सन् १९९७मा ब्लकबस्टर बनेको चलचित्र ‘टाइटानिक’ । गहिरो आन्ध्र महासागरमा टाइटानिक डुबिरहँदा चलचित्रका मुख्य पात्र ज्याकले हड्डीसमेत ठिहिऱ्याउने चिसो पानीबाट रोजलाई उचालेर, तैरिरहेको जहाजको टुक्रामाथि राखे । अन्तमा ज्याक आफूचाहिँ बरफजस्तै चिसो भएर समुद्रमा डुबे । धेरै मानिसहरूलाई भावविह्वल बनाएको ज्याक र रोजको अन्तिम बिछोडको त्यो दृश्यलाई, अहिले पनि उत्कृष्ट चलचित्र दृश्यको रूपमा लिने गरिन्छ ।
‘टाइटानिक’ चाहिँ वास्तविक घटनामा आधारित चलचित्र हो । सन् १९१२ अप्रिल १० तारिखमा, त्यो समयमा विश्वकै सबैभन्दा ठूलो पानीजहाज टाइटानिकले बेलायतको साउथ हेम्पटनबाट अमेरिकाको न्यू योर्कतर्फ करीब २,२०० यात्रु बोकेर औपचारिक यात्रा सुरु गरेको थियो । हुन त त्यसलाई ‘कदापि नडुब्ने जहाज’ भनिए तापनि प्रकृतिको शक्तिको तुलनामा त्यो केही रहेन । यात्रा सुरु गरेको ४ दिनपछि त्यो भाँचियो र गहिरो सागरमा डुब्यो ।
जहाज डुबेको दुई घण्टापछि, त्यसको नजिक भएर गइरहेको कार्पाथियाले रेडियो सङ्केत प्राप्त गरेर त्यहाँ आउन त आइपुग्यो, तर त्यहाँ पुग्दाखेरि लाइफबोटमा भएकाहरूबाहेक १,५०० जना यात्रुहरूले ज्यान गुमाइसकेका थिए । धेरैजसो यात्रुहरूले लाइफ ज्याकेट लगाएका भए पनि त्यस्तो दुःखद दुर्घटना घट्नुको कारण के थियो होला ?
आकस्मिक शरीरको तापक्रम परिवर्तनले ज्यानलाई जोखिममा पार्छ
पुरुषहरू समतप्ती हुन्छन् । वरिपरिको वातावरणमा ठूलो परिवतर्न आए तापनि उनीहरू आफ्नो शरीरको तापक्रमलाई तुलनात्मक रूपमा स्थिर राख्न सक्छन् । मानव शरीरको साधारण तापक्रम ३६.५ डिग्री सेल्सियस हो । यदि तापक्रम योभन्दा घटबढ भयो भने मानिसको ज्यान जोखिममा पर्न सक्छ । लाइफबोटमा चढ्न नसकेर पानीमा हाम फालेका अधिकांश मानिसहरू मर्नुको कारण पनि चिसो सागरमा तिनीहरूको शरीरको तापक्रम स्वात्तै घटेकोले गर्दा हो ।
शरीरको केन्द्रीय तापक्रम१ ३४ डिग्री सेल्सियसमा झऱ्यो भने मानिस मानसिक दुविधाले ग्रस्त भएर गहिरो निद्रामा पर्नेछ । यदि तापक्रम ३० डिग्री सेल्सियसमा झऱ्यो भने मानिसको मुटुको धड्कन सुस्त हुनेछ, र मासंपेशीहरू अरठ्ठ हुनेछ । अनि तापक्रम २८ डिग्री सेल्सियसदेखि मुनि झऱ्यो भने मानिसको मुटुको धड्कन अनियमित भएर हृदयघात हुन सक्छ । तब रक्तचाप धेरै कम हुने भएकोले उसले होश गुमाउनेछ, र अन्ततः मर्नेछ । यसको ठीक विपरीत, मानिसको शरीरको तापक्रम ४१ डिग्री सेल्सियसदेखि माथि गयो भने शरीर एक्कासि काँप्न थाल्छ । भनिन्छ, मानिसले आफ्नो जीवन धान्न सक्ने सबैभन्दा अधिकतम तापक्रम भनेको ४३ डिग्री सेल्सियस हो ।
१. शरीरको केन्द्रीय तापक्रम(Core body temperature) भनेको कुनै पनि प्राणीको मस्तिष्कसहित शरीरको भित्री तापक्रम हो ।
