एक-अर्काका पूरक बनेका दुई नायक: आइजेनहावर र प्याटनको जुगलबन्दी

32,460 भ्यु
लेख सुन्नुहोस् 10:55

मित्रराष्ट्रको सर्वोच्च कमान्डर र पछि अमेरिकाका ३४ औँ राष्ट्रपति बनेका ड्वीट डी. आइजेनहावर दोस्रो विश्वयुद्धको इतिहासमा सबैभन्दा प्रख्यात व्यक्तिको रूपमा परिचित छन् । उनले ५० वटाभन्दा बढी मित्रराष्ट्रहरूसँग बलियो सम्बन्ध मात्र बनाएनन्, तर आ-आफ्नो स्वार्थ बोकेका देशहरूबीचको कडा मतभेदलाई पनि आफ्नो कुशल कूटनीतिले निकै सुझबुझका साथ मिलाए । यसैको फलस्वरूप, सन् १९४४ जुन ६ तारिखमा अमेरिकी र बेलायती सेनाको मुख्य नेतृत्वमा क्यानडा, फ्रान्स, अष्ट्रेलिया, पोल्याण्ड र नर्वे लगायतका करिब १ लाख ६० हजार मित्रराष्ट्रका सैनिकहरू नोरमान्डी तटमा सफलतापूर्वक ओर्लिए र जर्मन सेनाको बलियो रक्षापंक्तिलाई ध्वस्त पारे । यो नै शिथिल बनेको विश्वयुद्धको पाङ्ग्रालाई मित्रराष्ट्रको पक्षमा घुमाउने मुख्य कडी बन्यो ।

समुद्री मार्गबाट गरिएको प्रारम्भिक आक्रमणको सफलतापछि, मित्रराष्ट्रहरू जर्मनीको मुटुमै पसेर युद्धको अन्त्य गर्न चाहन्थे । तर, उनीहरूको यो अभियानलाई जर्मनीका उत्कृष्ट बख्तरबन्द पल्टनले कडा चुनौती दिए । यसरी युद्ध झन्डै दुई महिनासम्म लम्बिएपछि, आइजेनहावरले यो गतिरोधलाई तोड्न सक्ने एउटा निडर कमान्डरको खाँचो महसुस गरे । वास्तवमा ती कमान्डर नै जर्ज एस. प्याटन थिए । त्यो समयमा, विवादमा मुछिएका कारण उनी कमाण्डबाट हटाइएका थिए, जसले गर्दा उनी चलिरहेका सैन्य अभियानहरूमा सहभागी हुन असमर्थ थिए । आफ्नो उग्र स्वभाव, आक्रामक नेतृत्व र कतिपय अवस्थामा हतारमा लिइने निर्णयका लागि परिचित प्याटनको बानी थाहा हुँदाहुँदै पनि, आइजेनहावरले युद्धको यो कडा गतिरोधलाई तोड्ने महामिसन उनैलाई सुम्पिए ।

युद्धमैदानमा फर्किएका प्याटनले सैनिकहरूको मन छुने जोसिला भाषणहरूद्वारा उनीहरूको मनोबल उच्च बनाए, र सेनाहरूलाई उत्कृष्ट गतिशीलता प्रदान गर्न तीव्र गतिमा कडा तालिम दिए । उनले युद्धको अग्रपंक्तिमा रहेका आफ्ना सिपाहीहरूसँगै सुख-दुःख साट्दै र सँगै लड्दै “आक्रमण गर, आक्रमण गर, र अलिकति पनि दुविधा भए, फेरि पनि आक्रमण गर !” भनेका थिए । प्याटनका सेनाहरू युद्धको इतिहासमै नसुनेको गतिमा हुइँकिए । तिनीहरूको रफ्तार यति तीव्र थियो कि आपूर्ति टोलीहरूलाई उनीहरूका लागि इन्धन र गोलाबारुद पुऱ्याउन भ्याई–नभ्याई भयो । प्याटनको यही वेगलाई धान्न आइजेनहावरले हवाईजहाजबाटै सरसामान खसाल्ने गज्जबको उपाय निकालेका थिए भन्ने किम्वदन्ती नै छ । प्याटनको यस्तो बहादुरीपूर्ण योगदानकै जगमा मित्रराष्ट्रहरूले त्यो बीभत्स युद्धलाई टुङ्ग्याउने बाटो समाते । दूरगामी योजना बुन्ने कुशल नायक आइजेनहावर र मैदानमा निडर भई जाइलाग्ने कर्मवीर नायक प्याटन— यी दुईको मिलेमतोले नै दोस्रो विश्वयुद्धलाई छिट्टै विसर्जन गराएको हो भन्दा फरक पर्दैन ।

हुर्किएको पृष्ठभूमि मात्र नभई स्वभाव र रुचि समेत फरक–फरक भएका सन्तहरू सुसमाचारको योद्धाका रूपमा चुनिएका छन् । यहाँ आफूभन्दा बिलकुलै उल्टो स्वभाव र चरित्र भएका साथीहरू पनि हुन सक्छन् । कसैको फुर्तिलोपन हामीलाई उग्र लाग्न सक्छ, त कसैको सोचविचार गर्ने बानी ढिलासुस्ती जस्तो देखिन सक्छ । त्यस्तो अवस्थामा एउटा कुराचाहिँ मनमा दरो गरी राखौं— सबैले आ–आफ्नो क्षमता र स्वभावअनुसार सुम्पिएको जिम्मेवारीमा जीउज्यान सुम्पिरहेका छन् । “मैले गर्न नसक्ने काम गर्ने दाजुभाइ र मैले देख्न नसक्ने कुरा ठम्याउने दिदीबहिनी भएकैले, सबै बाधा र अड्चनलाई पन्छाउँदै यो नयाँ करारको सुसमाचार तीव्र गतिमा अघि बढ्न सकेको हो भन्ने कुरा हामीले सधैँ सोच्नुपर्छ ।”

मयूरपङ्खी (नीलो–हरियो) र रातो, पहेंलो र गाढा नीलो, अनि फिक्का हरियो र बैजनी जस्ता पूरक रङ्गहरूको संयोजनले आँखालाई लोभ्याउने एउटा छुट्टै र प्रगाढ सुन्दरता प्रदान गर्दछ । हामीले पाएको यो विश्वासको सुनौलो पलमा, आफूभन्दा फरक स्वभावका दाजुभाइ र दिदीबहिनीसँग काँधमा काँध मिलाई अघि बढौं, अनि आत्मिक संसारलाई नै जुरुक्क हल्लाउने गरी सुसमाचारको विजयको तुरही फुकौं ।

एक-अर्काका पूरक बनेका दुई नायक: आइजेनहावर र प्याटनको जुगलबन्दी

10:55
0:00 10:55

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।