
एघार जना मानिसहरूले मिश्रका शासकलाई दण्डवत् गरे । तिनीहरूलाई तिनीहरूका धोक्रामा भेटिएको योसेफको चाँदीको कचौराबारे सोधपुछ गरियो ।
“तिमीहरूले किन यस्तो काम गऱ्यौ ?”
योसेफले तिनीहरूलाई कडासँग हप्काए । वास्तवमा यी सब कुरा योसेफले बनाएको योजना थियो ।
धेरै पहिले, योसेफलाई उनका दाजुहरूले अन्यायपूर्वक मिश्रमा बेचेका थिए, उनी मिश्रका शासक बने र सम्पूर्ण देशमाथि शासन गरे । गम्भीर अनिकालका कारण देशमा भण्डारन गरिएको अन्न बेच्दैगर्दा योसेफले कनानबाट मिश्रमा अन्न किन्न आएका आफ्ना दाजुहरूलाई देखे ।
तर उनीहरूले भने योसेफलाई चिनेनन् । एकै नजरमा आफ्ना दाजुहरूलाई चिनेका योसेफले आफ्ना दाजुहरू जासूस भएको शंका गर्ने नाटक गरे र उनीहरूलाई कनानबाट कान्छो भाइ, बेन्यामीनलाई ल्याउन भने । योसेफका दाजुहरू आफ्ना बुबा याकूबकहाँ फर्के, जो योसेफ र कान्छो छोरा गुमाउनु पर्दा निराश थिए । उनीहरूले बुबालाई आश्वासन दिएर कान्छो छोरालाई मिश्रमा लगे । आफ्ना दाजुभाइहरूलाई दयालु व्यवहार गर्दै योसेफले बेन्यामीनको धोक्रामा आफ्नो चाँदीको कचौरा लकाए, र उनीहरूलाई अपठ्यारो अवस्थामा पारे । यो एउटा परीक्षा थियो ।
“हामीले के भन्न सक्छौं ? हामीले कसरी आफ्नो सफाइ दिन सक्छौं र ? हामी सबै तपाईंका कमारा बन्नेछौं ।”
“होइन, जसको धोक्रामा त्यो कचौरा फेला पऱ्यो, त्यही मात्र मेरो कमारा हुनेछ । बाँकीचाहिँ निर्दोष ठहरिनेछन् ।”
तिनीहरूको बिन्तीलाई यहोशूले बेवास्ता गरेका कारण यहूदा योसेफकहाँ गए र उनको भाइलाई त्यहाँ छोडेमा उनीहरूका बुबा चिन्ताले मर्ने कुरा बताए ।
“मेरो बुबाको जीवन त्यस केटाको जीवनसँग जोडिएको छ । यदि उहाँले उसलाई देख्नुभएन भने मर्नुहुनेछ । आफ्नो दासलाई राख्नुभएर त्यस केटालाई चाहिँ फर्कन दिनुहुन बिन्ती गर्दछौं ।”
यहूदाले आफ्नो बुबाको बारेमा यति धेरै सोचेको र कान्छो भाइलाई बचाउन हरप्रयत्न गरेको देखेर योसेफ एकदमै प्रभावित भए, र ठूलो स्वरले रोए । अन्ततः उनले आफ्नो परिचय खुलाए र आँसु झार्दै आफ्ना दाजुभाइहरूलाई अँगालो हाले ।
बुबाको लागि, छोराछोरी भनेको आफ्नो जीवन हो, र उनीहरूलाई गुमाउनु सबैभन्दा ठूलो पीडा हो । योसेफलाई बेचेर आफ्नो बुबालाई पहिले नै ठूलो पीडा दिइसकेका यहूदालाई बेन्यामीन गुमायो भने बुबाले फेरि पीडा भोग्नुहुनेछ भन्ने ठूलो डर थियो । त्यसैले उनले आफ्नो कान्छो भाइलाई हर हालतमा बचाउन खोजे । ढिलो भए पनि, यहूदाले आफ्नो बुबाको हृदयलाई बुझे र आफ्नो सन्तानोचित कर्तव्य पूरा गरे । यो देखेपछि योसेफले आफ्नो हृदयमा भएको सबै घृणा फालेर क्षमाको हात बढाए ।
यसरी बुबाको जीवन आफ्नो बच्चासँग जोडिएको हुन्छ भन्ने कुरा महसुस गरेपछि यहूदाले ईर्ष्याको कारण गरेका गल्तीहरूको पश्चात्ताप गरे । बुबालाई थप सन्तान गुमाउने शोकबाट बचाउने दृढ संकल्पले गर्दा नाटकीय रूपमा एउटा परिवारको पुनर्मिलन भयो ।
हामीलाई मुक्ति दिन चाहनुहुने स्वर्गीय पिता र माताको मनको विषयमा सोचौं । त्यसो गरेमा बल्ल स्वर्गमा गर्न नसकेको पश्चात्ताप र दाजुभाइ-दिदीबहिनीसँगको एकता पूरा हुनेछ ।