संसारलाई समेट्ने झ्याल, हाम्रो आँखा

41,924 भ्यु
लेख सुन्नुहोस् 33:11

साहित्य जगतका नोबेल पुरस्कार विजेता ‘जोसे सारामागो’ द्वारा लिखित उपन्यास ‘ब्लाइडनेस’को सुरुवात, एक जना गाडी चलाइरहेका व्यक्ति अचानक दृष्टिविहीन भएको घटनाबाट हुन्छ । त्यसको केही समयपछि उनको हेरचाह गर्ने पत्नी, उपचारका लागि आएको अस्पतालका बिरामीहरू, र उनको उपचार गर्ने नेत्रचिकित्सकसमेत अन्धा हुन थाल्छन् । यो अज्ञात अन्धोपन महामारी जस्तै फैलिन्छ र समाज तीव्र गतिमा ध्वस्त हुन्छ । ‘अन्धाको देशमा काणो राजा’ भन्ने उखानजस्तै, यस उपन्यासले दृष्टिको सामर्थ्यलाई निकै यथार्थपरक ढङ्गमा चित्रण गरेको छ ।

हामी प्रायः दृष्टिको महत्त्वलाई बिर्सिन्छौं । तर हाम्रो आँखा कति महत्त्वपूर्ण छ भन्ने कुरा बुझ्न केवल एकछिन आँखा बन्द गरे पुग्छ । मानिसले प्राप्त गर्ने जानकारीमध्ये करिब ८० प्रतिशत जानकारी दृष्टिबाट प्राप्त हुन्छ । अब हामीलाई संसारसँग जोड्ने जटिल एवं संवेदनशील इन्द्रिय आँखाबारे अध्ययन गरौं ।

एक विशिष्ट र संवेदनशील अङ्ग, आँखा

करिब ७ ग्राम तौल र २.४ सेन्टिमिटर व्यास भएको, पिङपङ बलजत्तै आकारको मानव आँखा वास्तवमा अत्यन्त जटिल जैविक क्यामेरा हो । यसमा फोकस मिलाउने, उज्यालोको मात्रा नियन्त्रण गर्ने, कम्पनका बीच पनि स्पष्ट दृश्य कायम राख्ने, र छविको प्रशोधन गर्ने जस्ता असंख्य उत्कृष्ट क्षमताहरू छन् । कर्नियाबाट प्रवेश गरेको प्रकाशलाई आइरिसले आफ्नो आकार समायोजन गरेर नियन्त्रण गर्छ । त्यसपछि प्रकाश क्रिस्टालाइन लेन्स हुँदै आवर्तित भएर रेटिनामा केन्द्रित हुन्छ । रेटिनामा बनेको छविलाई दृष्टि स्नायुमार्फत मस्तिष्कमा पठाइन्छ, र मस्तिष्कले त्यस सङ्केतको विश्लेषण गरेपछि मात्र वस्तुलाई देख्न सकिन्छ ।

रेटिनामा स्पष्ट छवि बनाउन धेरै प्रक्रियाहरू एकै समयमा ठीकसँग सञ्चालन हुनुपर्छ । कुनै वस्तु देख्नका लागि सबैभन्दा पहिले आफ्नो आँखालाई चलाएर त्यस वस्तुमा ठ्याक्कै केन्द्रित गर्नुपर्छ । मानव आँखामा स्वतन्त्र रूपमा चल्ने ६ वटा मांसपेशी हुन्छन्, जसले माथि, तल, दायाँ, बायाँ र विभिन्न दिशामा आँखा घुमाउन मद्दत गर्दछ । उदाहरणको लागि, अहिले यो वाक्य पढिरहँदा पनि तपाईंको आँखाका मांसपेशीहरू तन्किने र खुम्चिने भइरहेका छन्, जसले गर्दा आँखाको गेडी दायाँ-बायाँ घुमिरहेको हुन्छ ।

शरीर वा टाउको हल्लिँदा पनि आँखा वस्तुमाथि स्थिर रूपमा केन्द्रित रहन्छ । किनभने क्यामराको दृश्य सन्तुलन प्रविधिजस्तै शरीरको कम्पनलाई ध्यानमा राख्दै आँखाको फोकस निरन्तर रूपमा समायोजन भइरहेको हुन्छ । जब अर्धवृत्ताकार नलिहरूले शरीर हलचल भएको दिशा पत्ता लगाएर मस्तिष्कमा सङ्केत पठाउँछन्, तब मस्तिष्कले आँखालाई शरीर हल्लिएको विपरीत दिशामा घुमाउँछ । यसले गर्दा गुडिरहेको वा हल्लिरहेको गाडीभित्र पनि सहजै किताब पढ्न सम्भव भएको हो ।

