आजको मौद्रिक मापदण्डअनुसार मत्ती अध्याय १८को दृष्टान्तमा उल्लेखित दश हजार सुनको सिक्का र सय चाँदीको सिक्काको मूल्य कति हो ?
‘चाँदीको सिक्का’ र ‘सुनको सिक्का’चाहिँ नयाँ करारको समयको मुद्राका एकाइ हुन् । त्यो समयमा रोममा प्रयोग गरिने १ चाँदीको सिक्का करीब ४ ग्राम तौलको हुन्थ्यो, जुनचाहिँ एक जना आम मजदुर अथवा सैनिकले पाउने एक दिनको ज्याला थियो (मत्ती २०:१-२) । त्यसै गरी १ सुनको सिक्काचाहिँ क्षेत्रअनुसार थोरै फरक भए तापनि यसको तौल प्रायः २० देखि ४० किलोग्राम(करीब ३३ किलोग्राम)सम्म हुन्थ्यो ।
१०० चाँदीको सिक्काको मूल्यलाई १० हजार सुनको सिक्कासँग तुलना गर्ने हो भने हामीले परमेश्वरबाट पाएको अनुग्रह कति महान् छ, र दाजुभाइ-दिदीबहिनीको गल्ती कति सानो छ भन्ने कुरा महसुस हुन्छ । हामी मत्ती अध्याय १८मा लिखित दृष्टान्तको वचन हेरौं ।
तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्ट मेरो विरुद्धमा अपराध गरे मैले त्यसलाई क्षमा गर्ने ? के सात पल्टसम्म ?” येशूले तिनलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट । यसैकारण स्वर्गको राज्य एउटा राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसँग हिसाब लिने इच्छा गरे । जब तिनले हिसाब लिन लागे, दश हजार सुनका सिक्का ऋण लिने एक जना तिनीकहाँ ल्याइयो । तर त्यस मानिसले तिर्न नसक्दा त्यसका मालिकले त्यसलाई र त्यसका पत्नी र छोरा-छोरी र त्यसका सबै थोक बेची ऋण चुकाउने हुकुम दिए । तब त्यस नोकरले घुँडा टेकी तिनका पाउमा परेर भन्न लाग्यो, ‘मालिक, ममाथि धैर्य गर्नुहोस्, म तपाईंको सबै ऋण चुकाउनेछु ।’ तब त्यस नोकरका मालिकले टिठ्याएर त्यसलाई छोडिदिए, र त्यसको ऋण माफी गरिदिए ।” मत्ती १८:२१-२७
१ सुनको सिक्काचाहिँ ६,००० चाँदीको सिक्का बराबर हुन्छ, जुनचाहिँ आम खेतालाले ६,००० दिनमा अर्थात् १६ वर्षमा बल्ल कमाउन सक्ने रकम हो । यसलाई अमेरिकी डलरमा हिसाब गरिहेरौं । १ दिनको औसत ज्याला १०० डलर मानिलिने हो भने यो करीब ६ लाख अमेरिकी डलर बराबरको मूल्य हो । यदि १ सुनको सिक्काको मूल्य यति धेरै हुन्छ भने १० हजार सुनको सिक्का अर्थात् ६ करोड मूल्य बराबरको चाँदीको सिक्का झन् कति धेरै हुन्छ होला ? १० हजार सुनको सिक्का भनेको दैनिक मजदुरी गरेर १ लाख ६० हजार वर्षमा बल्ल कमाउन सकिने रकम हो ।
दृष्टान्तमा हेर्दा, राजासित १० हजार सुनको सिक्काको ऋण लिएको त्यस नोकरले आफ्नो बलबुताद्वारा त्यो ऋण कदापि चुक्ता गर्न सक्दैनथ्यो । त्योजस्तै हामी पनि, परमेश्वरको विरुद्धमा अक्षम्य पाप गरेका पापीहरू थियौं भन्ने यथार्थता जान्न सकिन्छ । परमेश्वरले यस्ता हामीहरूमाथि दया गर्नुभएर हाम्रा सम्पूर्ण पापहरूलाई सित्तैँमा क्षमा गरिदिनुभयो ।
जसरी परमेश्वरले हाम्रो पापलाई क्षमा गरिदिनुभयो, त्यसरी नै हामीले पनि हाम्रा दाजुभाइ-दिदीबहिनीको गल्तीलाई क्षमा गरिदिएको परमेश्वर चाहनुहुन्छ । १० हजार सुनको सिक्काको ऋण बराबरको हाम्रो पापसँग तुलना गर्ने हो भने हाम्रा दाजुभाइ-दिदीबहिनीको गल्ती त केही पनि होइन । दाजुभाइ-दिदीबहिनीको गल्तीलाई क्षमा नगर्ने मानिसलाई बाइबलमा, ‘आफूले चाहिँ १० हजार सुनको सिक्काको ऋण माफी पाएको, तर आफूले चाहिँ जाबो १०० चाँदीको सिक्काको ऋणीलाई दुर्व्यवहार गरेको दुष्ट नोकर’सँग तुलना गरिएको छ ।
