धन्यवादद्वारा पूरा हुने सुसमाचारको चमत्कार
“धन्यवाद !”
योचाहिँ पसलबाट सामान किनेर फर्कँदा प्रायः सुनिने शिष्टाचारको बोली हो । यो शब्दले सबैलाई प्रभावित तुल्याउँछ, र फेरि केही सामान किन्नुपर्दा पुनः त्यही पसलमा फर्केर जान मन लाग्छ । हामीले अरूलाई धन्यवाद दिँदा पनि उस्तै हो । कसैले हाम्रो भलाइ गरिदिँदा वा सहयोग गर्दा धन्यवाद व्यक्त गऱ्यो भने उनीहरूले मात्र होइनकि, हामी आफूले पनि आनन्द महसुस गर्छौं ।
भनिन्छ, दैनिक जीवनमा धन्यवाद चढाउने सानो आदत पनि मानिसभित्र रहेको असीम क्षमता विकास गर्ने एउटा स्रोत हो । धन्यवादको शक्ति सञ्चय गर्दै गयो भने, यसले हाम्रो जीवनमा चमत्कार ल्याउन सक्छ ।

धन्यवादको शक्ति
विदेश जाँदा हामीले सबैभन्दा पहिले सिक्ने शब्द नै “धन्यवाद” हो । प्रायः आमाहरूले आफ्ना छोरा-छोरीलाई “बुबा-आमा” भन्न सिकाएपछि “धन्यवाद” भन्न सिकाउँछन् । धन्यवाद व्यक्त गर्नुचाहिँ सबै मानिसहरूको लागि आधारभूत शिष्टाचार हो ।
महत्त्वपूर्ण कुराचाहिँ आधारभूत शिष्टाचारमा हामीले बेवास्ता गर्न नसकिने शक्ति लुकेको हुन्छ । धन्यवाद नचढाउने मानिसको तुलनामा, सबै परिस्थितिमा धन्यवाद चढाउने मानिसले आफ्नो जीवनप्रति अझ बढी सन्तुष्ट र खुसी महसुस गर्छ ।
धन्यवादी सोचाइले मानिसमा कस्तो प्रभाव पार्छ भनेर बुझ्नको लागि दुई जना मनोवैज्ञानिकले एउटा रोचक परीक्षण गरे । उनीहरूले सहभागीहरूलाई तीन समूहमा विभाजन गरेर एक हप्तासम्म भिन्न परिस्थितिबारे सोच्न लगाए । पहिलो समूहले धन्यवादी हुनुपर्ने कुरा र व्यवहारबारे सोचे, दोस्रो समूहले अप्रिय कुरा र व्यवहारबारे सोचे, अनि तेस्रो समूहले सामान्य घटनाहरूबारे सोचे । परिणामस्वरूप धन्यवादी हुनुपर्ने कुरा सोचेको समूह अरू समूहभन्दा अझ बढी खुसी देखिए । परीक्षणलाई एक वर्षसम्म लम्ब्याउँदा पनि परिणाम उस्तै रह्यो । धन्यवादी मन भएका मानिसहरू तनावपूर्ण अवस्थामा पनि कम रिसाउँथे, कम चिन्तित हुन्थे, सकारात्मक सोचाइ लिएर अरूलाई सहयोग गर्थे, र छिट्टै निराशालाई जित्थे ।
धन्यवादको शक्ति मनोविज्ञानमा मात्र सीमित छैन । सबै परिस्थितिमा धन्यवादी हुने मानिसहरूमा रोग प्रतिरोधात्मक क्षमता अझ बलियो हुन्छ, र औसतमा धन्यवादी नहुने मानिसहरूभन्दा धन्यवादी हुने मानिसहरू करिब दश वर्ष बढी बाँच्छन् ।
