आमाको तर्फबाट प्रेम दिँदै

गुवन मि सुग, दक्षिण कोरिया, सउल

7,911 भ्यु

“मि सुक ! स्ट्रबेरी खान आऊ ।”

“मि सुक ! मकै एकदमै स्वादिष्ट छ । म उसिनिदिन्छु । खान आऊ ।”

“मि सुक ! मैले डाँडातिर गएर केही सलादका साग र जडिबुटीहरू टिपेर ल्याएकी छु । एकदमै मीठो छ । खान आऊ ।”

खानेकुरा हुँदैपिच्छे दिदीले मलाई बोलाउनुहुन्छ । मेरा ६ जना दाजुभाइ-दिदीबहिनीहरू छन्, र मेरी जेठी दिदीलाई म व्यस्त भइरहने कुरा राम्ररी थाहा छ । तापनि, केही मीठो कुरा हुँदैपिच्छे उहाँले मलाई बोलाउन कहिल्यै छुटाउनुहुन्न ।

उहाँसँग दुई वटा ठूला फ्रिज र दुई वटा किम्ची फ्रिजहरू छन् । उहाँको बैठक कोठामा चार वटा फ्रिजहरू लस्करै राखिएका छन् । उहाँको कान्छो छोरा सेनामा भर्ना भएपछि घरमा मेरी दिदी र भिनाजु गरी दुई जना मात्रै हुनुहुन्छ । त्यसैले उहाँहरूलाई त्यति धेरै फ्रिजहरू चाहिँदैन जस्तो लाग्छ । तर वास्तवमा उहाँले वर्षमा एकपल्ट अमेरिकाबाट आउने भाइ-बहिनी र सउलमा बस्ने बहिनीको लागि पनि किम्ची बनाइदिनुहुन्छ ।

आफ्नो सानो बारीमा रोप्नुभएको मकै, खुर्सानी, आलु, टमाटर र विभिन्न थरीका तरकारीहरूले सधैँ ती फ्रिजहरू भरिएका हुन्छन् । उहाँले ती सबै आफ्ना भाइ-बहिनीहरूका लागि राख्नुभएको हो ।

उहाँ सधैँ “यो काम एकदमै गाह्रो छ, अबदेखि गर्दिनँ” त भन्नुहुन्छ, तर भाइ-बहिनीहरूको निम्ति केही गर्न नसक्दा उहाँको मन खिन्न हुने भएकोले फेरि ‘गर्दिनँ’ भनेका कामहरू गर्न थालिहाल्नुहुन्छ । आफ्नो परिश्रमको प्रशंसा कसैले नगरिदिए पनि एकदमै वृद्ध भएर केही गर्न नसक्नुभएकी आमाको तर्फबाट उहाँले सबथोक गरिदिनुहुन्छ । जेठी भएकै कारण उहाँले यसलाई आफ्नो भाग्यको रूपमा लिनुहुन्छ ।

एक दिन, उहाँले आफ्नो मनको कुरा खोल्ने क्रममा भन्नुभयो “मेरो पनि हेरचाह गरिदिने कोही भइदिए हुन्थ्यो ।” त्यो सुनेर मैले उहाँको हेरचाह गर्ने निर्णय त गरे, तर त्यो मनस्थिति क्षणिक समयको लागि मात्र रह्यो ।

त्यसैले धेरै ढिलो हुनुअघि नै, म उहाँकी असल बहिनी बन्न चाहन्छु । दिदीले आमाको तर्फबाट मलाई प्रशस्त प्रेम दिनुभएकोले, म पनि उहाँलाई आमाको तर्फबाट उस्तै प्रेम दिनेछु ।