सुसमाचारको जीवन्त सपना देखौं
शिक्षक, चित्रकार, गायक, प्रहरी, वैज्ञानिक वा देशको राष्ट्रपति …
विद्यालयमा अध्ययन गर्दा हामीमध्ये धेरै जनाले आफ्नो भविष्यको लक्ष्य वा पेशाको बारेमा व्यक्तित्व विवरण फाराममा लेखेका थियौं जस्तो लाग्छ । तर विद्यालयबाट स्नातक भएर सामाजिक जीवन सुरु गरेपछि, यहाँहरूमध्ये कति जनाले बाल्यावस्थाका ती सपनाहरू वास्तवमै पूरा गर्नुभयो ? बाल्यावस्थामा वा त्यसपछि लिएका सपनाहरू पूरा गर्ने मानिस धेरै छैनन् । मानिसहरू आफ्नो रुचि परिवर्तन भएकोले वा परिस्थितिले गर्दा सपना पूरा गर्न सकिएन भन्ने गर्छन् । यसकारण मानिसहरूले ती अधूरो सपनाहरू हृदयमा राख्दा राख्दै बिस्तारै बिर्सन्छन् ।
त्यसोभए आफ्नो सपना पूरा गर्ने मानिस र पूरा नगर्ने मानिसबीच के भिन्नता छ होला ? सपना पूरा गर्ने मनिसहरूमा कहिल्यै नथाक्ने जोस, दृढ विश्वास, अथक परिश्रम र फलामजस्तै दह्रो इच्छाशक्ति हुन्छ । तर यी सबै कुराहरू जत्तिकै महत्त्वपूर्ण अर्को एउटा कुरा पनि छ । त्यो नै “सपना देख्ने क्षमता” हो ।
आफ्नो सपना लेख्ने मानिसहरू

सन् १९५३ मा संयुक्त राज्य अमेरिकाको येल क्याम्पसका स्नातकहरूमा गरिएको परीक्षणअनुसार ३ प्रतिशतले मात्र नोटमा आफ्नो सपना लेखेका थिए । २० वर्षपछि ती स्नातकहरूलाई जीवनको खुसीको स्तर सोधियो । परिणामस्वरूप नोटमा आफ्नो सपना लेखेका ३ प्रतिशत स्नातकहरूले अरूभन्दा धेरै खुसी जीवन बिताइरहेका थिए । उनीहरूले बीस वर्षअघि नोटमा लेखेका सपनाहरू एक-एक गर्दै पूरा गरिरहेका थिए ।
सन् १९७२ मा लाइफ नामक अमेरिकी पत्रिकामा जोन गोडार्ड नाम गरेका अन्वेषकको कथा प्रकाशित गरिएको थियो । यसले धेरैको ध्यानाकर्षित गर्यो । त्यो कथा उनको सपनाको बारेमा थियो । बाल्यावस्थामा उनले आफ्नो नोटमा जीवनभरि पूरा गर्न चाहेका १२७ वटा सपनाहरू लेखेका थिए । ती नै संसारका सबैभन्दा अग्ला शिखरहरू चढ्ने, ठूला नदीहरू घुम्ने, विमान चलाउन सिक्ने, र ब्रिटानिका विश्वकोश सबै पढेर भ्याउने थियो । ती सपनाहरू सरल र सजिलो कत्ति पनि थिएनन् । तर उनले ती सबै सपनाहरू वास्तविकतामा बदले र पचास वर्षको अवधिमा लगभग सबै सपनाहरू पूरा गर्न सफल भए ।
केही दशकअघि अमेरिकाको उच्च माध्यमिक विद्यालयमा घटेको अर्को घटना पनि उल्लेखनीय छ । एक जना शिक्षकले विद्यार्थीहरूलाई ठूलो भएपछि पूरा गर्न चाहेका सपनाहरू लेख्ने गृहकार्य दिए । सबै विद्यार्थीहरूले आ-आफ्ना सपनाहरू लेखेर बुझाए । तर शिक्षकले ती सपनाहरूलाई विश्वास गर्नै सकेनन्, त्यसैकारण तिनले विद्यार्थीहरूलाई यथार्थपरक दृष्टिकोण सिकाउन फेरि आफ्ना सपनाहरू लेख्न लगाए । त्यसपछि अधिकांश विद्यार्थीहरूले आफ्नो पारिवारिक अवस्था र शैक्षिक उपलब्धिलाई विचार गर्दै व्यवहारिक सपनाहरू लेखे । तर मोन्टी नाम गरेको एक जना विद्यार्थी