परमेश्वरबाट मान्यता प्राप्त गर्नु

यदि तपाईंसँग गर्व गर्न लायक कुनै कुरा छ भने, स्वाभाभिक रूपमा त्यसलाई देखाउने इच्छा हुन्छ । अरू व्यक्तिबाट मान्यता प्राप्त गर्न चाहने भावनाचाहिँ मानिसको सबैभन्दा आधारभूत आवश्यकता हो ।
आठौँ दिनमा मेरो खतना भएको हो । म इस्राएल जातिको, बेन्यामीन कुलको हुँ, हिब्रूको पनि हिब्रू, व्यवस्थाको विषयमा हो भने एक फरिसी, जोशको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकताबमोजिम निष्खोट ठहरिएको हुँ । तर जति कुरा मेरो निम्ति लाभदायक थिए, ती त मैले ख्रीष्टको खातिर हानि नै ठानें । साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु । ख्रीष्टलाई प्राप्त गर्न सकूँ भनेर उहाँको निम्ति मैले सबै कुराको नोक्सानी भोगेको छु, अनि ती सबैलाई फोहोर-मैला तुल्य म गन्दछु, … फिलि ३:५-९
प्रेरित पावलचाहिँ एउटा राम्रो परिवारमा जन्मिएर उच्च शिक्षा हासिल गरेका व्यक्ति थिए । त्यसैले उनमा गर्व गर्न लायक धेरै कुराहरू थिए । तर पनि उनले त्यो कुराप्रति कहिल्यै गर्व गरेनन्, किनभने उनी मानिसबाट नभएर अरू कोहीबाट मान्यता प्राप्त गर्न चाहन्थे । वास्तवमा उनी परमेश्वरबाट मान्यता प्राप्त गर्न चाहन्थे । त्यसैले ख्रीष्टलाई चिन्ने ज्ञानबाहेक अन्य कुरालाई उनले फोहोर-मैलासरह ठाने ।
परमेश्वरबाट मान्यता पाएको जीवन ! यदि यसले हामीलाई स्वर्गको आशिष् दिन्छ भने, संसारमा योभन्दा धन्यको वा आशिष्मय जीवन अरू के हुन सक्छ र ?