स्वर्गीय राज्यको बुझाइ

मानिसले आफ्नो पाँच इन्द्रियद्वारा संसारलाई बुझ्छ । दृष्टि, श्रवण, स्वाद, गन्ध र स्पर्शबाट प्राप्त भएका उद्दीपक(stimuli)हरू विद्युतीय सङ्केतहरूमा रूपान्तरण भएर मस्तिष्कमा पुग्छन् । त्यसपछि मस्तिष्कले ती जानकारीहरूलाई संश्लेषण र व्याख्या गरी पहिचान निर्माण गर्छ । अनुभूति र बोधको यो प्रक्रिया असङ्ख्य पटक दोहोरिँदा प्राप्त हुने तथ्याङ्क मस्तिष्कमा सङ्कलन हुन्छ र यसले पछि प्राप्त हुने संवेदनालाई बुझ्ने मुख्य आधारको रूपमा काम गर्छ । त्यसैले सबै प्रकारका पहिचान वा बुझाइ अनुभूतिबाटै सुरु हुन्छ ।
तर मानिसका इन्द्रियहरू स्वभावतः सीमित छन् । मानिसको दृष्टिले केवल ४०० देखि ७०० न्यानोमिटर बीचका प्रकाश तरङ्गहरू मात्र देख्न सक्छ । एक्स–रे, पराबैगनी किरण, अवरक्त किरण र रेडियो तरङ्गहरू नाङ्गो आँखाले देख्न सक्दैन । श्रवणशक्तिले २० देखि २०,००० हर्जसम्मका ध्वनि मात्र सुन्न सक्छ । एकदमै उच्च वा न्यून आवृत्तिका ध्वनिहरू मानिसले सुन्न सक्दैन । यी सीमाहरूलाई पार गर्नको निम्ति वैज्ञानिकहरूले मानिसको दायरा विस्तार गर्ने उपायहरू खोज्दैआएका छन् । दूरदर्शकयन्त्र, सूक्ष्मदर्शकयन्त्र, द्रव्यमान स्पेक्ट्रोमिटर, भूकम्पमापक, चुम्बकमापक, स्पेक्ट्रोस्कोप, कण त्वरक तथा कण पत्ता लगाउने यन्त्रहरूको विकासले मानिसको अनुभूति र बुझ्ने क्षमता उल्लेखनीय रूपमा विस्तार गरेको छ । यी विकासहरूले विषाणुहरूको सूक्ष्म संसार, सूक्ष्मजीवहरूको जटिल पारिस्थितिकी, प्राकृतिक घटनाहरू, मानिसका रोगहरू र विशाल खगोलीय पिण्डहरूको गति जस्ता पहुँचभन्दा बाहिरका क्षेत्रहरूको अध्ययन सम्भव बनाएको छ । तर यस्ता अद्भुत उपलब्धिहरूका बाबजुद एउटा आधारभूत सत्य जस्ताको तस्तै छ, त्यो नै मानिसको इन्द्रिय र बुझाइको निश्चित सीमा हो ।
त्यसोभए स्वर्गीय राज्यको विषयचाहिँ नि त ? स्वर्गचाहिँ मानव बुझाइ वा अनुभूतिभन्दा निकै परको कुरा भएकोले, यसको अस्तित्वलाई चिन्नु वा स्वीकार गर्नु स्वभावैले गाह्रो छ । त्यसैले परमेश्वर स्वयम् मानिसले बुझ्न सक्ने दायराभित्र आउनुभयो । देखेर पनि चिन्न नसक्ने र सुनेर पनि बुझ्न नसक्ने मानिसहरूलाई उहाँले खेतमा गाडी राखिएको धन, बहूमूल्य मोती, रायोको दाना, जालमा परेका माछाहरू, साँघुरो ढोका, र विवाह भोजको तयारी गर्ने राजा जस्ता विभिन्न दृष्टान्तहरूद्वारा स्वर्ग-राज्यका रहस्यहरू थाहा दिनुभयो । सबै मानिसहरूले त्यसको अर्थ बुझ्न सकून् भनेर उहाँले परिचित परिस्थिति र वस्तुहरू प्रयोग गरी पीडा र मृत्यु नभएको स्वर्गीय राज्यको बारेमा जानकारी दिनुभयो ।
यदि परमेश्वरले थाहा नदिनुभएको भए हामीले आफ्नो शक्तिद्वारा हाम्रो आत्माको गृहनगर अर्थात् स्वर्गीय राज्यको बारेमा कहिल्यै बुझ्न सक्ने थिएनौं । त्यसैले स्वर्गीय राज्यको बारेमा थाहा पाउनु वास्तवमै परमेश्वरको ठूलो अनुग्रह र आशिष् हो । यसरी स्वर्गीय राज्यको बारेमा जानकारी दिन हामीजस्तै स्वरूप धारण गरी आउनुभएका परमेश्वरप्रति सधैँ धन्यवादी होऔं । अटल विश्वास र दृढ आशा लिएर अगाडि बढ्नेहरूका लागि स्वर्गचाहिँ अनुभव गर्न सकिने वास्तविक कुरा हो ।