“तर त्यस नोकरले निस्केर जाँदा आफ्नो सङ्गी-नोकरहरूमध्ये एक जनालाई भेट्यो, जो त्यसको एक सय चाँदीका सिक्काको ऋणी थियो । उसलाई घोक्रोमा पक्रेर त्यसले भन्यो, ‘तेरो ऋण तिरिहाल् ।’ तर त्यसको सङ्गी-नोकरले घोप्टो परेर त्यसलाई बिन्ती गऱ्यो, ‘ममाथि धैर्य गर, म तिमीलाई सबै तिरिदिनेछु ।’ तर त्यो मानेन, र गएर ऋण नतिरुञ्जेलसम्म उसलाई झ्यालखानमा हालिदियो ।” मत्ती १८:२८-३०
१० हजार सुनको सिक्का ऋण लिएको त्यस नोकरले १ लाख ६० हजार वर्षसम्म विनाविश्राम काम गऱ्यो भने मात्र उसले आफ्नो ऋण चुक्ता गर्न सक्थ्यो । तर आफूले १० हजार सिक्काको ऋण माफी पाए तापनि उसले १०० दिनको ज्याला बराबरको १०० सय चाँदीको सिक्का ऋण लिएको आफ्नो सङ्गीलाई भने माफी गर्न सकेन, जुनचाहिँ साह्रै लाजमर्दो र निर्दयी कुरा हो ।
“त्यसका सङ्गी-नोकरहरूले यी सब देखे र तिनीहरू अति दुःखित भए । तिनीहरूले गएर यी सब घटना आफ्ना मालिकलाई बताइदिए । तब मालिकले त्यस नोकरलाई आफूकहाँ बोलाएर भने, ‘ए दुष्ट नोकर, तैंले मसँग बिन्ती गरिस्, र मैले तँलाई तेरो ऋण माफी गरिदिएँ । मैले तँमाथि दया गरेझैँ तैंले पनि तेरो सङ्गी-नोकरमाथि दया गर्नुपर्नेथिएन ?’ तब त्यसका मालिकले क्रुद्ध भएर त्यसलाई सबै ऋण नतिरुञ्जेल दण्ड दिनेहरूका हातमा सुम्पिदिए ।” मत्ती १८:३१-३४
यसरी १०० चाँदीको सिक्काको ऋण माफी दिन नसक्ने त्यो नोकर अन्ततः जेलमा जाकियो । यो दृष्टान्तले हामीलाई, परमेश्वरबाट महान् अनुग्रह पाएका हामीले हाम्रा दाजुभाइ-दिदीबहिनीसित कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुरा सिकाएको छ ।
“तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ ।” मत्ती १८:३५
अझै पनि विभिन्न पक्षमा कमजोर पापी हामीहरू एकसाथ पूर्ण बन्ने प्रक्रियामा छौं । यो प्रक्रियामा, स्वर्गमा गरेको पापको मैलो र संसारको अशुद्धताले गर्दा, कहिलेकहीँ दाजुभाइ-दिदीबहिनीबीच कलह र ईर्ष्या उत्पन्न हुन पनि सक्छ । तर यदि हामीले, आफूले परमेश्वरबाट पाएको पाप-क्षमाको अनुग्रहलाई सोच्यौं भने हामीलाई दाजुभाइ-दिदीबहिनीको गल्ती केही जस्तो पनि लाग्दैन । नयाँ करारद्वारा परमेश्वरको प्रतिज्ञाका साझेदार भएका हाम्रा दाजुभाइ- दिदीबहिनीका गल्तीहरू सबै क्षमायोग्य पाप हुन् । यदि हामीले दाजुभाइ-दिदीबहिनीको गल्तीलाई फराकिलो मनद्वारा ढाकछोप गरिदियौं भने हामीले पनि परमेश्वरसमक्ष पाप-क्षमाको निम्ति बिन्ती गर्न सुहाउँछ ।
“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर: … हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं । …” मत्ती ६:९-१३
दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ डुलिहिँड्ने(१ पत्र ५:८) यो युगमा, सियोनका दाजुभाइ-दिदीबहिनीबीच हुनैपर्ने कुरा भनेकै एकता हो । किनभने जहाँ कलह हुन्छ, त्यहाँ दियाबलसले सजिलै आक्रमण गर्छ, तर मेलमिलाप भएको ठाउँमा चाहिँ त्यसको केही सीप लाग्दैन ।
मनमा गनगन र घृणा उत्पन्न हुँदा, हामीले माताको शिक्षालाई याद गऱ्यौं भने हाम्रो आत्मा सधैँ जागा रहन्छ । जब हामीले समुद्रजस्तै फराकिलो मनद्वारा दाजुभाइ-दिदीबहिनीको गल्तीलाई ढाकछोप गरिदिन्छौं, तब हामीमा सुन्दर एकता कायम हुन्छ, जसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ ।
“समुद्रले सम्पूर्ण फोहोर-मैला लिएर शुद्ध गराएजस्तै सम्पूर्ण दाजुभाइ-दिदीबहिनीको गल्तीलाई समेत ढाकछोप गर्न सक्ने समुद्रजस्तै फराकिलो मन नै सच्चा सुन्दर मन हो ।” माताको शिक्षा