पारिवारिक संस्कार भएको बैठक कोठा
बैठक कोठाले त्यहाँ बस्ने परिवारको पारिवारिक वातावरण र छवि झल्काउँछ । परिवारलाई मेलमिलापपूर्ण बनाउने बैठक कोठाको प्रयोगबारे सिकौं ।
सामान्यतया एउटा घरमा सुत्ने कोठा, बैठक कोठा, भान्सा र शौचालय जस्ता कोठाहरू हुन्छन् । प्रत्येक कोठा फरक-फरक उद्देश्यका लागि प्रयोग गरिन्छ । सामान्यतया सुत्न र कपडा राख्नका लागि सुत्ने कोठा प्रयोग गरिन्छ, लुगा धुन र नुहाउनका लागि शौचालय प्रयोग गरिन्छ र भान्सा कोठाचाहिँ खाना पकाउनका लागि प्रयोग गरिन्छ । त्यसोभए बैठक कोठा केका लागि प्रयोग गरिन्छ होला ?
घरको केन्द्रमा रहेको बैठक कोठालाई विभिन्न तरिकाले प्रयोग गरिन्छ, यसलाई पाहुनाहरूले मनोरञ्जन गर्ने ठाउँ, सबै परिवार सँगै समय बिताउने ठाउँ, र सम्पूर्ण परिवार भेला हुने ठाउँको रूपमा प्रयोग गर्छन् । स्वाभाविक रूपमा मानिसहरू आफ्नोपनको भावना महसुस गर्न चाहन्छन्, र त्यो इच्छा पूरा गर्नको निम्ति उनीहरूलाई एकसाथ भेला हुने ठाउँको आवश्यकता पर्दछ । बैठक कोठाले सबै जना भेला हुने ठाउँको भूमिका निर्वाह गर्दछ । यदि सुत्ने कोठा वा भान्सामा परिवार भेला हुन्छन् भने, त्यसलाई नै बैठक कोठा भन्न सकिन्छ ।

तर हिजोआज परिवारका सदस्यहरू बैठक कोठामा एकसाथ भेला भए पनि टिभी, कम्प्यूटर र स्मार्टफोन जस्ता उपकरणहरू प्रयोग गरी आफू एकलै रमाउने भएकोले परिवारहरूले आमनेसामने बसेर बिताउने समय घट्दैगएको छ ।
एक पल्ट आफ्नो बैठक कोठालाई नियालेर हेरौं । के दिनभरि टिभी चलिरहेको हुँदैन र ? अनि सबैजना आफ्नो स्मार्टफोन वा कम्प्यूटरमा मग्न हुँदैनन् र ? यदि त्यस्तो छ भने, तपाईंको बैठक कोठा राम्ररी प्रयोग भइरहेको छैन ।
टिभीको लागि बैठक कोठा ?
दक्षिण कोरियामा हुने अपार्टमेन्टका बैठक कोठाहरू प्रायः एउटै स्वरूपका हुन्छन् । बैठक कोठाको भित्ताको बीचमा एउटा टिभी हुन्छ र त्यसको अगाडि सोफा राखिएको हुन्छ । घर बनाउनेहरूले आधारभूत विकल्पको रूपमा सबै घरको बैठक कोठाहरूमा उस्तै आकारका टिभी स्ट्यान्डहरू राखिदिन्छन् । सोफा र टिभी, सियो र धागोजस्तै सधैँ एकसाथ हुने भएकोले कहिलेकहीँ सोफालाई केवल टिभी हेर्नका लागि प्रयोग गरिने फर्निचरको रूपमा पनि लिइन्छ ।
