सपनालाई पछ्याउँदै
अभिनेता बन्ने सपना देखेका एक जना मानिस थिए । उनी आफ्नो सपना साकार पार्नका लागि सधैँ अडिसनमा जाने गर्थे । तर उनको व्यक्तित्व र अनुहार पृथक नभएका कारण उनी सधैँ अस्वीकृत हुन्थे । विगत १० वर्षमा, उनले ८००भन्दा बढी अडिसन दिए । यसबाहेक उनले बारटेन्डर, डोरम्यान, पेन्टर जस्ता धेरै कामहरू गरे, तर पनि उनले अभिनेता बन्ने सपनालाई कहिल्यै छोडेनन् ।

एक दिन एउटा नाटकमा उनको अभिनय देखेर धेरै समिक्षकहरूले तारिफ गरे । उनको अगाडि उज्ज्वल भविष्य थियो, तर एक्कासी बिजुलीको झट्काझैँ उनले एउटा दुखद कुरा थाहा पाए । वास्तवमा उनलाई ब्रेन ट्यूमर भएको थियो । सौभाग्यवश, १० घण्टाको ठूलो शल्यक्रियापछि ट्युमर हटाइयो, तर उनको अनुहारको आधा भाग नचल्ने(आंशिक अनुहार पक्षाघात) भयो र देब्रे कानको सुन्ने शक्ति पनि गुम्यो । अनुहारको हावभावमार्फत जनतासँग कुराकानी गर्ने एक अभिनेताको लागि यो एकदमै पीडादायी कुरा थियो ।
तर उनले कहिल्यै हार मानेनन् । निरन्तरको उपचारपछि, अन्ततः उनले अनुहारको मांसपेशीहरू चलाउन सके र आत्मविश्वासका साथ आफ्नो सपना हासिल गरें । वास्तवमा योचाहिँ एभेन्जर्स चलचित्रमा हल्कको भूमिकाबाट चर्चित भएका मार्क रफालोको कहानी हो ।