कपालको एउटा रेसाले भन्न खोजेको कुरा

60,518 भ्यु
लेख सुन्नुहोस् 34:01

हालसालै, आधारभूत विज्ञान संस्थान (IBS) को क्वान्टम सूक्ष्म विज्ञान केन्द्रले परमाणु आकारको1 भण्डारण माध्यम आविष्कार गरेर सम्बन्धित क्षेत्रहरूमा ठूलो सफलता हासिल गरेको छ । अहिले हामी २० औँ शताब्दीको सूक्ष्म युग पार गर्दै २१ औँ शताब्दीको अतिसूक्ष्म (नानो) युगमा प्रवेश गरिरहेका छौं ।

१. नानो मापनको आकार । सन्दर्भको लागि, १ नानोमिटर (nm) भनेको १ मिटरको एक अरब भागको एक भाग हो ।

सयौँ वर्षको अनुसन्धानपछि पत्ता लागेको त्यो एकदमै सूक्ष्म र उत्कृष्ट भण्डारण क्षेत्र, वास्तवमा पहिलादेखि नै हाम्रो शिरमा रोपिएको रहेछ । त्यो कुरा अरू केही नभएर हाम्रो कपाल हो ।

मानिस जन्मनुभन्दा अघि नै कपाल उम्रिन थाल्छ । गर्भधारण भएको सातौँ हप्तामा छालाको तन्तुमा रौँ2 पलाउने स-साना प्वालहरू (हेयर फोलिकल्स) देखिन थाल्छन् । गर्भावस्थाको १० देखि १३ हप्ताको आसपासमा तालुमा कपाल उम्रिन सुरु हुन्छ र २० हप्तामा आँखीभौं र परेलाहरू देखा पर्न थाल्छन् । यो समयमा ‘ल्यानुगो’ नाउँको नरम र मसिनो रौँले भ्रूणको शरीर ढाकिएको हुन्छ । ३३ देखि ३७ हप्ताको बीचमा ती मसिना रौँहरू झर्छन् र कपालका रेसाहरू अझ बाक्ला हुँदैजान्छन् ।

२. कपालको जरालाई घेरेर कपाललाई पोषण प्रदान गर्ने छालाको तन्तु

कपाल अति नै बाक्लो, पातलो, लामो, वा छोटो भयो भने जीवनभरि नै यस विषयमा धेरै चिन्ता लाग्छ । हामीमा कपाल किन हुन्छ र यसको भूमिका के हो ? कपालको एउटा पातलो रेसाले बताउने कथा सुनौं ।

कपालद्वारा मस्तिष्कको सुरक्षा

जीव विज्ञानले मानिसलाई वानर प्रजातिमा वर्गीकरण गरेको छ । मानिसलाई वानर प्रजातिका अन्य जनावरहरूबाट अलग गर्ने मुख्य विशेषताहरूमध्येको एक नै छालामा खासै रौँ नहुनु हो । मानिसहरूको शिरमा कपाल र मुखमा दाह्री भए पनि चिम्पान्जी र ओराङ्गुटानको तुलनामा उनीहरूको छाला चिल्लो हुन्छ । यस्तो हुनुको कारण के होला ?

शरीरको आकारको तुलनामा मानिसको मस्तिष्क अन्य सबै जनावरहरूको भन्दा ठूलो हुन्छ । मस्तिष्कको तन्तु गर्मीप्रति निकै संवेदनशील हुने भएकोले शरीरको तापक्रम १०४°F (४०°C) पुग्दा अंसुघात (हिट स्ट्रोक) हुन सक्छ र तापक्रममा २°C मात्रै वृद्धि हुँदा पनि मस्तिष्कको मृत्यु हुन सक्छ । ज्यान जाने जोखिमपूर्ण अवस्थाबाट बच्नका लागि, शरीरको भित्री तापक्रम3 सामान्यभन्दा माथि बढ्नुअघि नै शरीरले गर्मी (ताप) बाहिर फाल्नुपर्छ । यदि अन्य वानर प्रजातिका जनावरहरजस्तै मानिसको छालामा पनि बाक्लो रौँ भएको भए तापको प्रवाह रोकिने थियो र शरीरको तापक्रम नियन्त्रण गर्न कठिन हुने थियो ।

