प्रचार यात्राको क्रममा पावल र तिनका सहकर्मीहरू, एसियामा वचन प्रचार गर्नलाई पवित्र आत्माबाट मनाही भएकोले तिनीहरू फ्रिगिया र गलातिया(वर्तमानमा मध्य-टर्की)का इलाकाहरू भएर माइसियाको साँधमा आइपुगे । तिनीहरूले बिथिनियातर्फ जाने विचार गरे । तर त्यो ठाउँमा जाने अनुमति नपाएकाले तिनीहरू पश्चिमतिर फर्किए, अनि एसिया र यूरोपको बीचमा अवस्थित त्रोआसको सिमानातिर अगि बढे ।
त्रोआसमा रात बिताउँदा पावलले माकेडोनियाका एक जना मानिसलाई दर्शनमा देखे ।
“माकेडोनिया आउनुहोस्, र हामीलाई सहायता गर्नुहोस् ।”
पावलले यो दर्शन आफ्ना सहकर्मीहरूलाई बताएपछि तिनीहरू “परमेश्वरले माकेडोनियाका मानिसहरूलाई सुसमाचार प्रचार गर्न हामीलाई बोलाउनुभएको हो” भन्दै उतिखेरै माकेडोनियातिर जान जहाजमा चढे ।
तिनीहरू माकेडोनियाको मुख्य सहर फिलिप्पीमा केही दिनसम्म बसे । तिनीहरू शबाथमा सहरको ढोकाबाट बाहिर नदीको किनारमा गए, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी तिनीहरूले अनुमान लगाएका थिए, र त्यहाँ भेला हुने स्त्रीहरूलाई पनि तिनीहरूले सत्यता सुनाए । अनि थिआटीरा सहरकी निवासी, बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउँकी एउटी ईश्वरभक्त स्त्रीले पावलको वचन सुनिन् । परमेश्वरले लिडियाको हृदय खोलिदिनुभयो, अनि तिनी र तिनका घरका सबैले बप्तिस्मा लिए । लिडियाको घरबाट सुरु भएर नयाँ करारको सुसमाचार पूरै यूरोपभरि फैलियो ।
आफूले बनाएको योजना एक्कासि अवरुद्ध हुँदा हामीहरू अन्योलमा पर्ने गर्छौं । यदि त्यही अवस्था लगातार दोहोरियो भने हतोत्साहित भई हरेस खान पुग्छौं, सुरुमै गुनासो गर्ने मन लिन पुग्छौं ।
सुरुको मण्डलीका प्रेरितहरूले अप्रत्याशित अवस्थामा पनि कहिल्यै हरेस खाएनन् नता सुसमाचार प्रचार गर्न नै छोडे, तर पवित्र आत्माले तिनीहरूलाई डोऱ्याउनुभएबमोजिम सधैँ अगि बढे । त्यसो गरेकाले जहाँ गए पनि परमेश्वरले अघिबाटै तयार गर्नुभएका मानिसहरूलाई तिनीहरूले भेट्न सके, र मुक्तिको नयाँ इतिहास रचे । सुरुको मण्डलीको उपलब्धिपूर्ण सुसमाचारको इतिहासचाहिँ पवित्र आत्माले जता डोऱ्याउनुभए पनि धन्यवादी मनद्वारा पछ्याउने विश्वासको जगमाथि बसालियो ।
हामीले खासै ख्याल नगरे पनि, हामीहरू हिँड्ने बाटो र हामीले गर्ने सम्पूर्ण कार्यहरूमा परमेश्वरको इच्छा रहेको हुन्छ । बाटो नदेखिए तापनि र कार्यहरू आफूले चाहेअनुरूप पूरा नभए तापनि निरुत्साहित हुन आवश्यक छैन । हामीले चाहेको भन्दा भिन्न अवस्था भए तापनि परमेश्वरले हामीलाई सधैँ आशिष्को बाटोमा डोऱ्याउनुहुन्छ भन्ने यथार्थतालाई पूर्ण विश्वास गर्दै हामीहरू कृतज्ञतापूर्वक परमेश्वरलाई पछ्याऔं । प्रक्रिया जति कठिन हुन्छ, परिणाम त्यति नै अझ महिमित हुनेछ ।