अरूभन्दा फरक थियो । त्यो समयमा उसका बुबाले सानो-तिनो काम गर्नुहुन्थ्यो र उनीहरू ट्रकको पछाडि बसेर एक फार्मदेखि अर्को फार्ममा जान्थे । तर उसले आफ्नो सपना परिवर्तन गरेन, उसले यस्तो सपना लेखेको थियो, “म २०० एकड जमिनको मालिक बन्नेछु र उत्कृष्ट प्रजातिका घोडाहरूको पालनपोषण गर्दै तिनीहरूलाई तालिम दिन साइसहरू खटाउनेछु ।” उसको सपना सात पृष्ठ लामो थियो । त्यसमा फार्मको माथिबाट हेर्दा देखिने चित्र, घोडा दौडिने स्थानको संरचना, पशुधनको सङ्ख्या, घोडाको हेरचाह गर्ने साइसहरूको विवरण आदि सबै समावेश थियो । शिक्षकले त्यो सपना अत्यन्त अवास्तविक भएको भन्दै परिवर्तन गर्न भने । तैपनि मोन्टी आफ्नो निर्णयबाट पछि हटेन । अन्ततः शिक्षकले उसलाई अनुत्तीर्ण अंक दिए । केही दशकपछि अमेरिकाको क्यालिफोर्नियामा एउटा ठूलो फार्म खोलियो । त्यो फार्म मोन्टीले नोटमा लेखेको फर्मसँग मिल्दोजुल्दो थियो ।
त्यो फार्मका मालिक अरू कोही नभएर मोन्टी थियो । आफ्नो सपनालाई नोटमा लेख्नु सपना पूरा गर्ने तरिकामध्ये सबैभन्दा साधारण कुरा जस्तो देखिए पनि, यही एउट कार्यले सपना पूरा गर्ने असीम शक्ति उत्पन्न गर्यो र ठूलो सफलता ल्यायो ।
सपनाले उत्पन्न गर्ने अद्भुत शक्ति
हालै सफलताको रहस्यले धेरै मानिसहरूको ध्यानाकर्षण गऱ्यो । “आफ्नो सपना नलेखे पनि त्यसलाई स्पष्टसँग मनमा कल्पना गर्दा, त्यो निश्चय नै पूरा हुन्छ ।” यसलाई R=VD सिद्धान्त भनिन्छ । Vivid Dream (स्पष्ट जीवन्त सपना) = Realization of Dream (सपना साकार) । जब हामी जीवन्त सपना देख्छौं, तब त्यो सपना साकार भएको पनि देख्न सक्छौं ।
विश्वमा २५० वटाभन्दा बढी होटेल निर्माण गरेका विश्वप्रसिद्ध होटल व्यवसायी कनराड हिल्टनले यसो भनेका थिए, “मानिसको भविष्य उसको प्रतिभामा नभएर, उसले स्पष्टसँग मनमा चित्रण गरेको सपनामा निर्भर हुन्छ ।” होटलमा बेलबोइको काम गर्दा उनले अमेरिकाको सबैभन्दा ठूलो होटलको तस्वीर आफ्नो टेबिलमा राखेर आफूलाई त्यस होटलका मालिकको रूपमा धेरै पटक कल्पना गरे । उनले भविष्यको सपना मात्र देखेनन्, तर आफ्नो भविष्यलाई दर्जनौँ पटक मनमा चित्रण गरे । १५ वर्षपछि उनी साँच्चिकै अमेरिकाको सबैभन्दा ठूलो होटलका मालिक बने ।
“होटलमा काम गर्दा मेरो जस्तै अवस्था भएका सहकर्मीहरू धेरै थिए । कतिपय त मभन्दा उत्कृष्ट व्यवस्थापन क्षमता भएकाहरू पनि थिए, र धेरैले मभन्दा बढी मिहिनेत गर्थे । तर मैलेचाहिँ सफलता पाएँ । सफलता पाउनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नै सपना देख्ने क्षमता हो ।” उनले भनेजस्तै सपना देख्ने क्षमता अर्थहीन कल्पना मात्र होइन, त्योचाहिँ सपना साकार पार्ने एउटा महत्त्वपूर्ण उपाय हो ।
