गर्न सकिने कार्यबाट

कुनै एक ठूलो कम्पनीमा कार्यकारीको रूपमा कार्यरत जोन वुड आफ्नो बिदा मनाउन नेपालको एक दुर्गम हिमाली क्षेत्रमा गए । त्यहाँ उनले विद्यार्थीहरू भूइँमै बसेर पढिरहेको देखे । त्यो दृश्यले उनलाई स्तब्ध बनायो र उनले विकासोन्मुख देशका बालबालिकाहरूका शिक्षाको लागि सहयोगको हात बढाउने दृढ सङ्कल्प गरे ।
पुस्तक र लागत कसरी व्यवस्थापन गर्ने, अनुदान सामानलाई प्रशान्त महासागरको पारी कसरी पठाउने भन्नेबारे अनभिज्ञ भएका जोनले पहिले चिनेजानेकाहरूलाई इमेल पठाए र पुस्तकहरू अनुदान गर्न आग्रह गरे ।
उनले अनुदानबाट सङ्कलन भएका पुस्तकहरू पानीजहाजको माध्यमद्वारा नेपाल पठाए । त्यसपछि उनले एउटा परोपकारी संस्था स्थापना गरेर विभिन्न परियोजनाहरू सञ्चालन गरे, र बिस्तारै आफूले गर्न सक्ने कामहरू गर्दैगए ।
हालसम्म जोन वुडले नेपाल, भारत र भियतनाम लगायतका देशहरूमा लगभग १,८०० विद्यालय र १६,००० पुस्तकालयहरू स्थापना गरी एक करोड पचास लाख पुस्तकहरू वितरण गरेका छन् । “अशिक्षित र गरिबीको दुष्चक्रमा फसिरहेका बालबालिकाहरूको भविष्य बदल्न कत्ति पनि असम्भव छैन” भन्ने एउटा दृढ सङ्कल्पका साथ उनले आफ्नो क्षमताले भ्याएसम्म साना-ठूला सबै कामहरू व्यवहारमा लागू गरेर सफलता हासिल गरे ।