बोटबिरुवाहरूको अद्भुत चेतना

36,547 भ्यु
लेख सुन्नुहोस् 20:33

कहिालेकहीँ कोरियाको समाचारपत्रमा ‘वनस्पति अवस्थामा राष्ट्रिय सभा’ भन्ने अभिव्यक्ति देख्न सकिन्छ । यो अभिव्यक्तिले कुनै काम नगरी अत्यधिक सामाजिक खर्च गर्ने राष्ट्रिय सभालाई व्यङ्ग्य गर्दछ । कोमामा पुगेर मस्तिष्कले काम नगरेको बिरामीलाई पनि ‘वनस्पति अवस्था’ भनिन्छ । यसरी हलचल गर्ने क्षमता गुमाएको वस्तु वा व्यक्तिलाई वनस्पतिसँग तुलना गरिन्छ । त्यसो भए हामीले सोचेझैँ वनस्पतिहरूमा महसुस गर्ने क्षमता हुँदैन होला र ?

“लज्जावती झार” भनेर चिनिने मिमोसा पुडिकाले यस्तो पूर्वधारणालाई चुनौती दिन्छ । मिमोसा पुडिकाको पातलाई छुदा त्यो तुरुन्तै बन्द हुन्छ । यसलाई हेर्दा, यसले स्पर्श महसुस गरेर प्रतिक्रिया दिएजस्तो देखिन्छ । यसको यस्तो हलचलको रहस्य पातको डाँठको फेदमा रहेको पुल्भिनसमा लुकेको हुन्छ । पुल्भिनसका कोषहरूमा धेरै पानी हुने भएकाले कोषभित्तामा दबाब पर्छ, जसले गर्दा पातहरू सीधा फैलिन्छन् । तर पातले अचानक स्पर्श महसुस गर्दा कोषभित्रको पानी बाहिर निस्कन्छ र पातहरू खुम्चिन्छन् । मिमोसा पुडिकाको यो प्रतिक्रिया कीराको आक्रमणबाट बच्ने प्रतिरक्षात्मक व्यवहार हो ।

सन् १९९९ मा चीनमा आयोजित कुनमिङ पुष्प प्रदर्शनीमा विशेष क्षमता भएको नाच्ने बिरुवा (dancing plant) ले ठूलो सनसनी मच्चाएको थियो । यो बिरुवा खासै सुन्दर देखिँदैन, यसमा विशेष सुगन्ध हुँदैन, र यसलाई हुर्काउन एकदमै गाह्रो हुन्छ । तर सङ्गीत बज्न थालेपछि यसको वास्तविक विशेषता प्रकट हुन्छ । यसका स-साना पातहरू ब्यालेरिना नाचेझैँ लचिलो गरी हल्लिन्छन् । पातहरूको हलचल यति स्पष्ट हुन्छ कि त्यो तुरुन्तै देखिन्छ । घाम लाग्दा, न्यानो हुँदा र आर्द्र वातावरणमा यो बिरुवा अझ सक्रिय भएर नाच्छ । बच्चा वा महिलाले गाएको तिखो आवाजप्रति यो अझ संवेदनशील हुन्छ । विद्वान्‌हरूका अनुसार नाच्ने बिरुवाको हलचल पनि मिमोसा पुडिकाजस्तै ध्वनि तरङ्गसँग उनीहरूको पल्भिनसले गर्ने प्रतिक्रियाका कारण हुन्छ ।

सबै बिरुवाले मिमोसा पुडिका वा नाच्ने बिरुवाजस्तै तुरुन्तै प्रतिक्रिया नदिए पनि, प्रायः बिरुवाहरूले निरन्तर उत्तेजना पाउँछ र हलचल गर्छ । सूर्यमुखी जस्तै सूर्यलाई पछ्याउँदै चल्ने बिरुवाहरूले दिनभरि सूर्य घुम्ने दिशातिर आफ्नो शिर बिस्तारै फर्काउँछन् । सूर्य अस्ताएपछि तिनीहरूले भोलिपल्ट सूर्य उदाउने दिशातिर आफ्नो शिर फेरि फर्काउँछन् । यसलाई विपरीत दिशामा फर्काइदियो भने पनि त्यो फेरि प्रकाशतिर नै फर्किन्छ । प्रकाशबिना बोटबिरुवाले प्रकाश संश्लेषण गर्न सक्दैन । त्यसैले उनीहरूले प्रकाश आउने दिशा महसुस गर्छन् र सूर्यको प्रकाश धेरै पाउन परिश्रमसाथ हलचल गर्छन् ।

