साँच्चै राम्रो गऱ्यौ !

छोइ सग हुइ / सङनाम, कोरिया

9,912 भ्यु

एक जना आमा स्ट्रोलरमा सानो बालकलाई राखेर गुडाउँदै लिफ्टभित्र आउनुभयो । स्ट्रोलरमा रहेको बालकको कपाल एकदमै चम्किलो र आकर्षक थियो । त्यो बालकको नाडीमा मैले केही कुराको छाप देखें । त्योचाहिँ ‘Well Done, राम्रो गऱ्यौ’ भनेर लेखिएको छापजस्तै लाग्यो ।

“हेलो ! सानो बाबुको हातमा यो के हो नि ?”

मैले त्यसरी सोध्दा उसकी आमाले नै जवाफ दिनुभयो ।

“यो त दिवा बाल-स्याहार केन्द्रकी शिक्षिकाले लगाइदिनुभएको छाप हो । उसलाई नुहाइदिँदाखेरि मेटाउन खोजेकी थिएँ, तर उसले रोएर मेटाउन नदिएकोले मैले त्यो मेटाइनँ । यसकारण त्यो छाप जस्ताको तस्तै छ ।”

आमाले नुहाइदिँदा प्रशंसाको छाप मेटिने हो कि भनेर चिन्तित बनेको बालकको स्वरूपलाई सोच्दै म भित्रभित्रै मुस्काएँ । तब मलाई ‘प्रशंसाले ह्वेल माछालाई पनि नचाइदिन्छ’ भन्ने वाक्यांश याद आयो । जनावरहरू पनि प्रशंसा पाउँदा खुशी हुन्छन् भने मानिसहरूको त झन् के कुरा ?

त्यसो हुँदा मैले आफैलाई फर्केर हेरें । मैले एक दिनमा कति पटक आफ्नो परिवारलाई प्रशंसा गरेको छु त ? त्यस बेला मैले प्रशंसा गर्नमा साँच्चै कञ्जुस्याइँ गरिरहेको छु जस्तो लागेर म क्षमाप्रार्थी भएँ । पैसा लाग्ने पनि होइन, अनि त्यसो गर्न त्यति गाह्रो पनि छैन ।

मेरी पत्नीले पकाएको खाना खाँदाखेरि म प्रायः केही नबोलीकन खाने गर्थें । प्रशंसा गर्नुपर्दा “मीठो रहेछ” भन्ने दुई शब्दबाहेक केही भन्ने गर्दिनथें । मेरी पत्नीले मीठो परिकार तयार गरेको दिनमा, म घर फर्कने समयलाई अन्य दिनहरूभन्दा अझ बढी ध्यान दिने गर्छिन् । मैले त्यो खाना खाँदाखेरि मबाट उनले प्रशंसाको अपेक्षा गरेकी थिइन् होला भन्ने सोच्दै म क्षमाप्रार्थी भएँ ।

पति-पत्नी अथवा बुबा-आमा वा छोरा-छोरीहरूबीच न्यानो प्रेम कायम राख्नको निम्ति सुझावभन्दा प्रशंसाको बोली एउटा भए पनि आवश्यक हुन्छ भन्ने कुरालाई मैले फेरि एक पटक महसुस गरें । म आगामी दिनमा मेरी पत्नी र वरिपरिका अमूल्य मानिसहरूसँग प्रशंसायुक्त बोली बोल्नेछु । आज बेलुकीको खाना खाने समयमा मेरी पत्नीलाई के भन्ने होला भनेर म मनमनै अभ्यास गर्दैछु ।

“प्रिय ! तिमीले बनाएको खाना स्वादिष्ट छ । साँच्चै राम्रो गऱ्यौ !”