त्यसपछि उचित मात्रामा प्रकाश प्रवेश गराउन आँखाको नानीको आकार समायोजन गरिन्छ । डोनटजस्तो आकार भएको आइरिसले क्यामराको एपेर्चर (aperture – प्रकाश छिर्ने प्वाल) जस्तै काम गर्छ । उज्यालो कम हुँदा, आइरिस तन्किएर आँखाको नानी ठूलो हुन्छ, जसले गर्दा आँखाभित्र धेरै भन्दा धेरै प्रकाश पस्न पाउँछ । त्यसैगरी उज्यालो धेरै हुँदा आइरिस खुम्चिएर आँखाको नानी सानो हुन्छ, जसले गर्दा आँखाभित्र आवश्यकता अनुसार मात्र प्रकाश पस्न पाउँछ । विस्तृत स्नायुद्वारा नियन्त्रित यो तीव्र प्रतिक्रियालाई ‘प्युपिलरी लाइट रिफ्लेक्स’ भनिन्छ, जुनचाहिँ मस्तिष्कको कार्य सामान्य छ कि छैन भनेर परीक्षण गर्नका लागि प्रयोग गरिन्छ ।

नजिकको वस्तु हेर्दै गर्दा अचानक टाढाको वस्तुतर्फ हेऱ्यो भने पनि आँखाले तुरुन्त फोकस मिलाउँछ । क्यामेराले लेन्सलाई अगाडि-पछाडि सारेर फोकस मिलाएजस्तै मानव आँखाले क्रिस्टालाइन लेन्सको मोटाइ परिवर्तन गरेर फोकस मिलाउँछ । नजिकको वस्तु हेर्दा लेन्ससँग जोडिएका तन्तुहरू खुकुला भएर लेन्स बाक्लो हुन्छ । टाढाको वस्तु हेर्दा ती तन्तुहरूले लेन्सलाई तानेर पातलो बनाउँछन् । हामीले एकै क्षणमा पालैपालो टाढा र नजिक सहजै देख्न सकेको कारणचाहिँ लचिलो क्रिस्टलाइन लेन्सले आफ्नो वास्तविक आकार नगुमाई तुरुन्तै आफ्नो मोटाइ मिलाउन सकेकोले गर्दा हो ।

दुईवटा आँखाले देखिने एउटै संसार

सबै मेरुदण्ड भएका (vertebrate) जीवका दुईवटा आँखा हुन्छन् । आखिर एउटा मात्र नभएर किन दुईवटा आँखा आवश्यक छन् ? एउटा आँखा बन्द गरेर, दुवै हातमा एउटा-एउटा पेन्सिल समात्नुहोस्, त्यसपछि हातहरू फैलाएर फेरि बिस्तारै नजिक ल्याउँदै दुवै पेन्सिलको टुप्पो ठ्याक्कै मिलाउने प्रयास गर्नुहोस् । यसो गर्दा दुईवटा आँखा किन आवश्यक छन् भन्ने कुरा तुरुन्तै बुझ्न सकिन्छ ।

एउटै वस्तुलाई पालैपालो देब्रे र दाहिने आँखाले हेर्दा, देखिने छवि अलि फरक हुन्छ । किनभने दुवै आँखाबीच करिब ६०–७० मिलिमिटरको दूरी हुन्छ, जसका कारण एउटै वस्तुलाई फरक–फरक कोणबाट हेर्ने गरिन्छ । यसलाई द्विनेत्री दृष्टि भिन्नता (Binocular Disparity) भनिन्छ । हामीले वास्तवमा दुई आयामको दृश्य देखिरहेका हुन्छौं, तर यी दुई फरक छविहरूलाई मस्तिष्कले एउटै छविमा मिलाइदिन्छ । त्यसैले हामीले वस्तुलाई त्रि-आयामिक (3D) रूपमा अनुभव गर्न सकेका हौं । यदि कसैले एउटा आँखाले मात्र हेर्छ भने, उसलाई संसार चारैतिर फैलिएको एउटा समतल चित्र जस्तो मात्र लाग्न सक्छ ।

त्रि-आयामिक चलचित्रका लागि प्रसिद्ध Avatar चलचित्र पनि यही सिद्धान्तमा आधारित छ । यो चलचित्रमा दुईवटा क्यामेराद्वारा एकै समयमा फरक-फरक कोणबाट दृश्य खिचिएको थियो । ती दुई दृश्यलाई क्रमशः देब्रे र दाहिने आँखामा देखाइन्छ, जसले बाइनोकुलर डिस्प्यारिटीको प्रयोग गरी त्रि-आयामिक अनुभूति गराउँछ ।

के हामी आँखाले देख्छौं ? होइन, हामी मस्तिष्कले देख्छौं !