यो आधुनिक युगमा टेलिभिजनको विस्तार एउटा ऐतिहासिक घटना हो, किनभने यसले पूरै परिवारलाई एकसाथ ल्याउनमा ठूलो योगदान पुऱ्याउँछ । परिवारसँगै टिभी हेर्ने जीवनशैली सामान्य हुँदैगएसँगै, टिभीले परिवारलाई कुराकानीका विषयहरू प्रदान गर्ने एक सञ्चार माध्यमको भूमिका निर्वाह गरिरहेको छ । तर यदि परिवारबीचको कुराकानीको केन्द्रबिन्दु नै टिभी भयो भने बैठक कोठा केवल एउटा टिभी हेर्ने ठाउँको रूपमा मात्र सीमित हुन्छ र परिवारबीचको अर्थपूर्ण कुराकानी बन्द हुन्छ । यस्तो समस्या समाधान गर्नको लागि, प्रायः परिवारहरूले आफ्नो बैठक कोठाबाट टिभी हटाइरहेका छन् । ‘टिभी-रहित बैठक कोठा’ प्रयास गरेका र सकारात्मक नतिजा देखेका व्यक्तिहरूले त्यसो गर्न अरूलाई पनि सल्लाह दिन्छन् ।

एउटा घरेलु IT कम्पनीले सन् २०१४ र सन् २०१५ मा ६ महिनासम्म ‘बैठक कोठा’ भन्ने किवर्ड प्रयोग गरेर एउटा ठूलो सामाजिक डाटाको विश्लेषण गर्यो । उक्त डाटाअनुसार ‘बैठक कोठा + बुबा’ सँग प्रायः प्रयोग गरिएको शब्द नै ‘गो आउट’ थियो । दोस्रो स्थानमा टिभी थियो, त्यसपछि ‘बस्नु’, ‘कठिन छ’, र ‘डरलाग्दो छ’ जस्ता शब्दहरू थिए । दिनभरि बाहिर काम गर्ने बुबाहरू प्रायः घरमा आराम गर्नुहुन्छ तर बैठक कोठाको सोफामा बसेर केवल टिभी मात्र हेर्नुचाहिँ समस्याको कुरा हो ।
टिभीविनाको बैठक कोठाचाहिँ जुनसुकै परिदृश्यहरू कोर्न सकिने खाली क्यानभासजस्तै हो । केही समयको लागि खालीपन महसुस भए पनि, यदि टिभी हेर्नुको सट्टा आफ्नो परिवारसँग रमाइलो कुराकानी गर्न सक्ने वातावरण सिर्जना गर्ने प्रयास गऱ्यो भने, निकै सुन्दर चित्र कोर्न सकिनेछ । यदि सोफा र टिभी आमनेसामने छन् भने सोफाको दिशा परिवर्तन गरेर सहज रूपमा कुराकानी गर्न सकिन्छ ।
अध्ययन गर्नका लागि उपयुक्त ठाउँ, बैठक कोठा
बालबालिकाहरू विद्यालय जाने उमेरको हुँदा प्रायः अभिभावकहरूले आफ्नो बच्चा शान्त र स्वतन्त्र रूपमा पढ्न सकून् भनेर छुट्टै अध्ययन कोठा बनाइदिन्छन् । कहिलेकहीँ बच्चाहरूले एकलै ध्यान दिएर अध्ययन पनि गर्नुपर्छ, तर प्राथमिक विद्यालयका विद्यार्थीहरूका लागि निजी अध्ययन कोठाभन्दा बुबा-आमासँग सजिलै कुराकानी गर्न सकिने बैठक कोठा अझ प्रभावकारी हुन्छ ।
बच्चाहरूले प्रायः कुनै काम गर्दा वा चित्र बनाउँदा आफूले गरेको त्यो काम बुबा-आमालाई देखाउन एकदमै उत्साहित हुन्छन् । बच्चा र बुबा-आमाबीच राम्रो भावनात्मक र संज्ञानात्मक कुराकानी भयो भने उनीहरूको मन स्थिर हुन्छ र उनीहरूको सिक्ने क्षमता र इच्छा पनि सुधार हुँदैजान्छ । तसर्थ बच्चाहरू साना छन् भने, बैठक कोठा नै उनीहरूको अध्ययनका लागि प्रभावकारी ठाउँ हुन सक्छ, किनभने घरेलु काम गर्दा बुबा-आमाले सजिलै आफ्ना बच्चाहरूलाई देख्न सक्छन् र बच्चाहरूले पनि आवश्यक पर्दा आफ्ना बुबा-आमासँग मद्दत माग्न सक्छन् ।

