खुला

खुला कन्सर्ट, खुला भाषण, खुला प्रतिस्पर्धा, खुला अनुभव जस्ता कार्यक्रमहरूमा ‘खुला’ भन्ने शब्द बढी प्रयोग हुने गर्दछ जसले जो कोहीलाई पनि प्रतिबन्धविना सहभागी हुने अवसर प्रदान गर्दछ भन्ने अर्थ बुझाउँछ । खुला भनिएको ठाउँमा प्रवेश गर्न सजिलो हुन्छ । जान मन भए पनि यदि ढोका बन्द छ भने भित्र पस्न सकिँदैन तर ढोका खुला हुँदा नहिचकिचाइकन सजिलै भित्र पस्न सकिन्छ ।
सुसमाचार प्रचारको सन्दर्भमा पनि उस्तै हो, सुसमाचार फैलाउनका लागि पनि ढोका खोलिएको हुनुपर्छ । मनको ढोका पूर्ण रूपमा बन्द गर्ने मानिसहरूका सामु, जेसुकै सुनाए पनि तिनीहरू त्यो कुरामा सहमत हुँदैनन् । सबै किसिमको वाक्शक्ति प्रयोग गरेर सबै प्रकारका तरिका र उपाय अपनाए तापनि ती मानिसहरूको हृदयभित्र कदापि पस्न सकिँदैन ।
चाबी लिनुभएका व्यक्तिचाहिँ परमेश्वर हुनुहुन्छ । केवल परमेश्वरले मात्र मानवजातिको हृदयको ढोका खोल्न र सुन्न सक्नुहुन्छ ।
अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वरभक्त स्त्रीले हाम्रा वचन सुनिन् । पावलले बोलेका कुरा ध्यानसँग सुनून् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो । प्रेरित १६:१४
सुरुमै, खोलियोस् भनेर हामीले बिन्ती गर्नुपर्ने कुरा नै स्वर्गको ढोका हो । यदि परमेश्वरले हाम्रो सोचाइ र कार्यबाट प्रसन्न हुनुभएर आशिष्को ढोका खोलिदिनुभयो भने मानिसहरूको हृदयको ढोका स्वतः खोलिनेछ । त्यसपछि, बल्ल हामीले गहिरो प्रतीक्षा गरेको फल फल्नेछ ।