तिनीहरू सबैले एकै मनका भएर निरन्तर प्रार्थना गरे

प्रेरित १-२

20,286 भ्यु

“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ ।”

येशूज्यूले आफ्नो अन्तिम अनुरोध भन्नुभएर स्वर्ग उचालिनुभएपछि, उहाँका चेलाहरू जैतून डाँडाबाट यरूशलेम फर्किए । तिनीहरू माथिल्लो तलामा आफू बस्ने कोठामा गए, र सबै एकै मनका भएर निरन्तर प्रार्थना गरे ।

दश दिनपछि, पेन्तिकोसको दिन आयो । स्वर्गबाट अचानक ठूलो बतासको झोक्काजस्तै एउटा आवाज आयो र तिनीहरू बसेको पूरा घरै भरिदियो, र आगोका जिब्राहरूजस्ता भाग-भाग भएर तिनीहरू हरेकमाथि बसे । येशूज्यूले, “पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि” भन्नुभएअनुसारै सबै भयो ।

एकै चित्त र मनका भएर व्यग्रतापूर्वक प्रार्थना गरेपछि, चेलाहरूले पेन्तिकोसको दिनमा पवित्र आत्मा पाए र येशूज्यूको गवाही दिँदै साहसका साथ सुसमाचार प्रचार गरे । परिणामस्वरूप, एउटा आश्चर्यजनक घटना घट्यो जसअनुसार तीन हजार मानिसहरूले पश्चात्ताप गरेर मुक्तिदातालाई ग्रहण गरे ।

एकै मनका भएर प्रार्थना गर्दै पेन्तिकोसको दिनमा पवित्र आत्मा पाएकाहरूको निम्ति प्रेरितहरूको युगको इतिहास केवल एउटा सपना मात्र होइन । जसरी सुरुको मण्डलीको समयमा नयाँ करारको सुसमाचार येरूशलम र इस्राएलमा मात्र नभएर विदेशी भूमिमा समेत फैलियो त्यसरी नै “राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाहीको निम्ति प्रचार गरिनेछ” भन्ने अगमवाणी यो युगमा स्पष्ट रूपमा पूरा भइरहेको छ । एकै मन र एकै चित्तका भएर पवित्र आत्मा पाएका हामी सबै साहसका साथ यस युगका मुक्तिदाताको गवाही दिऔं ।