WATV.org is provided in English. Would you like to change to English?

दृढ रहने शक्ति, धैर्यता

21,306 भ्यु

अन्य पशुहरूको तुलनामा मानिसको शारीरिक क्षमता निकै कमजोर हुने भए पनि मानिसमा हुने एउटा अत्यन्त उच्च क्षमता छ । त्यो क्षमता नै धैर्यता हो । जङ्गली युगमा, जब मानिसहरूमा शक्ति, गति, तिखा सिङ, दाँत, वा नङ जस्ता प्राकृतिक हतियारहरूको अभाव हुन्थ्यो, तब उनीहरूले धैर्यतालाई बाँच्ने एकमात्र आधार बनाउँथे । चितुवा, सुतुरमुर्ग(अस्ट्रिच), घोडा वा हरिणजस्ता जनावरहरूले छोटो दूरीमा तीव्र गतिमा शिकार गर्छन्, तर यी जनावरभन्दा फरक प्रारम्भिक समयका मानिसहरूले धैर्य धारण गर्दै शिकार गर्थे । उनीहरूले त्यो शिकार थाकेर लखतरान नहोउञ्जेल घण्टौंसम्म त्यसलाई पछ्याउँथे । यो असामान्य धैर्यताले उनीहरूलाई आफ्नो शारीरिक कमजोरीलाई जितेर शक्तिशाली बन्न मद्दत गर्थ्यो ।

मानव शरीरको अनुसन्धान गर्ने वैज्ञानिकहरूका अनुसार मानव शरीर लामो दूरीसम्म दौड्न सक्ने गरी डिजाइन गरिएको छ । पसिना ग्रन्थीमार्फत शरीरको तापलाई बाहिर निकाल्ने शीतलन प्रणाली, टाढाको दूरीसम्म दृष्टि प्रदान गर्ने घाँटीको बलिया लिगामेन्टहरू, स्प्रिङझैँ ऊर्जा सञ्चय र मुक्त गर्ने लामो र लचिलो पिँडुला(Achilles tendons) र शक्तिशाली नितम्बका मांशपेशीहरू जस्ता सबै विशेषताहरूले मानव शरीरलाई निरन्तर गतिशील हुन मद्दत गर्दछ ।

यस्तो शारीरिक अनुकूलता र धैर्यताले मानव सीमालाई अद्भुत रूपमा विस्तार गरिरहेको छ । सन् २०१३ मा, न्युजिल्याण्डकी ४० वर्षीया महिला अल्ट्राम्याराथन धावक1ले चार दिनसम्म नसुती ५०० किलोमिटर दौडेर विश्व कीर्तिमान कायम गरिन् । उनले अत्यधिक गर्मी, प्यास, थकान र मांसपेशीको दुखाइ सहेर मानव धैर्यताको वास्तविक सीमा हामीले कल्पना गरेभन्दा धेरै पर छ भन्ने कुरा प्रमाणित गरिन् । खेलकुदबाहेक धैर्यताले मानव प्रगति, अन्वेषण, चिकित्सा, आविष्कार र कला क्षेत्रलाई अगाडि बढाउनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । धैर्यताकै कारण दुःख र चुनौतिको सामना गर्दै मानव-जातिको विकास हुन सकेको हो ।

१. ४२.१९५ किलोमिटर(२६.२१९ माइल)को आधिकारिक म्याराथन दूरी पार गर्ने धावकले अल्ट्राम्याराथनमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई जनाउँछ । अल्ट्राम्याराथन ५० किलोमिटरदेखि ४,७०० किलोमिटरसम्मको हुन्छ । यस्ता दौडहरूलाई सामान्यतया दुई भागमा विभाजन गर्न सकिन्छ, एउटा टाइम रेस हो, जसले निश्चित अवधिभित्र धावकले पार गर्ने दूरी मापन गर्दछ र अर्को चाहिँ डिस्टेन्स रेस हो, जसले पूर्वनिर्धारित दूरी पार गर्न लागेको समय मापन गर्दछ ।

धैर्यताले जीवनमा अगाडि बढ्ने कि रोकिने भन्ने कुरा निर्धारण गर्दछ । यदि कसैले कठिनाइहरूमा हार मान्छ भने, त्यो क्षण नै उसको सीमा बन्छ । अनि फेरि उस्तै कठिनाइको सामना गर्दा फेरि हार मान्यो भने त्यसले त्यो सीमालाई अझ दृढ बनाउँछ । तर दाँत किटेर दृढ सङ्कल्पका साथ अगाडि बढ्दा आफ्नो सीमा तोड्न सकिन्छ र अझ बलियो हुन सकिन्छ ।

विश्वासको उजाडस्थानमा सामना गरिने बालुवाको आँधी, बतास, वर्षा, खडेरी र काँडा जस्ता परीक्षाहरू हामीले सहनुपर्ने कारणचाहिँ हामीसँग स्वर्गीय राज्य प्रवेश गर्ने निश्चित आशा भएकोले हो । यो एक गम्भीर र महत्वाकांक्षी उद्देश्य हो जसको तुलना शिकारी युगका मानिस र रेकर्ड तोड्नका लागि म्याराथन धावकले लिने इच्छाशक्तिसँग दाज्न पनि सकिँदैन । यो उद्देश्य प्राप्त गर्नका लागि हामीलाई आत्मिक धैर्यता र दृढताका साथ विश्वासको दौड पूरा गर्ने मन चाहिन्छ । हिजोको कमजोरीहरूमा मात्र सीमित नभई आत्मिक धैर्यताको दायरा फराकिलो बनाऔँ र हरेक दिन विश्वासको नयाँ रेकर्ड कायम गरौं । अनि अनन्त जीवनको मुकुट प्राप्त नगरुञ्जेल सधैँ यसरी अगाडि बढौं ।