३. मस्तिष्कको तापक्रमलाई प्रभाव पार्ने मुटुमा भएको रगतको तापक्रम

वैज्ञानिकहरूका अनुसार सुरुवाती मानिसहरूको छालामा धेरै रौँ हुन्थ्यो । त्यो समयमा १० देखि २० मिनेट मात्र हिँड्दा पनि अंसुघात हुने सम्भावना हुन्थ्यो, तर अहिले मानव शरीरमा आवश्यक रौँ मात्र बाँकी छन् । यसको कारण स्पष्ट रूपमा पत्ता नलागे पनि, यसले मानिसहरूलाई आफ्नो शरीरको तापक्रम ३६.५ डिग्री सेल्सियसमा सन्तुलित राख्न र मस्तिष्कका तन्तुहरूलाई जोगाउन महत्त्वपूर्ण योगदान पुऱ्याएको छ ।

शरीरको बाँकी भागमा रहेका रौँहरूमध्ये शिरको कपालले मानिसको शरीरको सबैभन्दा माथिल्लो भागलाई ढाक्छ, जसले मस्तिष्क र शिरको छालालाई बाहिरी संसारबाट जोगाउँछ । जब टाउको कतै ठोक्किन्छ, तब कपालले शरीरको पहिलो रक्षापंक्तिको रूपमा काम गर्छ । यसले मस्तिष्कलाई प्रत्यक्ष असर नपरोस् भनेर धक्काको प्रभाव नियन्त्रण गर्ने कुसनको भूमिका खेल्छ । कपालले गर्मी याममा सूर्यको चर्को पराबैजनी किरणहरूबाट तालुलाई जोगाउन मद्दत गर्छ र जाडो याममा शरीरको तापलाई बाहिर निस्किनबाट रोकेर चिसो सहन मद्दत गर्छ ।

कपाल किन झर्छ ?

कपाल र मानवजातिको सम्बन्ध निकै पुरानो हो । यद्यपि, यो नियन्त्रण गर्नै नसकिने गरी झर्छ । कहिलेकहीँ एक-दुई वटा कपाल झर्छन् भने कहिलेकहीँ मुठीभरि कपाल झर्छन् । कपाल कहिल्यै नझरे त राम्रो हुन्थ्यो, तर यो किन झरिरहन्छ होला ?

कपाल झर्नुको प्रमुख कारण नै मानव शरीरमा भएको प्रत्येक रौँको आफ्नै आयु हुने भएकोले हो । एउटै बोटका घण्टी फूलहरू लगातार फुल्दै झर्दै गरेजस्तै, शिरको रौँसहित सबै रौँहरू निश्चित समयावधिपछि झर्छन् र त्यसै ठाउँमा उम्रन्छन् । यी तीन पुनरावर्ती चरणहरू अर्थात् एनाजेन, क्याटाजेन, र टेलोजेनलाई ‘कपालको जीवनचक्र’ भनिन्छ । शिरको कपालको वृद्धि चरण ६ वर्षसम्मको हुन्छ । यसको विपरीत, आँखीभौं, परेला र ल्यानुगो जस्ता अन्य प्रकारका रौँहरूको चक्र ६ महिनाभन्दा कमको हुन्छ र तिनीहरू शिरको कपालको तुलनामा आधा गुणा कम गतिमा बढ्छन् । यसैकारण तिनीहरू शिरको कपालभन्दा धेरै छोटा हुन्छन् ।