भ्रूणविज्ञान र शरीर संरचनाको दृष्टिकोणबाट हेर्ने हो भने आँखा मस्तिष्ककै एउटा भाग हो । किनभने भ्रूणको प्रारम्भिक विकासको क्रममा रेटिना र दृष्टि स्नायु अगाडिको मस्तिष्कबाट नै बनेका हुन्छन्, र आँखा सिधै यही दृष्टि स्नायुमार्फत मस्तिष्कसँग जोडिएको हुन्छ । दृष्टि केन्द्र मस्तिष्कको पछाडि भागमा अवस्थित हुने भएकोले, आँखामा कुनै समस्या नभए पनि टाउकोको पछाडिको भागमा चोट लाग्दा दृष्टि गुम्न सक्छ ।

रेटिनालाई प्रायः क्यामेराको फिल्मसँग तुलना गरिन्छ । यो अत्यन्त संवेदनशील र उच्च गुणस्तरको स्नायु ऊतक हो । रेटिनाभित्र रहेका दृष्टि कोषिकाहरूले प्रकाशको रूपमा आएको जानकारीलाई विद्युतीय सङ्केतमा परिवर्तन गरेर मस्तिष्कमा पठाउँछन् । दृष्टि कोषिकामध्ये ‘रड सेल’ यति संवेदनशील हुन्छ कि यसले एउटै फोटोनको प्रकाशसमेत महसुस गर्न सक्छ । अँध्यारो ठाउँमा उज्यालो र अँध्यारो छुट्याउने मुख्य काम यही कोषिकाले गर्छ । त्यसैले रातको मधुरो उज्यालोमा पनि हामी संसारलाई हल्का भए पनि देख्न सक्छौं । किनभने यो प्रक्रियामा करिब १२ करोड रड सेलहरूले निरन्तर काम गरिरहेका हुन्छन् । एउटा रेटिनामा करिब ६० लाख कोन सेलहरू हुन्छन् । कोन सेलहरू तीन फरक प्रकारका हुन्छन्, जसले क्रमशः रातो, हरियो र नीलो रङप्रति प्रतिक्रिया जनाउँछन् । मस्तिष्कले यी कोन सेलबाट आएका स्नायु सङ्केतहरूलाई एकीकृत गरी विश्लेषण गर्छ, जसले गर्दा मानव आँखाले १० लाखभन्दा बढी रङहरू छुट्याउन सकेको हो ।

कोन सेलहरूकै कारणले गर्दा हामीले संसारलाई स्पष्ट, जीवन्त र रङ्गीन देख्न सकेका हौं । रेटिनामा विद्युतीय संकेतमा परिवर्तन भएको दृश्य जानकारी दृष्टि स्नायुमार्फत मस्तिष्कको पछाडिको भागमा रहेको दृष्टि प्रान्तस्था(Visual Cortex) सम्म पुग्छ । करिब ३० वटा भागहरू मिलेर बनेको यो दृष्टि प्रान्तस्थाले रेखा, किनारा र कुनाजस्ता आधारभूत आकृतिहरू छुट्याउँछ, र आकार, रङ, गति तथा अनुहार पहिचान गर्छ । यी सबै भागहरूले आपसमा सहकार्य गरेर कुनै वस्तुको सम्पूर्ण छवि बुझ्ने काम गर्छन् । यदि रङ छुट्याउने भागले ठीकसँग काम गरेन भने, रङ नदेख्ने समस्या(Color Blindness) नभएको मानिसले पनि संसारलाई कालो र सेतो मात्र देख्नेछन् ।

त्यसै गरी निरन्तर गतिलाई पहिचान गर्ने भागमा समस्या आयो भने, गुँडिरहेको गाडीलाई हेर्दा पनि अचम्मको दृश्य देखिन्छ । त्यो गाडी सहज रूपमा गुडेको नभई रोकिएर चल्ने ‘क्ले एनिमेसन’ जस्तो टुक्रा-टुक्रा परेको तस्बिरमा देखिनेछ । अनि, यदि अनुहार पहिचान गर्ने मस्तिष्कको भागमा समस्या आयो भने अनुहार नचिन्ने रोग(फेस ब्लाइन्डनेस) हुन सक्छ । स्नायु रोग विशेषज्ञ ओलिभर स्याक्सको पुस्तक ‘The Man Who Mistook His Wife for a Hat’मा उल्लेख गरिएझैँ, त्यस्तो व्यक्तिले आफ्नै पत्नीको अनुहारसमेत चिन्न सक्दैन ।