धन्यवादी हुनु भनेको जीवनको वास्तविक परिस्थितिहरू तुरुन्तै राम्रो हुन्छ भन्ने होइन । यद्यपि धन्यवादी हुने मानिसहरूले दैनिक जीवनमा घट्ने प्रत्येक घटनामा सकारात्मक पक्षहरू खोज्छन् । यो नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो । परिवर्तन गर्न नसकिने परिस्थितिहरू बदल्ने आशा गर्नुको सट्टा, उनीहरू कठिन परिस्थितिमा आफूलाई त्यसैअनुसार अनुकूल बनाउँछन् । जस्तोसुकै परिस्थितिमा पनि धन्यवादी हुन खोज्ने मानिसहरूले राम्रो परिणाम पाउने सम्भावना अझ धेरै हुन्छ, अनि धन्यवादी नहुने मानिसहरूभन्दा धन्यवादी हुने मानिसहरूले आफ्नो इच्छा पूरा गरेका उदाहरणहरू पनि धेरै छन् ।
बाइबलमा धन्यवादको शक्ति अनुभव गरेका व्यक्तिहरू सजिलै भेट्न सकिन्छ । तीमध्ये एक नै इस्राएलका दोस्रो राजा दाऊद हुन् । तिनले परमेश्वरलाई निरन्तर धन्यवाद चढाए । भजनसंग्रहको पुस्तकचाहिँ परमेश्वरप्रतिको धन्यवाद र प्रशंसाले भरिएको छ । दाऊदले एउटै अध्यायमा दर्जनौँ पटक धन्यवाद चढाएका छन् । परमेश्वरले दाऊदको लागि गर्नुभएका कार्यहरूको निम्ति मात्र नभएर, आफ्ना पुर्खाहरूका लागि गर्नुभएका कार्यहरूको निम्ति पनि धन्यवाद चढाए । उदाहरणको लागि, परमेश्वरले लाल समुद्रलाई दुई भाग पार्नुभएको कार्य र कनानका राजाहरूलाई परास्त गर्नुभएको कार्यहरू याद गर्दै दाऊदले परमेश्वरलाई धन्यवाद चढाए । त्यसैले परमेश्वरले दाऊदलाई किन यति धेरै प्रेम गर्नुभएर “मेरो हृदयअनुसारको मानिस” भन्नुभएको हो भन्ने कुरा हामी सजिलै बुझ्न सक्छौं (प्रेरित १३:२२) ।
दुई हजार वर्षअघि येशूज्यूले दश जना कुष्ठरोगीलाई निको पारिदिनुभएको थियो । तर तिनीहरूमध्ये एक जनाले मात्र धन्यवाद चढायो र मुक्तिको आशिष् पायो (लूका १७:११-१९) । हामीले पनि अरूप्रति हृदयदेखि धन्यवाद व्यक्त गऱ्यौं भने त्यो धन्यवाद बुमरेङजस्तै हामीकहाँ नै फर्कन्छ र अद्भुत आशिष् ल्याउँछ । यो नै धन्यवादको शक्ति हो ।
धन्यवाद चढाउन बिर्सँदा गुनासो र असन्तुष्टि उत्पन्न हुन्छ
मानिसहरूले धन्यवादको साँचो शक्ति अनुभव गर्न नसक्नुको कारणचाहिँ उनीहरूले सजिलैसित धन्यवाद चढाउन बिर्सने भएकाले हो । भनिन्छ “सबैभन्दा कठिन हिसाब भनेको आफूले पाएका आशिष्हरूको गन्ती गर्नू हो ।” यो भनाइमा आफूले पाएका आशिष्हरूलाई सामान्य ठान्ने मानिसहरूको मनोवृत्तिलाई व्यङ्ग्य गरिएको छ ।

कुनै एक व्यक्तिले धन्यवादी हुन बिर्सने मानिसहरूको मनोवृत्ति बुझ्नको लागि रोचक परीक्षण गरे । तिनले प्रत्येक बिहान एउटा गाउँमा गएर सबै घरको ढोकामा दश डलर राखिदिए । सुरुका केही दिन गाउँलेहरूले शङ्का गरे पनि निकै धन्यवादी भए । तर समय बित्दैजाँदा उनीहरूले त्यसलाई स्वाभाविक ठान्न थाले । एक महिनापछि ती व्यक्तिले कुनै घरको ढोकामा पनि पैसा नराखी गए । तब गाउँलेहरू गुनासो गर्दै तिनीसँग रिसाउन थाले । उनीहरूले प्रत्येक दिन दश डलर पाउनु आफ्नो अधिकार हो भनेर सोचेका थिए ।
