अटुट मनोभावको शक्ति

14,546 भ्यु

हेनरी म्याटिस (Henri Matisse)एक प्रतिभाशाली चित्रकार हुनुका साथै २०औँ शताब्दीका ग्राफिक कलाका सबैभन्दा प्रभावशाली व्यक्तित्व थिए, तर उनको सपना चित्रकार बन्ने थिएन । सुरुमा कलामा विशेष रुची नभएका म्याटिसले कानून विषय अध्ययन गरेर अदालतको कर्मचारीको रूपमा सामान्य जीवन बिताए । त्यो समयमा अत्यन्त गम्भीर मानिने एपेन्डिसाइटिस रोग लागेपछि उनको जीवन नाटकीय रूपमा परिवर्तन भयो । शल्यक्रियापछि लामो समयसम्म निको हुने क्रममा, उनकी आमाले उनलाई एउटा रङ्गको बक्सा उपहारस्वरूप दिइन्, जसले गर्दा उनको जीवन पूर्ण रूपमा परिवर्तन भयो ।

कलाको संसारमा पूर्ण रूपमा मोहित भएका म्याटिसले आफ्नो बुबाको विरोधको बाबजुद चित्रकारको रूपमा आफ्नो जीवन फेरि सुरु गरे । पछि उनले चित्रमा आफ्ना भावनाहरू पोखिने गरी स्वतन्त्र रूपमा उज्यालो रङ्गहरूको प्रयोग गर्ने फौविजम् (Fauvism)को आविष्कार गरेर आधुनिक कलामा क्रान्ति ल्याए । न्यूनतम रङ्गहरू र सरल रेखाको प्रयोग गर्दै उनले आफ्ना कृतिहरूमा हातको गति र भावहरू झल्काए । उनले अभिव्यक्तिवाद (Expressionism) र अमूर्त कला(Abstract Art)को जग पनि बसाले ।

शल्यक्रियापछि, उनलाई आफ्नो अन्तिम वर्षहरूमा कलम समात्न पनि गाह्रो भयो । हिँडडुल गर्न नसकेर ह्वीलचेयर र ओछ्यानमा सीमित भएका उनले रङ्गको सट्टा काटिएका रङ्गीन कागजका टुक्राहरू प्रयोग गर्न थाले । “कलमभन्दा कैँची अझ संवेदनशील हुन्छ” भन्ने उनको भनाइ थियो । कुनै समय एकदमै सीमित रहेका उनका कटआउट कृतिहरूलाई अहिले एकदमै उत्कृष्ट स्मारकीय कृति मानिन्छ ।

“स्वास्थ्य समस्याका कारण मेरो अधिकांश समय ओछ्यानमै बित्छ । त्यसैले मैले हलचल गर्न सक्ने ठाउँमा सानो बगैँचा बनाएको छु, जहाँ कागजले बनाइएका पात, फलफूल र चराहरू छन् ।”

प्रतिकूल अवस्थामा पनि म्याटिसले कलाप्रतिको आफ्नो लगाव कहिल्यै गुमाएनन् । बरु उल्टै सिर्जना गर्ने नयाँ तरिका पत्ता लगाए । उनले भोगेका परीक्षाहरूले उनको कलात्मक क्षितिजलाई फराकिलो बनायो, र उनका नवीन कृतिहरूले धेरैलाई आनन्दित तुल्यायो । तसर्थ कलालाई साँचो प्रेम गरेका म्याटिसले अवरोधलाई अवसरमा परिणत गर्न सके ।

रोग, आर्थिक कठिनाइ, वा व्यक्तिगत क्षति जस्ता सङ्कटहरू जो कोहीको जीवनमा आउन सक्छन् । यस्तो परिस्थितिमा केही मानिसहरूले हरेस खान्छन्, तर केही मानिसहरूले चाहिँ त्यो अवस्थालाई नयाँ परिवर्तन खोज्ने अवसरको रूपमा प्रयोग गर्छन् । यस्तो मनस्थितिचाहिँ जुनसुकै अवस्थामा पनि त्यो कुरालाई पक्रिराख्ने मनबाट आउँछ ।

विश्वासको जीवनमा परीक्षाहरूको सामना गर्दा अगाडि बढ्न प्रेरित गर्ने कुरा भनेकै सुसमाचारप्रतिको हाम्रो जोश हो । परमेश्वरका सन्तान भएका हामीले सुसमाचारको मिसनलाई त्याग्न सक्दैनौं । त्यसैले मुक्ति पाएको कुरामा धन्यवादी हुँदै सदाकाल चम्किरहने स्वर्गीय इनाम प्राप्त गर्नका लागि भरमग्दुर प्रयत्न गर्नुपर्छ । विपत्ति आउँदा केही परिवर्तन हुँदैन । बाटो जतिसुकै चुनौतीपूर्ण भए पनि निरुत्साहित नभईकन हाम्रो परिस्थितिहरूलाई अवसरको रूपमा प्रयोग गरेर सुसमाचारको दायरालाई फराकिलो बनाऔं । हरप्रयत्न गर्दै हाम्रा वरपर भएका मानिसहरूलाई मुक्तिको खुशी र आशा प्रदान गरौं । फेरि सुरु गरौं, किनभने मुक्तिको खुशीयाली फैलाउन प्रोसाहन गर्ने प्रेमलाई कुनै कुराले पनि तोड्न सक्दैन ।