उद्धार गर्ने कर्तव्य

257 हेरेको संख्या

सुरुङमा गुडिरहेको एउटा ट्रकमा आगो लाग्यो । चालकले तुरुन्त आफ्नो ट्रकमा भएको अग्निशामक यन्त्रद्वारा आगोलाई नियन्त्रण गर्न खोजे तर त्यसबाट भएन । त्यही बेला, सूट लगाएका ३ जना व्यक्तिहरू कारलाई रोकेर बाहिर निस्केर चालकलाई बाहिर निकाले, र सुरुङमा आगो निभाउनलाई जडान गरिएको पानीको पाइप तानेर ट्रकको आगो निभाउन थाले । सुरुङको बाटोलाई ढाकेको आगोको मुस्लो र धूवाँसित जुध्दै उनीहरूले निडरका साथ गरेका प्रयत्न, अनि खबर पाएपछि आएको दमकलको सहयोगद्वारा अन्ततः ३० मिनेटमै आगोलाई पूर्ण रूपमा निभाउन सकियो । यसरी तुरुन्तै द्रुत गतिमा कार्य गरेर दुर्घटनालाई अझ खराब हुनबाट जोगाएका ती मानिसहरू वास्तवमा आफ्नो आफन्तको अन्त्येष्टिमा जाँदैगरेका अग्नि नियन्त्रकहरू थिए । कुनै सुरक्षात्मक सामग्रीविना नै आगोको सामना गरेका उनीहरूले “यस्तो अवस्थामा कुनै पनि अग्नि नियन्त्रक स्वाभावतः आगो निभाउनलाई अगि बढ्छ । हामीले त आफ्नो कर्तव्य पूरा गरेका मात्र हौं” भनेर अन्तर्वार्तामा भने ।

कुनै एउटा अन्तर्राष्ट्रिय विमानमा एक जना यात्रु आकस्मिक बिरामी परे । तब यात्रुहरूमध्ये कोही डाक्टर छन् कि भनेर विमान परिचारिकाहरूले हतारिँदै सूचना दिए । सूचना सुनेपछि दुई जना मानिसहरू दौडँदै आए । उनीहरू रक्तवाहिनी नलीका चिकित्सकहरू थिए । ७० वर्ष माथिका वृद्ध बिरामीको पिसाब-थैली फुलेर फुट्ने सम्भावना भएकोले ती चिकित्सकहरूले बिरामीको अवस्था एकदम नाजुक रहेको कुरा पत्ता लगाए । चिकित्सकहरूले तुरुन्त उपचार सुरु गरे । एक जना चिकित्सकले अक्सिजन माक्सको प्लास्टिक ट्युब, अनि दूधको बट्टामा आउने स्ट्र(पाइप)द्वारा अस्थायी पिसाब-नली बनाए । एक जनाले त्यसलाई बिरामीको शरीरभित्र हाले र अर्काले चाहिँ मुखमा पाइप राखेर बिरामीको पिसाब ताने । उनीहरूको त्यस्तो समर्पणयुक्त उपचारले गर्दा करीब ३० मिनेटपछि बिरामीको अवस्थामा सुधार आयो र विमान आफ्नो गन्तव्यमा सुरक्षितसाथ अवतरण भयो । जब सबै मानिसहरूले उनीहरूको कार्यको प्रशंसा गरे तब उनीहरूले “हामीले केवल चिकित्सकको कर्तव्य पूरा गरेका हौं । सामान्य चिकित्सकहरूले जस्तै हामीले पनि उही काम गरेका मात्र हौं” भने ।

अचानक कुनै अप्रत्याशित दुर्घटनामा पर्दा, उद्धार गर्ने क्षमता भएको व्यक्ति साथमा हुनु र तिनीबाट सहयोग पाउनु कति सौभाग्य र धन्यवादको कुरा हो ! डाक्टर, नर्स, अग्नि-नियन्त्रक, उद्धार टोली … अरूको जीवन बचाउने क्षमता भएका मानिसहरूचाहिँ आफ्नो ड्यूटीको समय अथवा ड्युटीबाहेकको समयबीच कुनै भेद राख्दैनन् । खतरामा परेको मानिसलाई उद्धार गर्न अग्रसर भइहाल्ने यस्ता मानिसहरूलाई नै हामी ‘हिरो’ भन्दछौं ।

आत्मिक संसारमा पनि उस्तै नै हो । पाप र विपत्तिले गर्दा आत्मिक जीवन खतरामा परेका सारा मानव-जातिमाझ, परमेश्वरबाट जीवन बचाउने क्षमता पाएका मानिसहरू पुगे भने त्यो कति सौभाग्य र धन्यवादको कुरा हुन्छ होला ? त्यो कुरामा रमाउँदै स्वर्गदूतहरूले पनि स्वर्गबाट उनीहरूलाई ‘हिरो’ भनी बोलाउँदै कति प्रशंसा गर्छन् होला ?

आत्मिक उद्धार कार्यमा पाइला चालेका सियोनका सन्तहरूले, अझ एक आत्मालाई बचाउनको निम्ति समय र बेसमयमा परमेश्वरको वचन सुनाउनमा प्रयत्न गरिरहेकाले विश्वभरिका कुना-काप्चाबाट मुक्तिको शुभ खबर र सियोनको सुगन्धहरू फैलिरहेको छ । यो नै स्वर्गीय पिता-माताले नयाँ करारको सत्यताद्वारा हामीमा रोपिदिनुभएको प्रेम अर्थात् आत्मिक ‘उद्धार गर्ने कर्तव्य’प्रतिको ईमानदारिताको फल हो ।