कपाल पलाउने र बढ्ने समय (एनाजेन फेज) दुईदेखि छ वर्षको हुन्छ । यो अवधिमा रौँ पलाउने फेदका स्टेम सेलहरू निकै सक्रिय भएर विभाजित हुन्छन् । सामान्यतया, कपाल दैनिक ०.४ मिलिमिटर, महिनामा १ सेन्टिमिटर र वर्षमा १५ सेन्टिमिटर जति बढ्छ । तर, कपाल कति छिटो बढ्छ भन्ने कुरा महिला वा पुरुष (लिङ्ग), उमेर, जातजाति, स्वास्थ्यको अवस्था र मौसम जस्ता विभिन्न कुराहरूमा भर पर्छ ।

कपाल बढ्ने चरण पार गरेपछि यो केही हप्ताका लागि ‘क्याटाजेन’ चरणमा प्रवेश गर्छ, जहाँ कपालका लगभग सबै कोषिकाहरू मर्छन् । त्यसपछि नयाँ कपाल पलाउनका लागि फेरि नयाँ कोषिकाहरू बन्न थाल्छन् । ४ देखि ६ महिनासम्म रहने ‘टेलोजेन’ चरणमा पुगेपछि कोषिकाहरू विभाजित हुन छाड्छन् र कपाल झर्छ । यसबेला कपाल पलाउने फेदले थकाइ मार्छ र फेरि सुरुदेखि कपाल पलाउने नयाँ चक्रका लागि तयार हुन थाल्छ ।

सामान्यतया, हाम्रो ८५% कपाल एनाजेन चरणमा हुन्छ र १५% कपाल क्याटाजेन वा टेलोजेन चरणमा हुन्छ । धेरै मानिसहरूले हरेक बिहान कपाल झरेको देख्दा चिन्तित हुँदै सुस्केरा हाल्ने गर्छन्, तर औसतमा मानिसको शिरमा कपालका करीब १,००,००० रौँ हुने कुरालाई विचार गर्ने हो भने प्रत्येक दिन ५० देखि १०० वटा कपाल झर्नु सामान्य हो ।

पातला तर बलिया, कपालका तीन तहहरू

शिरको छालाभन्दा माथि देखिने कपालको भाग, जसलाई मानिसहरूले सामान्यतया कपाल भनेर बुझ्दछन्, त्यसलाई हेयर साफ्ट भनिन्छ । बाँकी रहेको कपाल, जुन छालाभित्र रौं पलाउने सानो प्वालमा जोडिएको हुन्छ, त्यसलाई ‘हेयर रुट’ भनिन्छ । हेयर शाफ्टको व्यास सामान्यतया ५० देखि १०० (माइक्रोमिटर4) हुन्छ र यो तीनवटा तहहरू मिलेर बनेको हुन्छ ।

४. १ माइक्रोमिटर भनेको १ मिटरको १० लाख भाग हो ।

कपालको बाहिरी भाग क्युटिकल, कोर्टेक्स र मेडुला मिलेर बनेको हुन्छ । कपालको सबैभन्दा भित्री तह, अर्थात् मेडुला हावाले भरिएको हुन्छ । यसमा जति धेरै हावा हुन्छ, कपाल त्यति नै चम्किलो देखिन्छ । मेडुला असमान माहुरीको चाकाजस्तो आकारका कोषिकाहरूले बनेको हुन्छ र यो सामान्यतया बाक्लो कपालमा पाइन्छ ।

कपालको ८०% भाग ओगट्ने कोर्टेक्सले कपालको लचिलोपन, मजबुती, बनोट र रङ निर्धारण गर्दछ । कोर्टेक्समा हुने कोषिकाहरूले बाक्लो केराटिन फिलामेन्ट बनाउँछन्, जसले कपाललाई शक्ति र लचकता प्रदान गर्दछ । कपालको रङलाई असर गर्ने यूमेलानिन (Eumelanin) र फेओमेलानिन (pheomelanin) पनि कपालको कोर्टेक्स तहमै पाइन्छन् । सामान्यतया, उत्तर-पूर्वी एसियालीहरूमा यूमेलानिन बढी हुन्छ र उत्तरी युरोपेलीहरूमा फेओमेलानिन बढी हुन्छ, जसले गर्दा जाति वा समुदायअनुसार कपालको रङ फरक-फरक भएको हो । मेलानिनको मात्रा घट्दा कपाल सेतो हुन्छ, जुन कपालको वास्तविक रङ हो । कपाल फुल्ने वा सेतो हुने दर व्यक्तिअनुसार फरक भए तापनि यो प्रक्रिया सबैको जीवनमा घट्ने गर्दछ ।

