समान पक्ष

11,998 भ्यु
लेख सुन्नुहोस् 4:25

सँगै प्रतिस्पर्धामा उत्रिएका प्रतिस्पर्धीहरूसँग नजिकिने तरिका के होला ? बेलायतको ल्यानक्यास्टर विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यसको उत्तर पत्ता लगाए ।

अनुसन्धानकर्ताहरूले दुईवटा कट्टर प्रतिस्पर्धी फुटबल क्लबका प्रशंसकहरूलाई आ-आफ्नो टोलीको जर्सी लगाउन लगाए, र उक्त टोलीको नाम लेख्न लगाए । त्यसलगत्तै प्रशंसकहरूलाई अर्को ठाउँमा सारियो र उनीहरू हिँडिरहेकै बेला अगाडि दुवै टोलीको जर्सी लगाएका मानिसहरू लड्ने परिस्थिति सिर्जना गरियो । अचम्मको कुरा, आफ्नो टोलीको जर्सी लगाएकाहरू लड्दाचाहिँ प्रशंसकहरूले हतार-हतार मद्दत गरे तर विपक्षी टोलीको जर्सी लगाएकाहरूलाई चाहिँ मद्दत गरेनन् ।

निष्कर्षमा भन्नुपर्दा मानिसहरू आफूसँग रुचि नमिल्ने व्यक्तिहरूलाई भन्दा आफूसँग रुचि मिल्ने व्यक्तिहरूलाई मद्दत गर्न बढी तम्सिन्छन् । त्यसपछि अनुसन्धानकर्ताहरूले अन्य प्रशंसकहरूलाई बोलाएर दोस्रो चरणको अनुसन्धान सुरु गरे । यस पटक भने उनीहरूले प्रशंसकहरूलाई समग्रमा फुटबल खेलको प्रशंसक हुनुको कारण लेख्न लगाए । त्यसपछि फेरि उही लड्ने नाटक दोहोर्‍याइयो । तर यसपालि भने नतिजा बिल्कुलै फरक आयो ।

लड्ने व्यक्तिले आफ्नै टोलीको जर्सी लगाएको होस् वा विरोधी टोलीको, प्रशंसकहरूले सबैलाई समान रूपमा मद्दत गरे । अनुसन्धानका अनुसार, मानिसहरूले एक-अर्कामा कुनै समानता भेट्टाए भने उनीहरू एक-अर्काको नजिक महसुस गर्छन् । फरक-फरक टिमको सपोर्ट गरे पनि आखिर उनीहरू दुवै फुटबल प्रेमी हुन् । यही एउटै कुरा मिलेकाले उनीहरूले अपनत्व महसुस गरे र सहयोगको हात बढाए ।

समान पक्ष

4:25
0:00 4:25

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।