त्यसैगरी बैठक कोठामा बसेर बुबा-आमाले किताब वा पत्रपत्रिका पढ्दा, जिज्ञासाका साथ कुनै कुरा खोज्दा वा शान्त भएर कुनै कुरामा ध्यान दिँदा बच्चाहरूले पनि त्यो कुराको सिको गर्छन् । यदि बुबा-आमा स्वयंले पुस्तकहरू बिल्कुलै पढ्दैनन् तर आफ्ना बच्चाहरूलाई “पढ्न जाऊ” अथवा “पढेनौ भने तिमी कहिल्यै ठूलो मान्छे बन्नेछैनौ” भनेर बारम्बार कराउँछन् भने, उनीहरूको बोली र व्यवहारबीचको असमानताले बच्चाहरू असन्तुष्ट हुन पुग्छन् । तर यदि बुबा-आमाले पढ्ने वातावरण बनाइदिए भने, ती बच्चाहरूलाई पढ भनेर भन्नैपर्दैन । बुबा-आमाले लगातार किताब पढिरहेको देख्नेबित्तिकै बच्चाहरूले स्वतः त्यो बानीको सिको गर्छन् र त्यसलाई आफ्नो जीवनशैली बनाउँछन् ।
कम्प्यूटरलाई बच्चाहरूको कोठामा भन्दा बैठक कोठामा राख्नु उत्तम हुन्छ । बच्चाको कोठामा कम्प्यूटर राखियो भने उसले त्यो कम्प्यूटर अध्ययनका लागि नभएर मनोरञ्जनका लागि प्रयोग गर्नेछ । तर यदि कम्प्यूटरलाई बैठक कोठामा राखियो भने सुरक्षितसाथ राम्ररी प्रयोग गर्न सकिन्छ । त्यसैगरी बैठक कोठामा ह्वाइटबोर्ड राख्दा बच्चाहरूले समस्याहरू समाधान गर्न र सिक्ने रुचि विकास गर्न सक्छन् । परिवारका सदस्यहरूलाई ह्वाइटबोर्डमा लेखेर अवगत गराउनु पर्ने कुरा जानकारी दियो भने पारिवारिक सम्बन्ध अझ मजबुत हुन्छ ।
सञ्चार र संस्कार भएको बैठक कोठा
बैठक कोठाचाहिँ खानपिन गर्ने, लुगा लगाउने, सुत्ने जस्ता जीवनका आधारभूत क्रियाकलाप गर्ने कोठा नभएर परिवारका सदस्यहरू भेला हुने, कुरा गर्ने र प्रेम बाढ्ने ठाउँ हो । बैठक कोठा जतिसुकै फराकिलो वा राम्रोसँग सजाइएको भए पनि, यदि परिवार एकताबद्ध छैनन् अथवा असहजताका कारण सँगै बस्न सक्दैनन् भने त्यो बैठक कोठा प्रवेशद्वार र सुत्ने कोठालाई जोड्ने हलवे मात्र हुनेछ ।
बैठक कोठामा टिभी हटाएर किताबहरू राख्दैमा स्वतः घरायसी वातावरण सिर्जना हुँदैन । सबैभन्दा महत्त्वपूर्ण कुरा नै न्यानो, समानुभूतिपूर्ण कुराकानी र रमाइलो अन्तरक्रिया हुने वातावरण हो । पारिवारिक सद्भावलाई महत्त्व दिनको निम्ति आफ्नो बैठक कोठा कस्तो देखिन्छ भनेर विचार गर्नुपर्छ र आरामदायी पारिवारिक समय निर्माण गर्न सक्रिय रूपमा प्रयास गर्नुपर्छ ।
पारिवारिक जीवनलाई कसरी सुखी बनाउने भन्ने बारेमा सोच्नु भनेको आफूले चाहेको आदर्श परिवारको तस्वीर कोर्नुजस्तै हो । केवल अवकाशको (retirement) योजना बनाउने वा घर किन्ने मात्र होइन, तर हामीले “के मेरो परिवार सौहार्दपूर्ण छ ?” र “मेरो परिवारको संस्कार कस्तो छ ?” भन्नेबारे सोच्नुपर्छ । अनि अभाव भएका कुराहरू पूरा गर्न प्रयास गर्नुपर्छ, त्यसो गरेमा बल्ल तपाईंको परिवार एउटा आदर्श परिवार बन्नेछ ।