एक समय इन्टरनेटमा एउटा रमाइलो घटना निकै चर्चित भएको थियो । एउटा ‘इमेज सर्च प्रोग्राम’(फोटो खोज्ने सफ्टवेयर)ले चिवावा (Chihuahua) जातको कुकुर र ब्लुबेरी मफिन (Blueberry Muffin) बीचको भिन्नता छुट्याउन सकेन । त्यसले बिरालो र ‘क्यारामेल आइसक्रिम’बीचको भिन्नता पनि छुट्याउन सकेन । तीन वर्षको बच्चाले समेत सजिलै चिन्न सक्ने यस्ता वस्तुहरूलाई कृत्रिम बुद्धिमत्ता (AI)ले छुट्याउन सकेन । आज कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिले पनि मानव दृष्टि प्रणालीको सूचना प्रशोधन प्रक्रियालाई अनुकरण गर्दै छवि विश्लेषण गर्ने क्षमता विकास गरिरहेको छ । तर यसमा पूर्णता हासिल गर्न अझै धेरै समय लाग्ने कुरा आङ्कलन गरिएको छ ।

आजभोलि बजारमा उच्च संवेदनशीलता र उच्च रिजोल्युसन भएका क्यामेरा मात्र होइन, त्योभन्दा पनि एड्भान्स क्यामेराहरू आइसकेका छन् । यी क्यामेराले मानिसको अनुहार चिन्न सक्छन् र उनीहरूलाई फोकस गरेर वा अनुहारको हाउभाउ हेरेर आफैँ फोटो खिच्छन् । अहिले फोटो खिच्ने बेला कसैले आँखा झिम्क्याएमा त्यसलाई थाहा पाएर फोटो बिग्रिन नदिने प्रविधिको समेत विकास भइरहेको छ । यहाँसम्म कि आँखा झिम्क्याएको पहिचान गर्ने र त्यसलाई बेवास्ता गर्ने प्रविधि समेत तीव्र गतिमा लागू भइरहेको छ । भर्चुअल रियालिटी (VR) र थ्रीडी टिभी (3D TV) जस्ता अत्याधुनिक दृश्य प्रविधिहरू पनि मानव दृष्टि प्रणालीको त्रि-आयामिक अनुभूति र प्राकृतिक रङ पहिचान गर्ने धारणाको सिको गर्नका लागि विकास भइरहेका छन् ।

तर यस्ता अद्भुत प्रविधिहरू त हाम्रो आँखामा धेरै पहिलेदेखि नै प्रयोग भइरहेका थिए । हामीले यसको वास्तविकता भने हालसालै मात्र बुझ्न थालेका हौं । आँखाको सूक्ष्म संरचना र दृष्टि निर्माण गर्ने सम्पूर्ण प्रक्रिया साँच्चै नै आश्चर्यजनक छ । कर्नियादेखि दृष्टि प्रान्तस्थासम्मका सबै अङ्गहरूले एकै क्षणमा पूर्ण समन्वयका साथ काम गरेपछि मात्र दृष्टि भन्ने यो अत्यन्त सूक्ष्म र जटिल इन्द्रिय सम्भव हुन्छ । हामीले लामो समयदेखि आफ्ना आँखामार्फत यो संसारलाई हेरिरहेका छौं । तर हाम्रो दृष्टि यति अद्भुत छ भन्ने कुरा हामीले खासै महसुस गरेनौं । वर्तमान समयमा विकसित हुँदैगएका विविध क्यामेरा र अत्याधुनिक दृश्य प्रविधिहरूले मानव शरीरको हेर्ने क्षमता कति आश्चर्यजनक छ भन्ने कुरा सोच्नका लागि हामीलाई बाध्य बनाएको छ ।

जसले कान दिनुभयो, के उहाँ सुन्नुहुन्न र ? जसले आँखा सृजनुभयो, उहाँले देख्नुहुन्न र ? भज ९४:९

“आँखा शरीरको बत्ती हो । यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ । तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ । यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ ! मत्ती ६:२२-२३

​सन्दर्भ
काङ कुम-हुई र ली से-योङद्वारा जापानीबाट कोरियालीमा अनुवादित, सेन्सेस: अमेजिङ मेकानिजम (Senses: Amazing Mechanism), न्युटन प्रेस जापान, सन् २०१५
काङ कुम-हुई र ली से-योङद्वारा जापानीबाट कोरियालीमा अनुवादित, ह्युमन बडी: २१स्ट सेन्चुरी एनाटोमी (Human Body: 21st Century Anatomy), न्युटन प्रेस जापान, सन् २००६
ली एन-हुई, हरिहाराज आइ स्टोरी (Harihara’s Eye Story), हान्क्योरह प्रेस, सन् २०१६
तात्सुओ साकाइ, युन ह्ये-रिमद्वारा जापानीबाट कोरियालीमा अनुवादित, एनाटोमी, द सिक्रेट हिडन इन माइ बडी (Anatomy, the Secret Hidden in My Body), जोन्नामुसुप, सन् २०१९

संसारलाई समेट्ने झ्याल, हाम्रो आँखा

33:11
0:00 33:11

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।