किनभने तिनीहरूले परमेश्वरको भय माने

प्रस १:१५-२१

20,075 भ्यु

याकूबका सन्तानहरू मिश्रमा बसोबास गर्दा, इस्राएलीहरूको संख्या दिनप्रतिदिन बढ्दैगयो, र तिनीहरू मिश्रीहरूभन्दा धेरै भए । संकटको अनुभूति गर्दै, मिश्रका राजाले हिब्रू सुँडेनीहरू, शिप्रा र पुआलाई बोलाए, र कडा आज्ञा दिए ।

“जब हिब्रू स्त्रीहरूले बच्चा जन्माउँछन् र उनीहरूलाई जन्माउने पिरामा हेरचाह गर्छौ, तब छोरो रहेछ भने त्यसलाई मार । तर छोरी रहिछ भने त्यसलाई जिउँदै राख ।”

त्यो समयमा राजाको आदेश नमान्दा मृत्युबाट बच्न सकिँदैनथ्यो । तर परमेश्वरको भय मान्ने सुँडेनीहरूले राजाको आज्ञा नमानी छोराहरूलाई जिउँदै राखे । यो सुनेर मिश्रका राजा निकै क्रोधित भए, र शिप्रा र पूआलाई बोलाए ।

“तिमीहरूले छोराहरूलाई किन छोड्यौ ? यसो किन गऱ्यौ ?”

परमेश्वरले सुँडेनीहरूलाई बुद्धि दिनुभयो, र तिनीहरूले यसो भनेका कारण बचे ।

“हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन् । तिनीहरू हट्टाकट्टा छन्, र सुँडेनी पुग्नुभन्दा अघि नै बच्चा जन्माइसकेका हुन्छन् ।”

परमेश्वरले सुँडेनीहरूमाथि दया देखाउनुभयो, र इस्राएलीहरू संख्यामा झन् बढ्दैगए र शक्तिशाली भए ।

राजाको आज्ञा उल्लङ्घन गरेका ती सुँडेनीहरूको जीवन जोखिममा थियो, तर सुँडेनीहरूले परमेश्वरको पक्षमा उभिएर कार्य गरे । त्यसैले आफ्नो जीवन जोखिममा परे पनि देशलाई हानि पुऱ्याउने काम नगरेका ती दुई स्त्रीहरू संकटबाट बचे र तिनीहरूको परिवार समृद्ध भयो ।

जीवन र मृत्युको दोसाँधमा पनि ती सुँडेनीहरू परमेश्वरको पक्षमा उभिन सक्नुको कारणचाहिँ उनीहरूले परमेश्वरको भय मानेकाले थियो । परमेश्वरको राज्यका मानिसहरूले हरेक क्षणमा परमेश्वरको इच्छालाई पहिले सोच्छन् ।

विश्वासको जीवनमा कहिलेकहीँ निर्णय लिन गाह्रो हुन्छ । त्यसैले परमेश्वरको भय मान्दै कार्य गर्नुपर्छ । त्यसो गरेमा बल्ल स्वर्गीय बुद्धि र आशिष् प्रशस्त मात्रामा दिइनेछ ।

हे परमप्रभुका पवित्र जन हो, उहाँको भय मान । किनकि उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन । भज ३४:९