पारिवारिक बैठक गर्ने, वाद्ययन्त्र बजाउने, पढ्ने, छलफल गर्ने, चियापान गर्ने, व्यायाम गर्ने, स्वादिष्ठ परिकार बनाउने, स्वस्थ खेल खेल्ने जस्ता पारिवारिक क्रियाकलापद्वारा पारिवारिक संस्कार सिर्जना गर्नुपर्छ । पारिवारिक संस्कृतिले परिवारका सदस्यहरूले देखाउने व्यवहार वा जीवनशैलीलाई जनाउँछ । जब परिवारका सबै सदस्यहरू रमाइलो गर्दै बैठक कोठामा बस्छन् र कुराकानी गर्दै खुशीसाथ हाँस्छन्, तब बल्ल बैठक कोठा पूर्ण रूपमा उपयोग हुन्छ । यस्तो बैठक कोठाचाहिँ आदर्श पारिवारतर्फ पुग्ने एउटा छोटो बाटो हो ।
स्वस्थ पारिवारिक संस्कार स्थापना गर्न परिवारका सबै सदस्यहरूले एक-अर्काको कुरा ध्यानपूर्वक सुन्नुपर्छ र उनीहरूको गल्ती वा कमजोरी औंल्याउनु अथवा मूल्याङ्कन गर्नुको सट्टा उनीहरूको कुरालाई बुझिदिनुपर्छ । बैठक कोठामा कहिल्यै पनि आवाज उच्च पारेर बोल्नुहुँदैन । बच्चाहरूलाई अनुशासन सिकाउनु छ या जीवनसाथीसँग कुनै कुरामा असमझदारी भएको छ भने त्यस्तो कुरालाई अर्को कोठामा गएर समाधान गर्नुपर्छ । बैठक कोठाचाहिँ सधैँ शान्तिमय हुनुपर्छ ।
बैठक कोठा एउटा पारिवारिक संस्कार निर्माण हुने सामूहिक ठाउँ भएकोले परिवारका सबै सदस्यहरूले यसको हेरचाह गर्नुपर्छ । फोहोर बैठक कोठामा कोही पनि बस्न चाहँदैन । त्यसैले परिवारका सबै सदस्यहरूले यसलाई सफा राख्नुपर्छ, तर एक व्यक्तिको रुचि वा एकाधिकारअनुसार बैठक कोठा सञ्चालन गर्नुहुँदैन ।
बैठक कोठालाई अंग्रेजीमा ‘Living Room’ भनिन्छ । यसको शाब्दिक अर्थ बस्ने ठाउँ हो । बैठक कोठालाई बस्ने ठाउँ बनाउनको लागि, त्यहाँ परिवार भेला हुनुपर्छ । एउटै घरमा बस्ने तर बैठक कोठामा भेला नहुने, अथवा भेला भए पनि एकताबद्ध नहुने र जे मन लाग्छ त्यही गरेर समय बर्बाद गर्ने त्यस्तो बैठक कोठाचाहिँ परिवारका सदस्यहरू बस्ने कोठा नभएर छरपष्ट हुने कोठा वा ‘छोड्ने कोठा’ हुन पुग्छ ।
बैठक कोठा राम्ररी सञ्चालित हुँदा अन्य कोठाहरू पनि जीवन्त हुन्छन् । जब कुराकानी, संस्कृति, प्रेम र सपनाहरू सहअस्तित्वमा हुने बैठक कोठाबाट पारिवारिक प्रेमको सकारात्मक ऊर्जा बग्न थाल्छ तब घरको प्रत्येक कोठा न्यानो र सुरक्षित हुन्छ । अनि यस्तो ऊर्जा निरन्तर प्राप्त गर्ने व्यक्तिको जीवन पनि जीवन्त हुन्छ ।