खराब आदत हटाउने तरिका

52,047 भ्यु
लेख सुन्नुहोस् 16:07

“म तीस वर्षीय पुरुष हुँ, तर मेरो निधारमा गहिरो चाउरी परेकाले म ४० वर्षजस्तो देखिन्छु ।”

योचाहिँ विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भान गोगले आफ्नो भाइ थियोलाई लेखेको पत्रको एक अंश हो । जीवनका कठिनाइहरू र सृजनात्मक चित्रकला रच्ने चिन्ताले तिनको निधारमा गहिरा रेखाहरू बसे । आफ्नो उमेरभन्दा बढी देखिन थालेपछि तिनी चिन्तित भए ।

त्यसो भए गोगलाई मात्र यस्तो चिन्ता भएको होला त ? हामी थकित वा निराश हुँदा थाहै नपाई ती भावनाहरू अनुहारमा प्रकट गर्ने गर्छौं । उमेर बढ्दैजाँदा चाउरी पर्नु प्राकृतिक जैविक प्रक्रिया हो । तर लगातार दोहोरिने मुखमुद्राले हाम्रो अनुहारका मांसपेशीहरू कडा हुँदै जान्छन् । कुनै कुरा मनपरेन भनेर सधैँ निधार खुम्च्याउने वा आँखीभौँ उचाल्ने बानी छ भने, केही वर्षपछि त्यही मुखमुद्रा हाम्रो स्थायी रूप बन्न सक्छ । “निश्चित उमेर पुगेपछि, प्रत्येक व्यक्ति आफ्नो अनुहारको जिम्मेवार आफैँ हुन्छ ।” यो भनाइ त्यसै भनिएको होइन ।

जसरी हामी अजानमा निधार खुम्च्याउँछौं, त्यसरी नै दैनिक जीवनमा थाहै नपाई धेरै कुराहरू गरिरहेका हुन्छौं । मानिसले दिनभर गर्ने कार्यहरूमध्ये ४० प्रतिशतभन्दा बढीचाहिँ सोचविचार गरेरे होइनकि, आदतको रूपमा गर्छन् भनेर ड्यूक क्याम्पसका अनुसन्धानकर्ताहरूले पत्ता लगाए ।

मस्तिष्कले सधैँ आफ्नो मिहिनेत वा श्रम बचाउने उपायहरू खोजिरहेको हुन्छ । कुनै नयाँ कुरा पहिचान गर्न लाग्ने श्रम न्यूनीकरण गर्नका लागि, मस्तिष्कसँग जटिल कार्यहरूलाई पनि अचेतन बानीमा बदल्ने एउटा अद्भुत क्षमता हुन्छ ।

ती आदतहरू असल छन् भने खासै समस्या हुँदैन, तर ती आदतहरू खराब छन् भने त्यसले हाम्रो जीवनमा सानो वा ठूलो प्रभाव पार्न सक्छ । हामीले त्यस्ता आदतहरूबारे सोच्नुपर्छ । उदाहरणका लागि, जागिरको अन्तर्वार्तामा खुट्टा हल्लाउने बानी छ भने त्यसले असफल बनाइदिन सक्छ । सधैँ रुखो व्यवहार गर्ने आदत छ भने त्यसले अरूसँगको सम्बन्धमा समस्या उत्पन्न गराउन सक्छ ।

नङ टोक्नु पनि एउटा आदत हो । त्यति मात्र होइन, रिस उठेपछि तुरुन्त रिस पोख्ने भावनात्मक प्रतिक्रियाहरू पनि आदत नै हो । चार्ल्स डुहिगले लेखेका The Power of Habit पुस्तकमा भावना नियन्त्रण गर्ने इच्छाशक्तिलाई अभ्यासद्वारा आदत बनाउन सकिन्छ भनेका छन् । पुस्तकमा उल्लेख गरिएका कर्मचारी ट्राभिस लिचले रुखो ग्राहकसँग कुरा गर्दा आफ्नो रिस नियन्त्रण गर्न सक्दैनथे । “बाहिर निस्कि !” भनेर झर्किने वा सामान फाल्ने जस्तो व्यवहारका कारण अन्ततः तिनी जागिरबाट निकालिए ।

तिनले प्रत्येक बिहान ऐनामा आफूलाई हेर्दै असल व्यक्ति बन्नू भन्थे । तर उस्तै परिस्थिति आउँदाखेरि फेरि पहिलाकै व्यवहार दोहोऱ्याउँथे । केही वर्षपछि तिनी पूर्ण रूपमा परिवर्तन भएर नयाँ व्यक्ति भए । तिनी रुखो ग्राहकसँग पनि शान्त र दयालु व्यवहार गर्थे । अनि तिनले दुई वटा पसलहरू व्यस्थापन गर्न थाले । वास्तवमा तिनले नयाँ जीवन सुरु गरेका थिए । ट्राभिसमा कसरी यस्तो परिवर्तन आएको होला ?

