परमेश्वरले हामीलाई कुनै कुराको अनुरोध गर्नुहुँदा निश्चय नै त्यो कार्यमा आशिष् दिन चाहनुहुने परमेश्वरको इच्छा लुकेको हुन्छ । यो समयका हामीहरूलाई सुसमाचार प्रचार गर्ने जिम्मा दिइएको छ । योचाहिँ वास्तवमा अरूको मुक्तिको निम्ति मात्रै नभएर हाम्रो आफ्नै आत्माको मुक्तिको निम्ति हो । यो वास्तविकतालाई हृदयमा राखेर हामीहरू विश्वासको बाटोमा हिँड्नुपर्छ ।
मोशाको समयमा परमेश्वरको अनुग्रहद्वारा इस्राएलीहरू दासत्वको देश मिश्रबाट छुटकारा पाएर कनानतिर प्रस्थान गरेका थिए । उजाड-स्थानको यात्राको क्रममा तिनीहरू सांसारिक स्वभावमा फसे । मोशा दश आज्ञा लिन सीनै पर्वतमा उक्लँदा इस्राएलीहरूले मूर्तिपूजा गरे । परिणामस्वरूप, तिनीहरूमाथि परमेश्वरको क्रोध खनियो र ३,००० जना मानिसहरू मारिए ।
जब मानिसहरूले मोशालाई पर्वतबाट ओर्लन बियाँलो गरेका देखे, तब तिनीहरू हारूनकहाँ भेला भएर तिनलाई भन्न लागे, “उठ्नुहोस्, र हाम्रा अगिअगि जानलाई देवताहरू बनाउनुहोस्, किनकि हामीलाई मिश्रबाट निकालेर ल्याउने मोशालाई के भयो हामी जान्दैनौं ।” हारूनले तिनीहरूलाई भने, “तिमीहरूका पत्नीहरू र छोराछोरीहरूका कानमा भएका सुनका कुण्डलहरू फुकाली यहाँ मकहाँ ल्याओ ।” … तिनले ती तिनीहरूका हातबाट लिएर हतियारले खोपे, र ढालेर बाछाको आकारको एउटा मूर्ति बनाए । तब तिनीहरूले भने, “हे इस्राएली हो, तिमीहरूलाई मिश्रबाट निकालेर ल्याउने तिमीहरूका देवताहरू यी नै हुन् ।” … तब तिनीहरूले बनाएको त्यो बाछो लिएर तिनले आगोमा जलाइदिए, र त्यसलाई धूलोपीठो पारेर पानीमा छरिदिए । अनि तिनले इस्राएलीहरूलाई त्यो पिउन लाए । … तब लेवीका सन्तानहरूले मोशाले भनेअनुसार गरे । त्यस दिन मानिसहरूमध्ये तीन हजार जति पुरुष मारिए । प्रस ३२:१-२८
यसको ठीक विपरीत, सुसमाचारको युगमा केवल बाह्र प्रेरितहरू लगायत केही चेलाहरूले एकै दिनमा ३,००० जना मानिसहरूलाई बचाउन सकेका थिए । तिनीहरूले पेन्तिकोसको चाडमा एकै मनका भएर लगातार प्रार्थना गरेर पवित्र आत्मा पाएकाले त्यो सम्भव भएको थियो ।
जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए । अनि स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरू बसेको पूरा घरै भरिदियो । आगोका जिब्राहरूजस्ता तिनीहरूकहाँ देखा परे, र भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे । अनि तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारणबमोजिम तिनीहरू अन्य भाषाहरूमा बोल्न लागे । … तर पत्रुसले एघार जनासँग खडा भएर उच्च सोरमा तिनीहरूलाई भने, “यहूदियाका मानिस हो, र यरूशलेमका जम्मै बासिन्दाहरू, तपाईंहरूलाई यो कुरा थाहा होस्, र मेरा कुरा सुन्नुहोस् । … अरू धेरै कुराहरूद्वारा उनले तिनीहरूलाई गवाही दिए, र यसो भनेर अर्ती दिए, “यस दुष्ट पुस्ताबाट तिमीहरूले आफैलाई बचाओ ।” तब जस-जसले उनको कुरा ग्रहण गरे तिनीहरूले बप्तिस्मा लिए, र त्यसै दिन प्राय: तीन हजार मानिसहरू तिनीहरूको सङ्ख्यामा थपिए । प्रे २:१-४१
यसरी विपरीत परिणाम ल्याएका यी दुई अवस्थालाई तुलना गर्दा, हाम्रो विश्वासको जीवनमा सुसमाचार प्रचार गर्नु कति महत्त्वपूर्ण छ भन्ने कुरा हामीहरू बुझ्न सक्छौं ।