यसरी शरीरको तापक्रममा थोरै मात्र परिवर्तन हुँदाखेरि शरीरको गतिविधि पनि नाटकीय ढङ्गमा खस्कँदैजान्छ । त्यसो हुनुको कारणचाहिँ, शरीरको चयापचय(metabolism) र रसायनिक प्रतिक्रियासँग सम्बन्धित छ । चयापचयलाई बढाउने अनि त्यसको कार्यलाई नियन्त्रण गर्ने इन्जाइम र हर्मोनहरू प्रायः प्रोटिनबाट बन्छ । शरीरको तापक्रम बढ्दा इन्जाइम र हर्मोनहरूको प्रतिक्रिया पनि तीव्र हुन्छ, तर निश्चित तापक्रमभन्दा बढी भयो भने मासु पाकेजस्तै प्रोटिनले पनि आफ्नो गुण गुमाएर काम गर्दैन । शरीरको तापक्रम घट्दाखेरि इन्जाइम र हर्मोनहरूको प्रतिक्रियाको समय पनि स्वात्तै घट्छ ।
शरीरको तापक्रम कायम राख्नलाई गरिने प्रयासहरू
इन्जाइम र हर्मोनहरूको कार्य उत्तम हुने तापक्रम भनेको करीब ३७ डिग्री सेल्सियसमा हो, अनि तापक्रममा थोरै मात्र बद्लाव आयो कि तिनमा असर देखिन्छ । यसले हाम्रो शरीरलाई राम्ररी कार्य गर्ने गराउनको निम्ति शरीरको तापक्रमलाई उपयुक्त राख्न निरन्तर प्रयास गर्दछ । चाहे तातो ठाउँमा होस् वा चिसो ठाउँमा, शरीरको तापक्रम सधैँ नियन्त्रित नै रहन्छ । हाम्रो शरीरको तापक्रमलाई नियमित गराउने मस्तिष्कको भागचाहिँ डायन्सिफेलनमा रहेको हाइपोथालामस हो ।
सर्वप्रथम, हिउँदमा जस्तै वरिपरिको तापक्रम घट्दा हाम्रो शरीरमा के-कस्ता परिवर्तनहरू देखा पर्छ भन्नेबारे बुझौं । शरीरको तापक्रमभन्दा वरिपरिको तापक्रम कम हुँदा शरीरबाट ताप हट्ने भएकोले शरीरको तापक्रम चिसो हुँदैजान्छ । हाइपोथालामसले संवेदक स्नायुमार्फत तापक्रम घटेको सङ्केत प्राप्त गर्नासाथ त्यसले शरीरको प्रत्येक भागलाई सकेसम्म ताप नहटाउनलाई आदेश दिन्छ । संवेदक स्नायुमार्फत त्यसले रगतको प्रवाह कम गर्न केशिकाहरूलाई सङ्कुचित गर्छ, अनि एरेक्टर पिली मांसपेशीहरूलाई२ सङ्कुचित गरेर छालाका रौँहरू ठाडो बनाउँदै आङ जिरिङ्ग गराउँछ । यसले पसीनालाई उल्लेखनीय रूपमा कम गराउन छिद्रहरूलाई पनि कसिदिन्छ ।
२. एरेक्टर पिली मांसपेशी : छालामा भएका रौँका जराहरूमा जोडिएको मांसपेशी
हाइपोथालामसले मांसपेशीहरूलाई ताप उत्पादन गर्न सङ्केत पठाउँछ । यसले मोटर स्नायुद्वारा मांसपेशीमा तनाव वृद्धि गराएर निजको इच्छालाई वास्ता नगरी शरीरमा कम्पन ल्याउँछ । त्यसैकारण चिसो महसुस गर्दा दाँतहरू पनि किट-किट गर्ने गर्छ । कहिलेकहीँ पिसाब गरेपछि शरीरमा एकैछिन कम्पन हुनु पनि, बाहिर निस्किएको तापलाई भरपाई गर्नको निम्ति हो । संवेदक स्नायुहरूले मस्तिष्कमा पनि काम गर्ने भएकोले यसले शरीरको तापक्रमलाई नियन्त्रित गर्न धेरै लुगा लगाउने अथवा जानी-जानी शरीरलाई चलहल गर्ने गराउँछ । शरीरले ओगट्ने ठाउँलाई कम गराउन र शरीरको ताप गुम्न नदिन मस्तिष्कले शरीरलाई एकै ठाउँमा डल्लो पर्ने गराउँछ । शरीर चलहल गर्न नसक्ने नाबालक शिशुहरूको अवस्थामा चाहिँ यसले एड्रेनल ग्रन्थिको मेडुलाबाट निस्कने एपिनेफ्रीनलाई बढाउँछ, अनि चयापचय बढाएर शरीरको ताप वृद्धि गराउन केही थाइरोइड हर्मोनहरूले कार्य गर्छ ।