हामी सबैले यो कुरा अनुभव गरेका छौं । जुत्ता किन्ने निर्णय गरेर स्टोर जाँदा प्रायः अरूको जुत्तामा ध्यान दिने गरिन्छ । बच्चा भएकी आमाले गर्भवती महिलाहरूमा बढी ध्यान दिन्छिन् । अनि जागिर खोजिरहेका युवाहरूले सानो विज्ञापनहरूमा ध्यान दिने गर्छन् । किन यस्तो भएको होला ? त्योचाहिँ हाम्रो मस्तिष्कमा RAS (Reticular Activating System) भएकोले हो ।
RASले ध्यान र एकाग्रताको शक्ति नियन्त्रण गर्ने स्नायु–सञ्चारक पदार्थ उत्पादन गर्छ । अनि यसले मस्तिष्कलाई सिक्न, आत्मनियन्त्रण गर्न र प्रेरित हुन सहयोग गर्छ । विशेष गरी यसले महत्त्वपूर्ण जानकारी मात्र मस्तिष्कमा सुरक्षित राख्छ र अनावश्यक जानकारी आउँन दिँदैन । यसले आफूलाई महत्त्वपूर्ण लागेको कुरामा मात्र प्रतिक्रिया दिन्छ । त्यसैले हाम्रो मस्तिष्कले के कुरा महत्त्वपूर्ण छ र कुन कुरामा ध्यान दिनुपर्छ भनेर आफै पहिचान गर्छ । हामी आफ्ना लक्ष्यसँग सम्बन्धित जानकारी र ज्ञान थाहै नपाई लिइरहेका हुन्छौं, र हामी आफ्ना इच्छाहरू पूरा गर्न आवश्यक पर्ने कार्यहरू स्वतः गर्न थाल्छौं ।
हार्वर्ड क्याम्पसको एउटा अध्ययनले जीवन्त सपना देख्ने बानीले रेटिकुलर स्नायु प्रणालीमा प्रभाव पार्ने तथ्य देखाएको छ । अनुसन्धानकर्ताहरूले समान स्तरको ज्ञान भएका सहभागीहरूलाई दुई समूहमा विभाजन गरे । पहिलो समूहलाई सफलतापूर्वक काम पूरा भएको दृश्य कल्पना गर्न लगाए र दोस्रो समूहलाई सधैँझैँ काम गर्न लगाए । परिणामस्वरूप दोस्रो समूहले ५५ % मात्र काम पूरा गर्यो भने पहिलो समूहले १०० % पूरा गर्यो । आफ्नो सपना स्पष्ट चित्रण गरेकाहरूले काममा ध्यान केन्द्रित गर्न सके र एकाग्रताको परिणाम पाउन सके ।
हामी सपना देख्न सक्छौं भने, त्यो पूरा पनि गर्न सक्छौं
हामीले देखेको सपना पूरा हुन्छ भन्ने कुरा सत्य हो भने, सपना पूरा गर्नुजत्तिको सजिलो कार्य अरू केही हुँदैनथ्यो होला । त्यसोभए प्रायः मानिसहरूले किन आफ्ना सपना पूरा गर्न सक्दैनन् ? त्योचाहिँ वरिपरिका बाधाहरूले उनीहरूलाई स्पष्ट सपना देख्नबाट रोक्ने भएकोले हो । सपना र वास्तविकताबीचको दूरी, सपनाप्रति मानिसहरूको नकारात्मक दृष्टिकोण, र सपनाको मूल्य हराउने बाधाहरूले मानिसहरूलाई सुरुको जोस गुमाउन बाध्य बनाउँछ । त्यसपछि उनीहरूले यसो भन्न थाल्छन्, “यस्तो ठूलो काम म कसरी पूरा गर्न सक्छु र ?” “अहिले जेजति छ, म त्यसैमा सन्तुष्ट छु । सपना पूरा गर्नको लागि अझ मिहिनेत गर्नुपर्छ ?” अन्ततः मानिसहरू वर्तमान अवस्थामै सन्तुष्ट भएर आफ्ना सपनाहरू त्याग्ने गर्छन् ।