३,००० जना नष्ट भएको पुरानो करारको इतिहासले हामीलाई आफ्नो शरीरको निम्ति मात्र सोच्नुहुँदैन भन्ने शिक्षा दिएको छ । मोशालाई पर्वतबाट तल ओर्लिन लामो समय लागेकोले इस्राएलीहरू हडबडाउन थाले । अगुवा नभएकोले तिनीहरूले असुरक्षित महसुस गरे, अनि मरुभूमिमै नष्ट भइन्छ कि भनेर डराए । त्यस्तो सङ्कष्टको समयमा तिनीहरूले परमेश्वरप्रतिको विश्वासलाई त्यागेर सुनको बाछा बनाउने निर्णय गरे । प्रत्येकले ‘यहाँ कसरी बाँच्न सकिन्छ र ?’ भन्दै आफ्नो सुरक्षाको निम्ति मात्र फिक्री गर्न थाले, अनि अन्तत: तिनीहरूले आफ्ना निम्ति त्यस्तो मूर्ति बनाएरै छाडे ।
अर्कोतिर सुरुको मण्डलीका चेलाहरूले चाहिँ ‘कसरी तिनीहरूलाई बचाउने होला ?’ भन्दै अरूहरूको उद्धारको निम्ति सोचे । तिनीहरू जस्तोसुकै त्रासपूर्ण अवस्थामा पनि निडर भएकाले एकै दिनमा ३,००० जना मानिसहरूलाई बचाउन सकेका थिए । येशूज्यू क्रूसमा टाँगिनुभयो, तिनीहरूले निरन्तर नोक्सानी बेहोर्नुपरेको थियो । त्यस्तो परिस्थितिको बाबजुद तिनीहरूले आफ्नो सुरक्षाको फिक्री गरेनन्, बरु उल्टै सुसमाचार प्रचारको मिसन पूरा गरेर धेरै आत्माहरूलाई बचाए ।
सुनका सिक्काको दृष्टान्तमा, धेरै सिक्का कमाएको नोकरले प्रशंसा र आशिष् पायो, तर आफूले पाएको सिक्कालाई जमिनमुनि लुकाएको नोकरले आफूसँग भएको पनि गुमायो ।
उजाड-स्थानमा इस्राएलीहरू पनि एक सिक्का लुकाउने त्यो नोकरजस्तै थिए । प्रेरितहरूले सुसमाचार प्रचार गरेर ३,००० जना मानिसहरूलाई मुक्तिमा डोऱ्याएको त्यो महान् कार्यलाई स्मरण गर्दा, आफ्नो लगायत अरूहरूको आत्माको मुक्तिको निम्ति सुसमाचार प्रचार गर्नु साँच्चै कति महत्त्वपूर्ण छ भन्ने कुरा हामीहरू महसुस गर्न सक्छौं ।
ख्रीष्टले आफ्नो एउटै शरीर बलिदान गर्नुभएर सारा संसारलाई बचाउनुभयो ।त्यसैले उहाँ सम्पूर्ण मानव-जातिबाट सम्मानित हुनुहुन्छ । यो समयमा पनि ख्रीष्टले धेरै मानिसहरूबाट प्रशंसा पाइरहनुभएको छ । उहाँको प्रेमले हाम्रो हृदयलाई न्यानो पारिरहेको छ ।
हामीले अरूलाई बचाएमा आफू पनि बाँच्न सक्छौं भन्ने कुरा क्रूसको सन्देशमा पाउन सकिन्छ । त्यसैले येशूज्यूले “सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर” भन्नुभयो (मर्क १६:१५) ।
हामीले प्रचार नगरेकोले यदि कोही मानिसले उद्धार पाउन सकेन भने परमेश्वरले त्यसको लेखा पहिला सत्यता पाएका हामीहरूबाट लिनेछु भन्नुभएको छ ।
“… मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्याएको छु । यसैले मैले भनेको कुरा सुन् अनि तिनीहरूलाई मबाट चेताउनी तैंले दे, (तैंले तिनीहरूलाई मेरो चेतावनी सुनाउनेछस्, सरल नेपाली अनुवाद) … त्यसका रगतको लेखा म तँबाट लिनेछु ।” इज ३:१७-२१
वर्तमान समयका हामीहरू परमेश्वरले नियुक्त गर्नुभएको सत्यताका पहरादारहरू हौं । पहरादारको कर्तव्य भनेको परमेश्वरले दिनुभएको चेताउनीको वचन संसारलाई सुनाउनु हो । यदि कुनै पहरादारले शत्रुहरू आएको देख्यो भने उसले आफ्ना मानिसहरूलाई चेताउनी दिन्छ । तर यदि पहरादारले मानिसहरूलाई चेताउनी दिनुपर्ने आफ्नो कर्तव्य पूरा गरेन भने के हुन्छ होला ? सबै मानिसहरू नष्ट हुनेछन्, र परमेश्वरले त्यसको लेखा पहरादारबाट लिनुहुनेछ । यो नै परमेश्वरले दिनुभएको कडा आज्ञा हो !
