परमप्रभुको निम्ति भवन निर्माण गर

१ इतिहास २२

31,128 भ्यु

दाऊदले मन्दिर निर्माणका लागि ढुङ्गा काट्ने मानिसहरू खटाए । उनले एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, जोख्नै नसकिने काँसा र फलाम जोहो गरे, र काठपातसमेत तयारी गरे । योचाहिँ सबै देशहरूमा परमेश्वरको महिमा प्रदर्शन गर्नका लागि तयार गरिएको मन्दिर निर्माणको प्रक्रिया थियो ।

सबै कुरा तयार गरेपछि दाऊदले आफ्नो छोरा सोलोमनलाई बोलाएर यसो भने,

“हे मेरो छोरो, परमप्रभु मेरा परमेश्वरका नाउँको निम्ति एउटा भवन निर्माण गर्ने मेरो अभिप्राय थियो । तर परमप्रभुले यसो भन्नुभयो, ‘तेरो छोरो सोलोमनले मेरो नाउँको निम्ति एउटा भवन बनाउनेछ ।’ अब हे मेरो छोरो, उहाँले भन्नुभएअनुसार तैंले परमप्रभु तेरा परमेश्वरको घर बना । परमप्रभुले आदेश दिनुभएअनुसार यदि तँ उहाँका विधि र नियमहरू पालन गर्नलाई होशियार भइस् भने तेरो उन्नति हुनेछ । साहसी र दृढ हो, निर्बल र निरुत्साहित नहो ।”

दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्ना छोरा सोलोमनलाई मन्दिर निर्माण गर्ने कार्यमा सघाउन हुकुम गरे ।

सिंहासनमा बसेपछि, सोलोमनले परमेश्वरको वचन र आफ्ना बुबा दाऊदको निर्देशनअनुसार मन्दिर निर्माण गरेर आफूलाई समर्पित गरे ।

परमेश्वरको मन्दिर निर्माणका लागि आवश्यक सामग्री र जनशक्ति एकदमै भव्य थियो । सोलोमनको अगाडि कुनै बाधा थिएन । योचाहिँ सबै उनका बुबा दाऊदले मन्दिर निर्माणका लागि प्रशस्त सामग्री तयार पारेकोले गर्दा सम्भव भएको थियो । परमेश्वरको विधि र नियम होशियारीसाथ पालन गरेमा सोलोमनको उन्नति हुनेछ भन्ने वचनअनुसारै सोलोमनले मन्दिर निर्माण गर्दा र इस्राएल देशमा शासन गर्दा इस्राएलमा शान्ति छायो ।

यो युगमा मन्दिर निर्माणको सामग्री भएका परमेश्वरका सन्तानहरूद्वारा मन्दिर निर्माणको कार्य सक्रिय रूपमा अगाडि बढिरहेको छ । अगमवाणीको कार्य पूरा गर्नको निम्ति परमेश्वरले पहिलादेखि नै सबै कुरा तयार पार्नुभएकोले हामीले पनि सोलोमनले जस्तै परमेश्वरले दिनुभएको मिसन पूरा गर्न सक्छौं ।

त्यसैले नडराऔं, तर स्वर्गीय मन्दिर निर्माणका लागि साहसी र दृढ होऔं । यो नै सफलता र आशिष्‌तर्फको बाटो हो ।