विश्वप्रसिद्ध चलचित्र निर्देशक स्टीभन स्पिलबर्गले १२ वर्षको उमेरमै चलचित्र निर्देशक बन्ने सपना देखेका थिए । एक पटक अन्तर्वार्तामा तिनले यसो भनेका थिए, “मैले निर्देशक बन्ने आशा मात्र गरेको थिइनँ । मैले एकदमै स्पष्टसँग आफ्नो सपना चित्रण गरेको थिएँ । अन्ततः मैले त्यो सपना पूरा गरेरै छोडें ।” निश्चय नै तिनको सपना तुरुन्तै पूरा भएन । चलचित्र क्षेत्रमा प्रवेश गरेपछि पनि तिनी करिब नौ वर्षसम्म उपेक्षित रहे । यद्यपि पछि तिनले आफ्नो चलचित्रको दृष्टिकोणको कदर गर्ने निर्माता भेटे । अनि भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत भएपछि उक्त चलचित्रमार्फत निर्देशकका रूपमा पहिलो सफलता हासिल गरे ।
सपनाले मानिसको जीवन परिवर्तन ल्याउँछ । मानव इतिहासले अन्तिमसम्म आफ्नो सपना पक्रिराख्ने मानिसहरूलाई सधैँ अगाडि बढाएको छ । अहिले हामीले उपभोग गरिरहेको समृद्धि पनि विगतमा मानिसहरूले साकार गरेको सपनाहरूको परिणाम हो ।
आकाशमा उड्ने सपना पनि “यो त असम्भव छ” भन्ने नकारात्मक सोचका कारण सदाको लागि मेटिन लागेको थियो । तर अन्तिमसम्म त्यो सपना नत्याग्ने मानिसहरूले त्यसलाई वास्तविकतामा परिणत गरे । पृथ्वीको पल्लो छेउमा रहेका मानिसहरूसँग कुरा गर्ने सोचाइ सुरुमा एउटा सपना मात्र थियो । तर आज हामी संसारको जुनसुकै ठाउँमा रहेका मानिसहरूसँग सजिलै कुरा गर्न सक्छौं । अज्ञात संसारको खोजी गर्न चाहेका मानिसहरूले अमेरिकी महाद्वीप पत्ता लगाए । कल्पनाभन्दा परको अन्तरिक्ष अन्वेषण पनि वास्तविकतामा परिणत भयो । कुनै समयमा यी सपनाहरूलाई दिवास्वप्न र असम्भव कल्पना भनेर गिल्ला गरिन्थ्यो । तर आज ती सबै यथार्थतामा परिणत भइसकेका छन् ।
उनीहरूले आफ्ना सपनाहरू साकार नभएसम्म निरन्तर रूपमा जीवन्त सपना देखिरहे र आफ्नो मार्गमा आएका प्रत्येक चुनौतीलाई लक्ष्य प्राप्तिको एउटा प्रक्रिया मानेर दृढ इच्छाशक्तिका साथ सामना गरे । परिस्थितिहरू जस्तोसुकै भए पनि उनीहरूले आफ्नो सपनाको मूल्य लगातार मनन गर्दै त्यसलाई अन्तिमसम्म ताजा राखे । अन्ततः उनीहरूको सबै प्रयत्न ‘सफलता’ भन्ने सुन्दर फलमा परिणत भयो ।
सुसमाचारका लागि जीवन्त सपना देखौं
इसहाकको जेठा छोरा एसावले आफ्नो भविष्यको बारेमा कस्तो सपना देखेका थिए ? जेठो छोरा भएकाले बाबु इसहाकको मृत्युपछि सम्पूर्ण सम्पत्ति आफूले नै पाउनेछु भन्ने सोचेका थिए । तर कान्छा छोरा याकूब पनि परिवारको उत्तराधिकारी बन्न र ज्येष्ठ-अधिकार पाउन एकदमै आतुर थिए । किनकि भोकाइरहेका एसावले पकाइरहेको सुरुवा माग्दा, याकूबले “पहिला मलाई आफ्नो ज्येष्ठ-अधिकार बेच्नू” भनेका थिए । याकूबले लामो समयदेखि मनमा यही इच्छा लिएकोले अप्रत्याशित अवसरलाई जीवनको स्वर्णिम अवसरको रूपमा उपयोग गरे । याकूबकी आमा रिबेकालाई तिनको गहिरो चाहना थाहा थियो । त्यसैले आमाको सहयोगद्वारा याकूबले ज्येष्ठ-अधिकार प्राप्त गरे ।
त्यसोभए प्रेरितहरूको सपनाचाहिँ के थियो होला ? त्यो समयमा, संसारभरि सुसमाचार प्रचार गरिनेछ भन्ने येशूज्यूको अगमवाणी विश्वास गर्नै गाह्रो थियो । तैपनि उनीहरूले असङ्ख्य कठिनाइ र कष्टमा पनि अन्यजातिका देशहरूमा निडर भएर सुसमाचार प्रचार गरे । योद्वारा उनीहरूले येशूज्यूले देखाउनुभएको भिजनमा पूर्ण विश्वास गर्दै सुसमाचारको स्पष्ट सपना लिए भन्ने कुरा बुझ्न सकिन्छ ।