उस्तै घटना बाइबलमा पनि देख्न सकिन्छ । चार सय वर्षसम्म मिश्रमा दास भएका इस्राएलीहरूले छुटकाराको निम्ति परमेश्वरसँग बिन्ती गरे । परमेश्वरले तिनीहरूको पुकार सुन्नुभयो, अनि मोशामार्फत तिनीहरूलाई मिश्रबाट छुटकारा दिनुभएर कनानतर्फ डोर्याउनुभयो । त्यसबेला तिनीहरूले परमेश्वरलाई निरन्तर धन्यवाद चढाए । उजाड-स्थानमा पुग्दासम्म पनि तिनीहरू धन्यवादी थिए, किनभने मिश्रबाट निस्केको करिब एक महिनापछि खानोकुराको अभाव हुँदा परमेश्वरले प्रत्येक दिन स्वर्गबाट मन्न वर्षाउनुभयो (प्रस्थान १६) ।
तर तिनीहरूको धन्यवादी मन लामो समयसम्म टिकेन । सुरुमा महजस्तो स्वाद भएको मन्न तिनीहरूलाई मिठो लाग्थ्यो । तर दिनहुँ मन्न मात्र खाँदा तिनीहरूले त्यसलाई “तुच्छ खानेकुरा” भन्न थाले (गन्ती २१:५) । यात्रामा अधीर भएर तिनीहरूले परमेश्वर र उहाँले छान्नुभएको मोशाविरुद्ध गनगन गर्न थाले । तिनीहरूले पानी नभएको बेला र घुमाउरो बाटो हिँड्नुपरेको बेला असन्तुष्ट भएर गनगन गरे । वर्तमानका साना असुविधामा अल्झिएर तिनीहरूले भोकाएको बेला स्वर्गबाट झारिदिनुभएको खानेकुरा, तिर्खाएको बेला चट्टानबाट निकालिदिनुभएको पानी, चालीस वर्षसम्म नफाटेका लुगा र ४० वर्षसम्म खुट्टा नसुन्निने गराउनुभएको सबै आशिष् बिर्सिए । निरन्तर गनगन र गुनासो गरेकाले अन्ततः तिनीहरू प्रतिज्ञा गरिएको कनानमा प्रवेश गर्न सकेनन् ।
यस पृथ्वीमा फालिनुअघि हामीले स्वर्गमा धन्यवाद बिर्सिएकाले पाप गऱ्यौं । अनगिन्ती स्वर्गीय महिमा र आशिष्हरू पाए तापनि हामी धन्यवादी हुन सकेनौं । असन्तुष्टिको एउटा सानो बीउले ठूलो पाप उब्जायो, र अन्ततः हामी सबैले स्वर्गीय महिमा गुमायौं ।
एउटा खाली ठाउँ कुनै न कुनै कुराले भरिन्छ । जहाँ धन्यवाद हुँदैन त्यहाँ गुनासोले ठाउँ ओगट्छ । अनि त्यसको परिणाम पनि दुःखद हुन्छ ।
धेरै पाउन चाहने र सन्तुष्ट नहुने, यो पनि धन्यवादी मन सजिलै हराउने कारण हो । अझ आरामदायी जीवन र अझ राम्रो वस्तुहरू पाउने इच्छाले हाम्रो हृदयमा धन्यवाद उम्रन दिँदैन । योचाहिँ घाँसको एउटा सानो पात पनि उम्रन नसक्ने बाँझो जमिनजस्तै हो ।
त्यसोभए हाम्रो हृदयलाई न्यानो बनाउने धन्यवाद, सजिलै नबिर्सने तरिका के होला ?

