका घृणित व्यवहार र घिनलाग्दा कामहरूका निम्ति म तँलाई दण्ड दिनेछु । तब प्रहार गर्नेचाहिँ म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस् । … परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्नेछैनन् । सुन र चाँदीले तिनीहरूले आफ्नो भोक मार्न वा पेट भर्न सक्नेछैनन्, किनभने तिनीहरूलाई पापमा पार्ने ठक्कर यही नै थियो । इज ७:२-१९

नसुनिएको विपत्ति मानव-जातिमाथि आउनेछ भनेर परमेश्वरले चेताउनी दिनुभएको थियो । बाइबलको अगमवाणीअनुसार, अघि कहिल्यै नदेखिएका, नसुनिएका विपत्तिहरू लगातार बढ्दैछ । अप्रत्याशित भूकम्प र जलवायु परिवर्तनको अनुभव गरेका मानिसहरू “योचाहिँ १०० अथवा १,००० वर्ष यताकै सबैभन्दा ठूलो विपत्ति हो” भन्ने गर्छन् । हिजोआज झरिरहेका विपत्तिहरू साँच्चै अघि कहिल्यै ‘नसुनिएका विपत्तिहरू’ हुन् ।

“… विपद्‌माथि विपद् आउनेछ, हल्लामाथि हल्ला ! तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्नेछन् । पूजाहारीबाट व्यवस्थाको शिक्षा र धर्म-गुरुहरूबाट परामर्श लोप भइजानेछन् । राजाले शोक गर्नेछ । राजकुमार निराशमा डुब्नेछ । देशका मानिसहरूका हात त्रासले काँप्नेछन् । तिनीहरूको व्यवहारअनुसार नै म तिनीहरूसित व्यवहार गर्नेछु । तिनीहरूले गरेकै न्यायअनुसार म तिनीहरूको न्याय गर्नेछु । तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।” इज ७:२५-२७

शक्तिशाली मानिसहरू र धर्म-गुरुहरू समेत यस्ता विनाशकारी विपत्तिहरूदेखि त्रसित र बेसहारा हुनेछन् । विपत्तिबाट बच्न तिनीहरूले अनेक बन्दोबस्त गरे तापनि अन्त्यमा ती सबै प्रयत्न व्यर्थ हुनेछ । यस्ता विपत्तिहरू झन्-झन् नजिक आइरहेको बेला हामीलाई नित्तान्त आवश्यक पर्ने कुरा भनेको परमेश्वरको सुरक्षाको प्रतिज्ञा हो ।

विपत्ति हामीबाट पार हुने प्रतिज्ञाको चिन्ह, निस्तार-चाड

परमेश्वर र हामीबीच मुक्तिको प्रतिज्ञाको चिन्ह भनेकै निस्तार-चाड हो । राहाबको घरमा चिन्ह लगाइएकोले तिनी र तिनको परिवार बचाइएजस्तै परमेश्वरले निस्तार-चाडद्वारा हाम्रो निधारमा मुक्तिको चिन्ह लगाउनुभएको छ ।

र त्यसलाई भन्नुभयो, “यरूशलेम सहरका चारैतिर गएर त्यसमा गरिएका सबै घिनलाग्दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदार-निदारमा एउटा चिन्ह लगा ।” मैले सुनिरहँदा उहाँले अरूहरूलाई चाहिँ भन्नुभयो, “तिमीहरूचाहिँ दया वा करुणा नगरी सहरभित्र त्यसको पछिपछि गएर मार । बूढा मानिस, तरुण-तरुणी, स्त्री र बालकहरू सबैलाई खतम पार, तर निधारमा त्यो चिन्ह भएको कसैलाई पनि नछोओ । मेरो पवित्रस्थानदेखि नै सुरु गर ।” यसैले तिनीहरूले मन्दिरको सामुन्ने भएका धर्म-गुरुहरूदेखि नै यो काम सुरु गरे । इज ९:४-६

परमेश्वरले “निधारमा त्यो चिन्ह भएको कसैलाई पनि नछोओ” भन्नुभयो । फेरि भन्नुपर्दा, त्यो चिन्ह भएकाहरूलाई परमेश्वरले निश्चित बचाउनुहुनेछ । प्रस्थानको समयमा, विनाशक स्वर्गदूतहरू इस्राएलीहरूबाट पार होऊन् भनेर परमेश्वरले इस्राएलीहरूलाई निस्तार-चाड मान्न आज्ञा गर्नुभयो । अहिले पनि, परमेश्वरले हामीलाई विपत्तिबाट बचाउन उहाँको प्रतिज्ञाको चिन्ह, निस्तार-चाड दिनुभएको छ । इजकिएल अगमवक्ताले देखेका उही दर्शन प्रेरित यूहन्नाले पनि पत्मोस टापूमा देखेका थिए ।

यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।” प्रका ७:१-३

‘यसपछि’ भन्नाले प्रकाश अध्याय ६मा वर्णन गरिएको घटनापछि भन्ने अर्थ हो, जसमा ‘अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे’ भनिएको छ । यहाँ आकाशका ताराहरू र अञ्जीरको रूख दुवैले इस्राएल देशलाई, अनि बतासले युद्धलाई जनाउँछ । अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ, दोस्रो विश्व युद्धको बेला चरम पीडा भोगेका ६० लाख यहूदीहरू नाजी सेनाद्वारा मारिएका थिए । त्यसैले ‘यसपछि’ भन्नाले दोस्रो विश्व युद्धपछि भन्ने अर्थ हो (प्रका ६:१२-१७) ।

त्यसोभए ‘यसपछि’ परमेश्वरका प्रजाको निधारमा लगाइने परमेश्वरको मोहोर अर्थात् छापचाहिँ के होला ? त्यो नै निस्तार-चाड हो । प्रस्थानको समयदेखि नै परमेश्वरले निस्तार-चाडलाई उद्धारको छापको रूपमा प्रतिज्ञा गर्नुभएको छ । परमेश्वरका प्रजालाई विपत्तिबाट पार गराउन तिनीहरूका निधारमा परमेश्वरको छाप लगाइन्छ । निस्तार-चाड पवित्र रूपले मान्ने र नयाँ करारको सत्यतामा रहनेहरू सबै परमेश्वरको छाप पाएका मानिसहरू हुन् । यहोशूले इस्राएलका सबै सेनालाई, राहाब र तिनको परिवारलाई कुनै हानि नगर्नू भनी आदेश दिएजस्तै अन्तिम महा-विपत्तिको दिनमा पनि, निस्तार-चाड मान्ने मानिसहरूमाथि कुनै हानि नगर्नू भनी परमेश्वरले विनाशक स्वर्गदूतहरूलाई आदेश दिनुभएको छ ।

छाप लगाउने कार्य पूर्वदेखि सारा संसारमा

परमेश्वरको छाप लगाउने कार्य पूर्वदेखि सुरु हुन्छ । सूर्योदय हुने पूर्वदेखि छाप लगाउने कार्य सुरु हुन्छ भन्नाले, त्यहाँबाट कुनै विशेष घटना घट्नेछ भन्ने अर्थ हो ।

हेर, परमप्रभुले पृथ्वी उजाड गर्नुहुनेछ । उहाँले त्यसलाई विनाश पारेर त्यहाँका बासिन्दाहरूलाई छरपष्ट पार्नुहुनेछ । … पूरै पृथ्वी उजाड हुनेछ र पूर्ण रूपमा लूटपीट गरिनेछ, किनकि परमप्रभुले नै यो कुरा भन्नुभएको छ । पृथ्वी सुक्खा हुनेछ, र त्यो ओइलाउँछ । संसार दुर्बल हुन्छ, र त्यो ओइलाउँछ । पृथ्वीका उच्च दर्जाका मानिसहरू दुर्बल हुन्छन् । पृथ्वी त्यसमा रहने मानिसहरूद्वारा दूषित पारिएको छ । तिनीहरूले नियमहरू उल्लङ्घन गरेका छन्, कानूनहरू भङ्ग गरेका छन् र सदासर्वदाको करार तोडेका छन् । यसकारण एउटा सरापले पृथ्वीलाई भस्म गर्छ, र त्यसका मानिसहरूले दोषको दण्ड भोग्नैपर्छ । यसैकारण पृथ्वीका बासिन्दाहरू जलाइए, र थोरै मानिसहरू मात्र बाँकी रहेका छन् । यशै २४:१-६

जैतून रूख हल्लाएर फलहरू झारिएपछि अथवा अङ्गूर टिपिसकेपछि शिला छोडिएझैँ त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ । तिनीहरू आफ्ना सोर उचाल्छन् । तिनीहरू रमाहटले कराउँछन् । परमप्रभुको महान् महिमाको तिनीहरूले पश्चिमबाट जयजयकार गर्छन् । यसकारण पूर्वमा परमप्रभुको महिमा गर । समुद्रका टापूहरूमा परमप्रभु इस्राएलका परमेश्वरको नाउँ उच्च पार । पृथ्वीको पल्लो कुनादेखि हामी “धर्मी जनको महिमा” भनी गाइरहेको सुन्छौं । … यशै २४:१३-१६

पृथ्वी उजाड र पूर्ण रूपमा लूटपीट हुनुअघि पृथ्वीको पूर्वको पल्लो कुनाबाट छाप लगाउने कार्य सुरु हुन्छ । यूहन्नाले प्रकाश देखेका पत्मोस टापूलाई केन्द्र बनाएर उही अक्षांशबाट हेर्दा, पूर्वको पल्लो कुनाको देश नै कोरिया हो । यसकारण नयाँ करार निस्तार-चाडको सत्यता कोरियामा पुनर्स्थापना भएर अहिले परमेश्वरको छाप लगाउने कार्य विश्वभरि भइरहेको छ ।