अब हामी पनि आफूलाई फर्केर हेर्दै सत्यताप्रति हामीले कत्तिको स्पष्ट सपना लिएका छौं भन्ने कुरा जाँचौं । परमेश्वरले हामीलाई स्वर्गीय राजकीय पूजाहारीका रूपमा छान्नुभएको छ (१ पत्रुस २:९)। अहिले हामीसँग घमण्ड गर्न सकिने कुरा केही नभएको जस्तो देखिए पनि, हामी स्वर्गीय सन्तानका रूपमा सदासर्वदै स्वर्गको महिमा उपभोग गर्ने आशिष्को प्रतिज्ञा पाएका मानिसहरू हौं ।
“… तर त्यस बेला तिम्रा मानिसहरू— जीवनको पुस्तकमा नाम लेखिएका सबै— बचाइनेछन् । पृथ्वीको धूलोमा सुतेका भीडहरू उठ्नेछन्, केही अनन्त जीवनको लागि र अरूहरूचाहिँ शर्म र अनन्त तिरस्कारको लागि । बुद्धिमान्हरू आकाशको चमकजस्तै र धेरैलाई धार्मिकतामा डोर्याउनेहरूचाहिँ ताराहरूजस्तै सदासर्वदै चम्किरहनेछन् ।” दान १२:१-३
यो अगमवाणीचाहिँ हामीलाई दिइएको परमेश्वरको निश्चित प्रतिज्ञा हो । यो हाम्रो लागि स्पष्ट भिजन र सपना पनि हो । यस्तो अमूल्य सपनालाई जीवन्त रूपमा चित्रण गर्नेहरूले मात्र त्यो पूरा गर्न सक्छन् । वर्तमान परिस्थिति वा वरपरका मानिसहरूको प्रतिकूल दृष्टिकोणका कारण हामीले सुसमाचारको मूल्यलाई बेवास्ता गर्यौं भने, त्यो सपना एउटा अधूरो सपनामै सीमित रहन्छ । तर यदि हामीले यो सपनालाई स्पष्ट चित्रण गऱ्यौं भने परमेश्वरले हामीलाई सुसमाचारका लागि अद्भुत शक्ति प्रकट गर्ने असीम सामर्थ्य दिनुहुनेछ, जसद्वारा हामीले त्यो सपना पूरा गर्न सक्नेछौं ।
हाम्रो सपना संसारका मानिसहरूको सपनाभन्दा बिलकुलै फरक छ । उनीहरूको सपना संसारसम्म मात्र सीमित छ, तर हाम्रो सुसमाचारको सपना अनन्त संसारसम्म फैलिएको छ । महत्त्वपूर्ण कुराचाहिँ हामीलाई त्यो सपना पूरा गर्न सहयोग गर्नुहुने स्वर्गीय माता परमेश्वर हाम्रो साथमा हुनुहुन्छ भन्ने यथार्थता हो । माता यस पृथ्वीमा हाम्रो साथमा रहनुहुँदै हामीलाई सुसमाचारको जीवन्त सपना लिन प्रोत्साहन दिनुहुन्छ र त्यसतर्फ दौड्दै अन्ततः त्यो सपना पूरा गर्न शक्ति प्रदान गर्नुहुन्छ ।
यदि यहाँहरूले आजसम्म पनि सुसमाचारको जीवन्त सपना देख्नुभएको छैन, वा त्यो सपनाको अद्भुत शक्तिको अनुभव गर्नुभएको छैन भने आजैदेखि सुरु गर्नुहोस् । स्वर्ग-राज्यमा सदासर्वदा राज्य गर्ने राजकीय पूजाहारी र राजा बन्ने दृढ र जीवन्त सपना देख्न थाल्नुहोस् । यसरी यहाँहरूको हृदय, आँखा र कान पूर्ण रूपमा खुल्नेछन् । अनि यहाँहरूले त्यो सपनातर्फ आफ्नो पाइला अझ द्रूत गतिमा बढाउन सक्नुहुनेछ । अन्ततः त्यो सपना यहाँहरूको अगि वास्तविकतामा परिणत हुनेछ । किनकि जसले जीवन्त सपना देख्छ, त्यो सपना उक्त व्यक्तिको हुन्छ ।