यो प्रश्नको उत्तर पत्ता लगाउनको लागि अमेरिकाको अनुसन्धान टोलीले एउटा परीक्षण गर्यो । उनीहरूले सहभागीहरूलाई प्रत्येक दिन धन्यवाद चढाउन सकिने कुराहरू खोज्न र गन्न लगाए । सहभागीहरूले दिनभरि घटेका तीन वटा राम्रो घटनाहरू र आफूले त्यो आशिष् पाउनुको कारण लेखे । ६ महिनापछि सहभागीहरूले आफू पहिलाभन्दा अझ खुसी भएको कुरा बताए । धन्यवादको अभ्यासले सहभागीहरूलाई पहिला ध्यान नदिएको दैनिक जीवनका स-साना कुराहरूमा पनि खुसी खोज्न मद्दत गऱ्यो ।
प्रसिद्ध अमेरिकाकी टक सोकी सञ्चालिका ओप्रा विन्फ्रेले पनि हाम्रो दैनिक जीवनमा धन्यवादी हुनुपर्ने कुराहरू असङ्ख्य हुन्छन् भनेकी छिन् । उनले “हामीले प्रत्येक दिन धन्यवादी भएका कुराहरू लेख्नुपर्छ” भनेर सल्लाह दिएकी छन् । उनले पनि बाल्यकालदेखि नै धन्यवादी हुनुपर्ने कुराहरू खोज्ने बानी बसालेकी थिइन् ।
विशेषज्ञहरूले एउटै स्वरमा यसो भन्छन्, विभन्न तरिकाहरू अपनाएर धन्यवादको मनोभाव राख्नु राम्रो त हो, तर धन्यवादी हुन अभ्यास गर्दा एउटा महत्त्वपूर्ण कुरा याद गर्नुपर्छ । त्यो नै आफूलाई अरूसँग तुलना नगर्नु हो ।
धन्यवादको ठीक विपरीत असन्तुष्टिको भाव ‘तुलना’ गर्ने कार्यबाट सुरु हुन्छ । आफूभन्दा राम्रो अवस्थामा भएका मानिसहरूसँग आफूलाई तुलना गरियो भने धन्यवादी हुन गाह्रो हुन्छ । तर अरूसँग तुलना गर्ने प्रलोभनबाट मुक्त हुँदा आफूले पाएका राम्रा कुराहरू सजिलै देख्न सकिन्छ, र त्यसप्रति धन्यवादी हुन सकिन्छ ।
धन्यवादद्वारा पूरा हुने सुसमाचारको चमत्कार
एउटा यस्तो ठाउँ छ जहाँ संसारका अन्य ठाउँहरूभन्दा बढी धन्यवाद पोखिन्छ । त्यो ठाउँ नै सियोन हो । यहाँ परमेश्वरका प्रजाहरू बस्छन् । सियोनका प्रजाहरूले आफ्ना सबै पापहरू क्षमा गर्नुभएर मुक्तिको आशिष् दिनुभएका परमेश्वरलाई सधैँ धन्यवाद चढाउँछन् । संसारमा आउने सबै विपत्तिबाट निरन्तर रक्षा गर्नुभएकोमा पनि उनीहरूले धन्यवाद चढाउँछन् । साथै बोल्नमा कमजोर र अनभिज्ञहरूलाई चुन्नुभएर सुसमाचारको जिम्मा दिनुभएका, अनि स्वर्गीय महान् इनाम दिने प्रतिज्ञा गर्नुभएका परमेश्वरलाई धन्यवाद चढाउँछन् । यस्तो धन्यवादको शक्तिले सुसमाचारमा अझ महान् चमत्कारहरू उत्पन्न गर्छ । यसको एउटा स्पष्ट उदाहरण नै विदेशका परमेश्वरको मण्डलीहरूमा भइरहेको अद्भुत सुसमाचार कार्य हो । कठिन परिस्थितिमा पनि त्यहाँका सन्तानहरूले मुक्तिको आशिष् दिनुभएका परमेश्वरलाई हृदयदेखि धन्यवाद चढाउँछन् र उत्साहपूर्वक सुसमाचार प्रचार गर्छन् । त्यसैले उनीहरू जहाँ गए पनि आनन्दसाथ असल फलहरू कटनी गर्छन् ।