अहिले सियोनका सन्तहरू संसारमा गएर, नयाँ नाउँमा आउनुभएका ख्रीष्ट र नयाँ यरूशलेम स्वर्गीय माता, अनि नयाँ करार निस्तार-चाडको बारेमा सुनाइरहेका छन् । वास्तवमा परमेश्वरका प्रजामाथि छाप लगाउने कार्य भनेकै प्रचार हो । परमेश्वरको प्रतिज्ञालाई धन्यवादसाथ ग्रहण गर्नेहरूले उद्धार पाउनेछन् तर ग्रहण नगर्नेहरू भने दोषी ठहरिनेछन् (मर्क १६:१५-१६) ।

याकूबको कष्ट र परमेश्वरको मुक्ति

यी कुराहरूलाई हेर्दा, परमेश्वरले हाम्रो मुक्तिको निम्ति तयार गर्नुभएको सबैभन्दा महान् सत्यता नै निस्तार-चाड हो भन्ने यथार्थता जान्न सकिन्छ । अन्तिम विपत्तिचाहिँ पृथ्वीमा वास गर्ने सबैमाथि आइपर्नेछ भनेर येशूज्यूले भन्नुभएको छ ।

“तर तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्कासि त्यो दिन पासोझैँ आइपर्ला । किनकि यसरी नै सारा पृथ्वीमा वास गर्ने सबैमाथि यो आइपर्नेछ । तर आइपर्ने यी सबै कुराहरूबाट उम्कन र मानिसको पुत्रको सामुन्ने खडा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो ।” लूक २१:३४-३६

त्यो दिन हामीमाथि पासोझैँ नआउनको लागि हामीहरू सधैँ जागा रहनुपर्छ, र निरन्तर प्रार्थना गर्दै आफूलाई पूर्ण रूपमा परमेश्वरको कार्यमा समर्पित गर्नुपर्छ । याकूब आफ्नो घर फर्कंदा, यब्बोक नदीको किनारमा तिनले रातभर परमेश्वरका दूतसँग कुश्ती लडे । आफ्नो कम्मरको गेडी फुस्किएको पीडामा समेत तिनले हार मानेनन् । त्यसरी अन्ततः परमेश्वरको आशिष् पाएपछि मात्र तिनी आफ्नो घर फर्के । त्योजस्तै, आत्मिक घर स्वर्ग फर्कने यात्रामा हामीले पार गर्नुपर्ने कष्टलाई यर्मियाको पुस्तकमा याकूबको दुःख भनेर व्यक्त गरिएको छ ।

“सोध र हेर : के पुरुषले छोराछोरी जन्माउन सक्छ र ? किन त हरेक बलियो मानिस प्रसववेदनामा परेझैँ आफ्नो हातले पेट समातेको म देख्तछु ? किन हरेकको अनुहार मरेको जस्तै पहेँलो भएको छ ? हाय ! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ ! त्यस्तो अरू कुनै दिन पनि हुनेछैन । याकूबको निम्ति यो दु:खको दिन हुनेछ, तर ऊ त्यसबाट बचाइनेछ । सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, ‘त्यस दिन …’ ” यर ३०:६-९

हामीले मुक्तिको मूल्यलाई महसुस गर्दै, हरेक कष्ट र पीडालाई जित्न सक्ने दह्रो विश्वास लिनुपर्छ । याकूबले परमेश्वरको आशिष् पाएपछि आफ्नो घर फर्किएजस्तै, हामी पनि जस्तोसुकै कठिनाइ र कष्टमा पनि आफ्नो विश्वासलाई जोगाउँदै परमेश्वरको आशिष् पाएर स्वर्गीय घर फर्कनुपर्छ ।

परमेश्वरले सियोनका सन्तानहरूलाई निस्तार-चाडद्वारा प्रतिज्ञाको चिन्ह प्रदान गर्नुभएको छ । विगतमा परमेश्वरले इस्राएलीहरूलाई प्रतिज्ञाको चिन्ह, निस्तार-चाडद्वारा विपत्तिको लागि पूर्वतयारी गराउनुभएजस्तै, यो युगमा पनि परमेश्वरले निस्तार-चाडद्वारा हामीलाई विपत्तिबाट पार गराउनुहुनेछ । सारा संसारमा विपत्तिहरू झरिरहेकोले एक हजार जना हाम्रो नजिक लोट्लान् र दश हजार जना हाम्रो दाहिने हाततर्फ लोट्लान्, तर परमेश्वरले त्यो विपत्तिलाई हामीतर्फ आउनबाट रोक्नुहुनेछ (भज ९१:७-१६) । परमेश्वरले हाम्रा सबै मार्गहरू सुरक्षित बनाइदिनुभई हामीलाई सुरक्षा गर्ने प्रतिज्ञा गर्नुभएको छ । परमेश्वरको यस्तो अमूल्य प्रतिज्ञालाई हृदयमा गहिरो गरी खोप्दै परमेश्वरलाई सदासर्वदा महिमा र प्रशंसा चढाउने हामीहरू हुन सकौं ।