उष्णकटिबन्धीय मध्य तथा दक्षिण अमेरिकाका वर्षावनहरूमा उम्रिने हिँड्ने ताडका रूखहरूwalking palmचाहिँ यसको नाममा भनिएझैँ हिँड्न सक्ने अनौठो क्षमता भएका हुन्छन् । यी रूखहरूले घाम लाग्ने दिशातिर नयाँ जरा फैलाउँछ र विपरीत दिशाका जराहरूलाई कुहाएर अलग गर्छ । यसरी यो सूर्यको प्रकाशतिर बढ्दैँजान्छ । अन्य रूखहरूभन्दा फरक, यसको जरा जमिनमुनि गाडिएको नभई सतहमाथि देखिन्छ । यी रूखहरू प्रतिवर्ष ४ सेन्टिमिटरदेखि २० सेन्टिमिटरसम्म सर्न सक्छन् ।

त्यसो भए आँखा नभए पनि बिरुवाले कसरी सूर्यको प्रकाश महसुस गर्न सकेको होला ? प्रकाशको उत्तेजनाप्रति प्रतिक्रिया जनाउँदै बढ्ने बिरुवाको प्रकृतिलाई प्रकाशानुवर्तन (phototropism) भनिन्छ । सामान्यतया डाँठ र पातहरू प्रकाश भएतिर बढ्ने प्रक्रियालाई सकारात्मक प्रकाशानुवर्तन, र प्रकाशबाट टाढातिर बढ्ने प्रक्रियालाई नकारात्मक प्रकाशानुवर्तन भनिन्छ ।

बिरुवाको बढ्ने प्रक्रियालाई समन्वय गर्ने अक्सिन (auxin) हर्मोनले प्रकाशानुवर्तन गराउँछ । अक्सिनमा प्रकाशबाट टाढा र गुरुत्वाकर्षणतर्फ सर्ने गुण हुन्छ । प्रशस्त अक्सिनले डाँठ र पातलाई चाँडै बढाउँछ । अनि डाँठ र पातको विपरीत भागमा अक्सिन प्रकाश जम्मा हुन्छ । यसरी तिनीहरू चाँडै बढ्ने भएकाले प्रकाश लिने भाग प्रकाशतर्फ बाङ्गिन्छ । यसको अतिरिक्त, गुरुत्वाकर्षणको दिशामा अक्सिन जम्मा हुँदा, डाँठ र पातहरू माथितिर बढ्छन् ।

यहाँहरूले फ्रिजको ढोका खोल्दा पुरानो प्याजको टुसा निस्किएको देख्नुभएको छ होला । फ्रिजभित्र प्रकाश नभए पनि प्याजमा कुनै न कुनै प्रकारले टुसा पलाउँछ । प्याजको हरियो टुसा बाङ्गिँदै माथितिर बढ्छ । भीरमा उम्रिएको रूख पनि सतहअनुसार सीधा बढ्दैन, तर आकाशतिर बढ्छ । अर्थात् बिरुवाले पनि गुरुत्वाकर्षण महसुस गर्छ ।

गुरुत्वाकर्षण महसुस गरेर डाँठलाई माथितिर र जरालाई तलतिर बढाउने कार्यलाई गुरुत्वानुवर्तन भनिन्छ । बिरुवाको गुरुत्वानुवर्तन सरल देखिए पनि यसको जैविक प्रणाली अत्यन्त जटिल छ, जसले वैज्ञानिकहरूलाई समेत उल्झनमा पारेको छ ।