कपालको सबैभन्दा बाहिरी तह क्युटिकल हो, जसको मोटाइ ०.३ देखि ०.५ माइक्रोमिटर (μm) हुन्छ । केराटिन उत्पादन गर्ने एपिडर्मल कोषिकाहरू माछाका कत्लाहरूजस्तै एकमाथि अर्को खप्टिएर रहेका हुन्छन्, तिनीहरूले कपालको भित्री भागलाई ढाक्छन् र यसलाई ताप, प्रकाश र रसायन जस्ता बाह्य असरहरूबाट जोगाउँछन् । यी कोषिकाहरूको बनोट कपालको फेदबाट टुप्पोतिर फर्केको हुन्छ, जसले गर्दा हानिकारक कीराहरू टाउकोको छालासम्म उक्लिन पाउँदैनन् । वास्तवमा कपाललाई समातेर तलतिर सुम्सुम्याउँदा चिल्लो महसुस हुन्छ, तर यसलाई उल्टो दिशााम सुम्सुम्याउँदा चाहिँ त्यति चिल्लो हुँदैन ।

यस्तो तीन तहे संरचनाले कपाल पातलो देखिए पनि यसलाई बलियो बनाउँछ । ग्रिम ब्रदस्को ‘रापुन्जेल’ नामक परीकथामा बोक्सी र राजकुमार मुख्य पात्रको लामो कपाल समातेर धरहराको टुप्पोमा चढ्छन् । यो सुन्दा बेतुका कथाजस्तो लाग्न सक्छ, तर कपालको एउटा रेसाको शक्ति हामीले सोचेभन्दा बलियो हुन्छ । हुन त, कपालको मोटोपन, रुखोपन,पोषण र भित्र भएको चिसोपनको मात्राअनुसार यो क्षमता फरक पर्न सक्छ, तर सामान्यतया कपालको एउटै रेसाले पनि १५० ग्रामसम्मको तौल थाम्न सक्छ । यही कुरालाई आधार बनाएर रापुन्जेलको टाउकोमा १ लाख वटा रेसा भएको कुरालाई मान्ने हो भने उसको कपालले १५ टनसम्मको वजन सजिलै थेग्न सक्छ ।

एउटै रेसाबाट मिल्ने जानकारी

आजभोलि घटनास्थलमा खसेको कपालकै भरमा अपराधीहरू पक्राउ पर्छन्, अनि बाबुआमा र छोराछोरी बीचको रगतको नाता पनि कपालकै माध्यमबाट पत्ता लगाइन्छ । वास्तवमा भन्ने हो भने, कपालको एउटै रेसाभित्र पनि अथाह जानकारी लुकेको हुन्छ ।

DNA अणु श्रृंखला एक व्यक्तिदेखि अर्को व्यक्तिमा फरक हुने भएकाले, यसलाई औंठाछापजस्तै गरी व्यक्ति पहिचान गर्न प्रयोग गर्न सकिन्छ । अवशेषका रूपमा रहेका शारीरिक कोषहरू मिलेर बनेको कपालको जरामा पनि DNA हुन्छ । त्यसैले DNA निकालेर त्यसको जीनको विश्लेषण गरी जुन व्यक्तिको कपाल हो, त्यो व्यक्तिको लिङ्ग, उमेर, उचाइ, शारीरिक बनावट र हुनसक्ने रोग समेत अनुमान गर्न सकिनछ । पहिलेका प्रविधिहरूबाट माइटोकोन्ड्रियल DNA मात्र अलग गर्न सम्भव थियो । तर अहिले मानिसहरूले न्यूक्लियर वा जेनोमिक DNA अलग गर्ने प्रविधिको विकास गरिसकेका छन्, जसले गर्दा कपालबाट महत्त्वपूर्ण DNA निकाल्न सजिलो भएको छ ।