परमेश्वरले हामीलाई पहरादार नियुक्त गर्नुभएर यस्तो कडा आज्ञा दिनुभएको चाहिँ वास्तवमा हाम्रै मुक्तिको निम्ति हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । जब हामीहरू सुसमाचार प्रचार गर्छौं तब हामीले सामान्य रूपमा मात्र बुझेको परमेश्वरको प्रेमलाई साँच्चै हृदयदेखि महसुस गर्न सक्छौं । कसैको हृदयमा परमेश्वरको प्रेम रोप्न खोज्दाखेरि हामी आफैले परमेश्वरको आज्ञाको महत्त्व बुझ्न पुग्छौं । पवित्र आत्मा र दुलहीप्रतिको हाम्रो विश्वास झन् प्रगाढ हुँदैजान्छ, अनि परमेश्वरको प्रेम हाम्रो हृदयमा अझ गहिरो गरी खोपिएको महसुस गर्न सक्छौं ।
यद्यपि सुसमाचार प्रचार गरिएन भने परमेश्वरको प्रेम र अनुग्रह महसुस गर्न सकिँदैन, र अन्तत: परमेश्वरको प्रेम बिर्सन पुगिन्छ । इस्राएलीहरू परमेश्वरको अनुग्रहलाई बिर्सिएर परमेश्वरको विरुद्धमा गनगन गरी अन्त्यमा नष्ट भएजस्तै, वर्तमान समयका हामीले पनि पहरादारको कर्तव्य पूरा गरेनौं भने हामीहरू पनि नष्ट हुन पुग्छौं । परमेश्वरले “त्यसको रगतको लेखा म तँबाट लिनेछु” भन्नुभयो । यी वचनहरूद्वारा हामीले परमेश्वरको इच्छा राम्ररी बुझ्न सक्छौं । हामीले सधैँ परमेश्वरमा भरोसा गरेको परमेश्वर चाहनुहुन्छ । परमेश्वरलाई धन्यवाद चढाउँदै आफूलाई दिइएको पहरादारको कर्तव्य हामीले ईमानदारिताका साथ पूरा गर्नुपर्छ ।
सम्पूर्ण मानव-जातिलाई एकलै प्रचार गर्न सक्नुहुने परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ । हामीलाई मुक्तिको आशिष् दिनको निम्ति परमेश्वरले हामीलाई प्रचारको महान् कार्यको जिम्मा दिनुभएको हो ।
“तर जब म तँसित कुरा गर्छु, तब म तेरो मुख खोलिदिनेछु, र तैंले तिनीहरूलाई भन्नेछस्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ ।’ सुन्न चाहनेले ध्यानसित सुनोस्, इन्कार गर्नेले इन्कार गरोस् …” इज ३:२७
परमेश्वरले हामीलाई उहाँको वचन सुनाउनू भन्नुभएको छ । परमेश्वरको आज्ञा थाहा नभएकाहरूलाई हामीले उहाँको आज्ञा सुनाउनुपर्छ, स्वर्ग र नरकको अस्तित्व थाहा नभएकाहरूलाई त्यसको बारेमा सुनाउनुपर्छ, अनि समयको अर्थ लगाउन नजान्नेहरूलाई बाइबलको अगमवाणी सुनाउनुपर्छ ।
मानिसहरू आफूले गरिरहेको कुराहरूमा मात्र चासो राख्ने गर्छन् । उदाहरणको लागि, फुटबल खेलाडीले धेरै गोल हान्नमा चासो राख्छ भने मछुवाचाहिँ धेरै माछाहरू पक्रनमा चासो राख्छ । त्यसै गरी प्रचारकहरूचाहिँ कसो गरेमा धेरै आत्माहरूलाई परमेश्वरकहाँ डोऱ्याउन सकिन्छ होला भन्नेबारे सोच्दछन् । प्रचार गर्नेहरू र प्रचार नगर्नेहरूको विश्वासमा ठूलो भिन्नता छ । यहाँहरूलाई यी दुईमध्ये स्वर्गको गहिरो आशा गर्ने, परमेश्वरलाई धेरै याद गर्ने र सत्यताको नजिक रहनेहरू को हुन् जस्तो लाग्छ ?