हामीले आफ्नो शिर ढल्काउँदा सजिलै शिर ढल्किएको महसुस गर्छौं । त्योचाहिँ कान भित्रको भेस्टिब्युलमा ओटोलिथ (otolith) भनिने क्याल्सियम कार्बोनेटका साना क्रिस्टलहरू हुने भएकोले हो । टाउको ढल्काउँदा ओटोलिथहरू गुरुत्वाकर्षणअनुसार सर्छ र स्नायु प्रणालीमा सङ्केत पठाउने कपालको कोषहरूलाई उत्तेजित गर्छ । मस्तिष्कले त्यसलाई हलचल ठान्छ । ओटोलिथजस्तो ठोस पदार्थलाई स्टाटोलिथ (statolith) पनि भनिन्छ ।

करिब सय वर्षअघि वनस्पतिविज्ञहरूले जराको टुप्पोमा रहेको विशेष कोषभित्र स्टाटोलिथजस्तै देखिने स्टार्चबाट बनेका साना कणहरू पत्ता लगाए । अहिले विज्ञहरूले ती कणहरू गुरुत्वाकर्षणका कारण सर्दा बिरुवाले गुरुत्व महसुस गर्छन् भनेर अनुमान लगाइरहेका छन् । जब चारा ग्लोबुलारिस (Chara globularis, एक प्रकारको हरियो लेउ) को जरालाई तेर्सो पारिन्छ, तब कोषभित्र रहेका स्टाटोलिथहरू बिस्तारै गुरुत्वाकर्षणको दिशातिर सर्छन् । सिसाजस्तै पारदर्शी कोषबाट बनेको राइजोइडलाई सूक्ष्मदर्शकबाट हेर्दा कोषभित्र धेरै कणहरू चलिरहेको र बाह्रवटा स्टाटोलिथहरू गुडिरहेको देख्न सकिन्छ ।

चारा ग्लोबुलारिसको जरालाई तेर्सो मोड्दा कोषभित्रका स्टाटोलिथहरू बिस्तारै गुरुत्वाकर्षणको दिशातिर सर्छन् । तिनीहरू कोषको ठ्याक्क तल्लो भित्तातर्फ जान्छन् । करिब तीन मिनेटपछि सबै स्टाटोलिथ तल्लो भागमा पुग्छन् । तिनीहरूले कोषभित्तामा छुनेबित्तिकै राइजोइड तीव्र गतिमा घुम्न थाल्छ । दुई घण्टाभित्र राइजोइडका कोषहरू पूर्ण रूपमा सिधा हुन्छन् । यसरी जनावरहरूले जस्तै वनस्पतिले पनि स्टाटोलिथको स्थानअनुसार आफ्नो दिशा परिवर्तन गर्छ । तर भौतिक रूपमा टाढा रहेका अक्सिनलाई जम्मा हुन स्टाटोलिथहरूले कसरी काम गर्छ भन्ने प्रक्रिया अहिलेसम्म प्रमाणित भएको छैन । यो कोषभित्र रहेको संरचनात्मक ढाँचामार्फत हुन्छ भन्ने अनुमान मात्र गरिएको छ ।

बिरुवाहरूले वातावरण बुझ्ने क्षमताका बारेमा अझै धेरै कुराहरू प्रमाणित हुन बाँकी नै छन् । तर सामान्य देखिने बिरुवाहरूले पनि आफ्नो वरपरको वातावरणलाई निश्चित रूपमा चिन्छन् । उनीहरूले प्रकाश कहाँ छ भनेर महसुस गर्छन्, गुरुत्वाकर्षण अनुभव गर्छन्, बाह्य वातावरणप्रति प्रतिक्रिया जनाउँछन् र आफ्नो आकार परिवर्तन गर्दै हलचल गर्छन् । बिरुवाहरूले यस्तो अद्भुत शक्ति कसरी पाएका होलान् ?

सन्दर्भ
दानिएल चामोविट्जद्वारा लिखित, (What a Plant Knows)
भोल्कर अर्जटद्वारा लिखित, (Intelligent Plants)
ली वान जुद्वारा लिखित, (Green Music Farming Methods)
गिम यन हिद्वारा लिखित, ‘Plants reacts to external stimulus and move,외부 자극 반응해 움직이는 식물들’, साइन्स टाइम्स (२०१०.८.३०)

बोटबिरुवाहरूको अद्भुत चेतना

20:33
0:00 20:33

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।