परमेश्वरले तिमीहरूका मनको रक्षा गर्नुहुनेछ

मानिसले बिहान आँखा खोलेदेखि राति नसुतुञ्जेलसम्म हजारौं कुराहरू सोच्ने गर्छ । अमेरिकी मनोवैज्ञानिक शाड हेल्मस्टेटरको अनुसन्धानअनुसार, तीमध्ये प्रायः सोचाइहरू चिन्ता, फिक्रीजस्ता नकारात्मक कुराहरू हुन्छन् र सकारात्मक सोचाइचाहिँ एकदमै कम हुन्छन् ।
नकारात्मक सोचाइहरू कहिल्यै पनि सुरुदेखि नै उत्पन्न हुँदैनन् । जथाभावी सोचाइहरू दिमागमा राखियो भने तिनीहरू स्वाभाविक रूपमा नकारात्मक तरिकामा प्रवाह हुन्छन् । जस्तोसुकै कुरामा पनि सजिलै दिक्क मान्ने मानिसहरू नकारात्मक कुरालाई बढी सक्रियताका साथ स्वीकार्ने मस्तिष्कको बानीअनुसार अजानमै नकारात्मक कुरातर्फ झुक्न थाल्छन् । त्यसैले विशेषज्ञहरूले सकारात्मक सोच्नका लागि सक्दो प्रयत्न गर्नुपर्छ भनेर भन्ने गर्छन् ।
हाम्रा सोचाइलाई नकारात्मक दिशामा जानबाट जोगाउने एउटा तरिका छ । त्यो तरिका भनेकै परमेश्वरको वचन सधैँ अध्ययन गर्नु हो । परमेश्वरको वचनले सधैँ हामीलाई असल र सुन्दर सोचाइ लिन प्रेरित गर्छ । यदि त्यो धन्यवादको प्रार्थनासँग जोडियो भने परमेश्वरले हाम्रो हृदय र मनको रक्षा गर्नुभएर चिन्तालाई कम गरिदिनुहुनेछ ।
कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ । फिलिप्पी ४:६-७