जब कुनै औषधि वा लागूपदार्थ सेवन गरिन्छ, तब तिनका तत्वहरू रक्तनलीमार्फत कपालको जरामा सोसिन्छन् । जराबाट कपाल बढ्दैजाँदा ती सोसिएका औषधिजन्य तत्वहरू पनि कपालसँगै अगाडि बढ्छन् । त्यसैले कपालको लम्बाइअनुसार त्यसका तत्वहरू परीक्षण गरेर कुन औषधि कहिले खाइएको थियो भन्ने कुरा पत्ता लगाउन सकिन्छ । यसबाहेक, ‘कपालको तन्तु खनिज विश्लेषण’ (HTMA, Hair Tissue Mineral Analysis) भन्ने एउटा विधि पनि छ । यसले कपालभित्र रहेका करिब ३० वटा खनिज र ८ वटा भारी धातु (हेभी मेटल) को मात्रा तुलना र विश्लेषण गर्छ । यसरी यसले शरीरभित्र पोषणको असन्तुलनको मूल्याङ्कन गर्छ र स्वास्थ्य राम्रो बनाइराख्न चाल्नुपर्ने कदमबारे सल्लाह दिन्छ ।

विस्तृत जाँचबिना नै, नाङ्गो आँखाले कपाल हेरेर मात्र पनि स्वास्थ्यको अवस्था अनुमान गर्न सकिन्छ । कपाल र रगतको सम्बन्ध निकै गहिरो हुन्छ, किनकि शिरको छालामा बग्ने रगतबाट पोषक तत्वहरू पाएर नै कपाल बढ्छ । सीधा उभिएर हिँड्ने मानिसका लागि अन्य जनावरको तुलनामा मस्तिष्कसम्म रगत पुर्‍याउन गाह्रो हुन्छ । यसै कारणले गर्दा, रक्तअल्पता (एनिमिया) भएका मानिसहरूको कपाल झर्ने गर्छ, किनभने कपालले पर्याप्त पोषक तत्व पाउन सक्दैन ।

मानव जीवनको सम्पूर्ण अवधिभर कपाल एउटै स्थानबाट निरन्तर पुनरुत्पादित भई वृद्धि भइरहन्छ, यसले शिरको छालालाई संरक्षण गर्नुका साथै अथाह सूचनाहरू सङ्गालेर राख्छ । यति सुक्ष्म र मसिनो संरचनाभित्र निहित शक्ति एवं जानकारीको आयतन मानव कल्पनाभन्दा निकै पर छ ।

तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्छन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ । के एक पैसामा दुई भँगेरा बिक्दैनन् ? तीमध्ये एउटा पनि तिमीहरूका पिताको इच्छाविना भूइँमा खस्नेछैन । तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन् । यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ्‌ता मूल्यवान् छौ । मत्ती १०:२८-३१

सन्दर्भ
पार्क छल वन, कपाल झर्ने, कपाल पलाउने, कपालका कोषिकाहरू『탈모, 발모, 머리카락 세포』, कोरिया: बुक ल्याब, सन् २०१३
स्टेन, कर्ट । कपाल: मानव इतिहास । 『헤어-꼿꼿하고 당당한 털의 역사』 न्युयोर्क : पेगासस बुक्स, सन् २०१७
ली, ह्वा-यङ, रापुन्जेललाई पनि थाहा नभएको कपालको रहस्य, 「라푼젤도 모르는 머리카락의 비밀」। किड्स डोंग-आ साइन्स भोल्युम ५, मार्च १, सन् २०११

कपालको एउटा रेसाले भन्न खोजेको कुरा

34:01
0:00 34:01

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।