स्वर्गको आशा लिने मानिसहरूको सबैभन्दा महत्त्वपूर्ण कार्य नै प्रचार हो भनेर बाइबलमा भनिएको छ ।
किनकि यदि मैले सुसमाचार प्रचार गरें भने त्यसमा मैले घमण्ड गर्ने केही कारण छैन । किनकि यसो गर्न म बाध्य छु । यदि सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्कार छ । १ कोर ९:१६
माथिको वचनलाई हेर्दा, हामी सबैको सारा कर्तव्य नै प्रचार हो भनी जान्न सकिन्छ नि, होइन र ? यदि कुनै पहरादारले आफ्नो कर्तव्य पूरा गरेन भने त्यो पहरादार या त शत्रुबाट मारिन्छ या त त्यसले कानूनअनुसार मृत्युदण्ड पाउँछ । यसै गरी हामीले पनि प्रचारकको कर्तव्य पूरा गरेनौं भने मुक्तिको आशिष् गुमाउन पुग्छौं ।
त्यसैले प्रेरित पावलले पहरादारको कर्तव्य पूरा गर्न लगनशीलताका साथ प्रचार गरेका थिए ।
… मैले ज्यादै परिश्रम गरें । कैदमा अझ धेरै पल्ट परें । अनगिन्ती कोर्रा खाएँ । मृत्युको मुखमा बारम्बार परें । पाँच पल्ट मैले यहूदीहरूका हातबाट एक कम चालीस गरी कोर्रा खाएँ । तीन पल्ट मलाई लौराले पिटे । एक पल्ट ढुङ्गाले हाने । तीन पल्ट म चढेको जहाज ध्वस्त भयो । एक दिन एक रात मैले समुद्रमा नै बिताएको छु । मेरो बारम्बारको यात्रामा म नदीहरूका जोखिममा परें … भोक र प्यासमा, बारम्बार उपवासमा, ठन्डी र नग्नतामा परें । २ कोर ११:२१-२७
प्रेरित पावल हिँडेका विश्वासको जीवनको बाटो दु:ख, कष्ट, पीडा र सतावटले भरिएको थियो । यस्ता कुराहरूको बाबजुद उनी सुसमाचार प्रचार गर्नमा निरुत्साहित भएनन्, तर जहाँ र जहिले पनि उनले साहसका साथ सुसमाचार सुनाए । उनी प्रचारद्वारा दिनको सुरु गर्ने र प्रचारद्वारै दिनको अन्त्य गर्ने ईमानदार पहरादार थिए, र परमेश्वर सधैँ उनको साथमा हुनुहुन्थ्यो ।
छाप्रो-वासको चाडको युगमा जिइरहेका हामीहरू, अन्तिम झरी पवित्र आत्माको निम्ति तिर्खाइरहेका छौं । यदि हामीले कुनै उद्देश्यविना पवित्र आत्मा माग्यौं भने त्यो निरर्थक हुन्छ । योचाहिँ पैसाको आवश्यकताबारे नजानीकन बुबा-आमासँग पैसा माग्ने बालकजस्तै हो । अनि हामीले पवित्र आत्मा पाएपछि पनि प्रचार गरेनौं भने त्यसको के अर्थ रह्यो र ?
सुरुका मण्डलीको समयमा, चेलाहरूले पेन्तिकोसको चाडमा पहिलो झरी पवित्र आत्मा पाएपछि अझ लगनशीलताका साथ सुसमाचार प्रचार गरेका थिए । त्यसको परिणामस्वरूप एकै दिनमा ३,००० जनाभन्दा बढी मानिसहरूले पश्चात्ताप गरे । यो युगमा हामीहरूले परमेश्वरसँग अन्तिम झरी पवित्र आत्मा माग्नुपर्छ, अनि लगनशीलताका साथ सुसमाचार प्रचार गर्नुपर्छ । तब परमेश्वरले हामीमा अझ धेरै पवित्र आत्माको शक्ति बर्साउनुहुनेछ ।
यो युग प्रचार गर्ने युग हो । हामीहरू बचाइएकाले अरूहरूलाई पनि बचाउनुपर्छ । ख्रीष्टले आफैलाई बलिदान गर्नुभएर धेरै मानिसहरूलाई बचाउनुभएजस्तै, हामीहरूले पनि जति आफूलाई बलिदान गर्छौं, त्यति नै धेरै आत्माहरूलाई बचाउन सक्नेछौं । हामीहरू प्रेरित पावलले जस्तै, पहरादारको कर्तव्य पूर्ण रूपमा निभाएर सुन्दर फल फलाऔं ।
अनि परमेश्वरले दिनुभएको सिक्काद्वारा एक आत्मा भए पनि बचाउनमा परिश्रम गर्ने ख्रीष्टको कामदार भएर मुक्तिमा प्रवेश गर्न सक्ने सियोनका दाजुभाइ तथा दिदीबहिनीहरू बन्नुहोस् भन्ने चाहन्छु । धेरै आशिष् पाउनुहोस् ।