यसको ठीक विपरीत, शरीरको तापक्रम गर्मीयाममा जस्तै तातो छ भने त्यसलाई वृद्धि हुन नदिनको निम्ति शरीरले ताप फाल्छ, र तापको उत्पादनलाई दबाइदिन्छ । हाइपोथालामसले तापक्रम बढेको थाहा पाउँदा सकेसम्म धेरै ताप निकाल्न यसले संवेदक स्नायुमार्फत छालाका केशिकाहरूलाई शिथिल पार्छ । शरीरबाट तापलाई निकाल्नको निम्ति छिद्रहरू खुलेर पसीना बढी मात्रामा निस्कन्छ । योचाहिँ पसीना वाष्पीकरण हुँदै शरीरलाई शीतल बनाएर शरीरबाट ताप निकाल्नको निम्ति हो । आर्द्रता उच्च हुँदा तापलाई सहन झन् गाह्रो हुने भएकोले शरीरलाई पनि पसीनाद्वारा ताप बाहिर निकाल्न अझ गाह्रो हुन्छ ।
समस्थितिको महत्त्व
वातावरण परिवर्तनशील छ । शरीरको तापक्रमलाई मात्र हेर्दा पनि, परिवर्तन ल्याउन सक्ने कारकहरू थुप्रै छन् । तापक्रमको एक्कासि परिवर्तनदेखि लिएर सङ्क्रमणसम्म हामीहरू असङ्ख्य कारकहरूद्वारा प्रभावित छौं । तैपनि हामी यसबारे सचेत नभए पनि शरीरको तापक्रम भने असङ्ख्य प्रकियाहरूद्वारा नियन्त्रित हुन्छ, अनि यसले धेरै अङ्गहरूसित सहकार्य गर्ने भएकोले औसतको दायराभन्दा बाहिर जाँदैन । शरीरको तापक्रम मात्र होइन, रगतमा ग्लुकोजको मात्रा, मुटुको धड्कन र रक्तचाप पनि सधैँ स्थिर रहने भएकोले हाम्रो जीवन कायम रहन सकेको हो ।
कहिलेकहीँ प्रणाली सन्तुलनभन्दा बाहिर जाँदा अन्तिममा यसले शरीरको प्रणालीका अन्य अङ्गहरूलाई असर गर्छ, जसले गर्दा शरीर समस्थितिलाई दिगो राख्न असफल हुनेछ । हाम्रो शरीरले आफ्नो समस्थिति गुमाउँदा हामीहरू बिरामी छु भन्ने गर्छौं । यदि परिवर्तनलाई नियन्त्रण गर्ने एकमात्र तरिका भएको भए र प्रक्रियालाई व्यवस्थित गर्दा समस्या आयो भने मानिसले तुरुन्त ज्यान गुमाउन पुग्छ । त्यसैले हाम्रो शरीरको प्रणाली यति विविध र जटिल तरिकाले नियन्त्रित गरिएको छ, कि शरीरको एउटा प्रणालीले काम नगरे पनि अर्को तरिकाद्वारा उस्तै परिणाम प्राप्त गर्न सकिन्छ ।
धन्न हाम्रो शरीर जाडो र गर्मी मौसममा पनि स्थिर तापक्रम कायम राख्न सक्ने गरी राम्ररी बनेको छ । चाहे तापक्रम –४० डिग्री सेल्सियसभन्दा कम हुने आन्ध्र महासागर होस् अथवा ६० डिग्रीभन्दा माथि हुने मरुभूमिमा नै किन नहोस्, शरीरले लुगाको थोरै सहयोगद्वारा ३६.५ डिग्री सेल्सियसको उपयुक्त तापक्रम कायम राख्दछ । हामीले जाडो महसुस गरेर उपयुक्त लुगा लगाएको र टन्टलापुर घाममा हाते पङ्खा प्रयोग गरेको छोटो क्षणमा हाम्रो शरीरभित्र अङ्ख्य कामहरू भइरहेको हुन्छ ।
एउटा डोरीमा एक-एक पाइला चाल्दै हिँड्ने एक्रोब्याटको प्रतिभाशाली सन्तुलनको क्षमताले हामीलाई आश्चर्यचकित पार्छ । डोरीमा हिँडेजसरी हाम्रो शरीरले पनि समस्थिति कायम राखिरहेको छ । हामीले महसुस नगरे तापनि सावधानीपूर्वक र विभिन्न तरिकाद्वारा जीवनलाई कायम राख्ने हाम्रो शरीरले साँच्चै नै हामीलाई चकित पार्दछ ।