एउटै काम भए पनि धन्यवादसाथ गरिरहेको छ कि गनगनसाथ गरिरहेको छ भन्ने कुराले ठूलो भिन्नता ल्याउँछ । अनि धन्यवादले भरिएको आराधना र धन्यवाद नभएको आराधनाबीच ठूलो भिन्नता हुन्छ । त्यसैगरी धन्यवादको मनले गरिने स्वयंसेवा र धन्यवादविना गरिने स्वयंसेवाबीच पनि मनोभाव र त्यसद्वारा पाइने आशिष्मा पनि ठूलो भिन्नता हुन्छ ।
हामीले चाहेका आशिष्हरू र सुसमाचारका लागि आशा गरेका चमत्कारहरू सधैँ धन्यवाद भरिएको ठाउँमा पूरा हुन्छ । त्योचाहिँ हृदय जाँच्नुहुने परमेश्वरले धन्यवादसाथ उहाँकहाँ आउने आफ्ना सन्तानहरूमाथि सबै आशिष्हरू खन्याउनुहुने भएकोले हो ।
कुनै कुरामा चिन्तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होऊन्, र समझले नै भियाउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ । फिलि ४:६-७
“धन्यवाद”चाहिँ आत्मिक महसुसको प्रमाण हो । हामीलाई परमेश्वरको इच्छा थाहा छ भन्नुको सट्टा, पहिला हामी परमेश्वरप्रति धन्यवादी छौं कि छैनौं भनेर आफैँलाई जाचौं । सुसमाचार प्रचार गर्दा आनन्दभन्दा बढी थकान महसुस हुन्छ भने, हाम्रो हृदयमा धन्यवादको कमी छ कि भनेर जाँच्नुपर्छ ।
हामीले एकै क्षणको लागि आफ्नो वरिपरि हेऱ्यौं भने धन्यवाद चढाउनुपर्ने धेरै कुराहरू सजिलै भेट्न सक्छौं । उदाहरणको लागि, यो ताजा हावा, न्यानो घाम, शीतल बतास आदि । प्रकृतिले दिएको यस्ता वरदानहरू उपभोग गर्न पाउनु कति ठूलो आशिष् हो । हाम्रो हृदय अझै धड्किरहेको छ, र हामी आफ्नै खुट्टाले सडकमा हिँड्न सक्छौं । यी कुराहरूको लागि पनि हामी धन्यवादी हुनुपर्छ ।
दाऊदले जस्तै हामी पनि प्रत्येक दिन आफूले पाएका आशिष्हरूको मूल्य बुझ्दै ती गन्ने गरौं । अनि कुनै पनि आशिष् नगुमाईकन परमेश्वरलाई सधैँ धन्यवाद चढाऔं । साथै धन्यवादी मनद्वारा परमेश्वरलाई महिमा दिँदा त्यो महिमा अन्ततः आफूमा नै फर्कन्छ भन्ने कुरा सधैँ याद राखौं ।
सधैँ आनन्दित रहो । निरन्तर प्रार्थना गरिरहो । सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो । १ थेस ५:१६-१८