ट्राभिसले काम गर्न थालेको कफी कम्पनीले आफ्ना कर्मचारीहरूलाई आत्मसंयमी हुने विशेष प्रशिक्षण दिन्थ्यो । सामान्य अवस्थामा शान्त रहने कर्मचारीहरूले दबाबको अवस्थामा सजिलै संयमी स्वभाव गुमाउँथे ।

त्यो प्रशिक्षण पुस्तिकाको एउटा पृष्ठ खाली थियो र माथिपट्टी “ग्राहक असन्तुष्ट भए भने, मेरो प्रतिक्रिया … ” भन्ने वाक्य लेखिएको थियो । त्यो पुस्तिकाचाहिँ कर्मचारीहरूले अप्रिय परिस्थितिको कल्पना गर्दै आफ्नो प्रतिक्रिया लेख्नको लागि बनाइएको थियो । यसरी उनीहरूले वास्तविक अवस्था आइपर्दा पहिल्यै प्रतिक्रिया तयार गर्न सक्थे । उनीहरूले किन कागजमा लेख्नुपरेको होला ? त्योचाहिँ आफ्ना विचारलाई व्यवहारमा उतार्न र सचेत रूपमा मनमा गहिरो गरी खोप्नको निम्ति थियो ।

यो कुरा खराब आदत हटाउने उपायबारे बनाइएको एउटा वृत्तचित्रसँग मिल्दोजुल्दो छ । धूम्रपान गर्ने, कोठा अव्यवस्थित राख्ने वा सधैँ ढिलो पुग्ने जस्ता आदत भएका मानिसहरूलाई एउटा परीक्षणमा सहभागी गराइयो । सुरुमा आफ्नो आदतअनुसार काम गर्न नपाउँदा उनीहरूले निकै तनाव महसुस गरेका थिए । तर दुई महिनापछि ९० प्रतिशतभन्दा बढी सहभागीहरू खराब आदत हटाउन सफल भए ।

उनीहरूले गरेको एउटा महत्त्वपूर्ण कामचाहिँ खराब आदत दोहोरिनेबित्तिकै त्यसलाई तुरुन्त लेख्नु थियो । आफूले लेखेको नोट हेरेर उनीहरूले आफ्ना गल्तीहरू स्पष्टसँग देखे । सुरुमा कुन कुरा परिवर्तन गर्नुपर्छ भनेर थाहा भए पनि त्यो अस्पष्ट सोचइ मात्र थियो । तर कागजमा लेखेपछि उनीहरूले त्यसको गम्भीरता महसुस गरे र बिस्तारै त्यस्तो व्यवहार दोहोरिने सङ्ख्या घटाउन थाले ।

हामीमा असल र खराब दुवै आदत हुन्छ । विश्वासको जीवनमा पनि उस्तै हो । खराब आदत (हिब्रू १०:२५) हुन्छ भने, असल आदत पनि हुन्छ । परमेश्वरले उदाहरणका रूपमा देखाउनुभएको असल आदत पछ्याउनु नै (लूका २२:३९–४०) हाम्रो आत्मालाई शक्ति दिने मार्ग हो ।

उचित समयमा परमेश्वरले जीवनको पानीका वचनद्वारा हामीलाई प्रशिक्षण दिनुहुन्छ, यसरी हामीले ईश्वरीय स्वभावलाई आदत बनाउन सक्छौं । राम्रो मन राख्नुपर्छ र असल काम गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा भए पनि आत्मकेन्द्रित व्यवहार वा रुखो बोल्ने आदतलाई एकै पल्टमा परिवर्तन गर्न सजिलो हुँदैन । असन्तुष्ट महसुस हुनेबित्तिकै हामी थाहै नपाई मुख फुलाउँछौं, वा मन नपरेको व्यक्तिलाई नकारात्मक दृष्टिले हेर्छौं ।

त्यसैले “यो त सानो गल्ती हो” वा “यो आदत हो” भनेर बेवास्ता गरेका सबै कुराहरू एक पल्ट लेख्दा कस्तो छ ? अबदेखि ‘खराब आदात’ भन्ने तरबारलाई हटाऔं र ‘असल आदत’ भन्ने तरबारलाई हरेक दिन धारिलो बनाऔं । यसरी हामी खराब आदत पछ्याउनुको सट्टा सधैँ असल काम मात्र गर्ने हुन सकौं । खराब आदत हटाउन हिचकिचाउने हिजोको आफूलाई बिर्सौं । अहिले, यो वर्तमान क्षण महत्त्वपूर्ण छ ।

खराब आदत हटाउने तरिका

16:07
0:00 16:07

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।