
अन्य पशुहरूको तुलनामा मानिसको शारीरिक क्षमता निकै कमजोर हुने भए पनि मानिसमा हुने एउटा अत्यन्त उच्च क्षमता छ । त्यो क्षमता नै धैर्यता हो । जङ्गली युगमा, जब मानिसहरूमा शक्ति, गति, तिखा सिङ, दाँत, वा नङ जस्ता प्राकृतिक हतियारहरूको अभाव हुन्थ्यो, तब उनीहरूले धैर्यतालाई बाँच्ने एकमात्र आधार बनाउँथे । चितुवा, सुतुरमुर्ग(अस्ट्रिच), घोडा वा हरिणजस्ता जनावरहरूले छोटो दूरीमा तीव्र गतिमा शिकार गर्छन्, तर यी जनावरभन्दा फरक प्रारम्भिक समयका मानिसहरूले धैर्य धारण गर्दै शिकार गर्थे । उनीहरूले त्यो शिकार थाकेर लखतरान नहोउञ्जेल घण्टौंसम्म त्यसलाई पछ्याउँथे । यो असामान्य धैर्यताले उनीहरूलाई आफ्नो शारीरिक कमजोरीलाई जितेर शक्तिशाली बन्न मद्दत गर्थ्यो ।
मानव शरीरको अनुसन्धान गर्ने वैज्ञानिकहरूका अनुसार मानव शरीर लामो दूरीसम्म दौड्न सक्ने गरी डिजाइन गरिएको छ । पसिना ग्रन्थीमार्फत शरीरको तापलाई बाहिर निकाल्ने शीतलन प्रणाली, टाढाको दूरीसम्म दृष्टि प्रदान गर्ने घाँटीको बलिया लिगामेन्टहरू, स्प्रिङझैँ ऊर्जा सञ्चय र मुक्त गर्ने लामो र लचिलो पिँडुला(Achilles tendons) र शक्तिशाली नितम्बका मांशपेशीहरू जस्ता सबै विशेषताहरूले मानव शरीरलाई निरन्तर गतिशील हुन मद्दत गर्दछ ।
यस्तो शारीरिक अनुकूलता र धैर्यताले मानव सीमालाई अद्भुत रूपमा विस्तार गरिरहेको छ । सन् २०१३ मा, न्युजिल्याण्डकी ४० वर्षीया महिला अल्ट्राम्याराथन धावक1ले चार दिनसम्म नसुती ५०० किलोमिटर दौडेर विश्व कीर्तिमान कायम गरिन् । उनले अत्यधिक गर्मी, प्यास, थकान र मांसपेशीको दुखाइ सहेर मानव धैर्यताको वास्तविक सीमा हामीले कल्पना गरेभन्दा धेरै पर छ भन्ने कुरा प्रमाणित गरिन् । खेलकुदबाहेक धैर्यताले मानव प्रगति, अन्वेषण, चिकित्सा, आविष्कार र कला क्षेत्रलाई अगाडि बढाउनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । धैर्यताकै कारण दुःख र चुनौतिको सामना गर्दै मानव-जातिको विकास हुन सकेको हो ।
१. ४२.१९५ किलोमिटर(२६.२१९ माइल)को आधिकारिक म्याराथन दूरी पार गर्ने धावकले अल्ट्राम्याराथनमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई जनाउँछ । अल्ट्राम्याराथन ५० किलोमिटरदेखि ४,७०० किलोमिटरसम्मको हुन्छ । यस्ता दौडहरूलाई सामान्यतया दुई भागमा विभाजन गर्न सकिन्छ, एउटा टाइम रेस हो, जसले निश्चित अवधिभित्र धावकले पार गर्ने दूरी मापन गर्दछ र अर्को चाहिँ डिस्टेन्स रेस हो, जसले पूर्वनिर्धारित दूरी पार गर्न लागेको समय मापन गर्दछ ।
धैर्यताले जीवनमा अगाडि बढ्ने कि रोकिने भन्ने कुरा निर्धारण गर्दछ । यदि कसैले कठिनाइहरूमा हार मान्छ भने, त्यो क्षण नै उसको सीमा बन्छ । अनि फेरि उस्तै कठिनाइको सामना गर्दा फेरि हार मान्यो भने त्यसले त्यो सीमालाई अझ दृढ बनाउँछ । तर दाँत किटेर दृढ सङ्कल्पका साथ अगाडि बढ्दा आफ्नो सीमा तोड्न सकिन्छ र अझ बलियो हुन सकिन्छ ।
विश्वासको उजाडस्थानमा सामना गरिने बालुवाको आँधी, बतास, वर्षा, खडेरी र काँडा जस्ता परीक्षाहरू हामीले सहनुपर्ने कारणचाहिँ हामीसँग स्वर्गीय राज्य प्रवेश गर्ने निश्चित आशा भएकोले हो । यो एक गम्भीर र महत्वाकांक्षी उद्देश्य हो जसको तुलना शिकारी युगका मानिस र रेकर्ड तोड्नका लागि म्याराथन धावकले लिने इच्छाशक्तिसँग दाज्न पनि सकिँदैन । यो उद्देश्य प्राप्त गर्नका लागि हामीलाई आत्मिक धैर्यता र दृढताका साथ विश्वासको दौड पूरा गर्ने मन चाहिन्छ । हिजोको कमजोरीहरूमा मात्र सीमित नभई आत्मिक धैर्यताको दायरा फराकिलो बनाऔँ र हरेक दिन विश्वासको नयाँ रेकर्ड कायम गरौं । अनि अनन्त जीवनको मुकुट प्राप्त नगरुञ्जेल सधैँ यसरी अगाडि बढौं ।