देखिने कुरा मात्र सबथोक होइन

44,620 भ्यु

मानवजातिले ‘सर्वश्रेष्ठ प्राणी’ को गरिमालाई जोगाउँदै, सभ्यताको क्षेत्रमा आश्चर्यजनक रूपमा प्रगति गरेको छ । तर ‘सर्वश्रेष्ठ’ भन्ने शब्दको अर्थ नै हराउने गरी, मानवजातिमा एउटा ठूलो कमजोरी छ । त्यो ठूलो कमजोरी भनेको संसारलाई आफ्नो त्रुटिपूर्ण ज्ञानेन्द्रियद्वारा बुझ्ने कुरा हो । अर्को शब्दमा भन्नुपर्दा, संसारप्रतिको हाम्रो चेतनाको स्तर ज्ञानेन्द्रियहरूमा निर्भर हुन्छ, अर्थात् हाम्रा ज्ञानेन्द्रियहरूले जति देख्न, सुन्न र महसुस गर्न सक्छन्, हामीले संसारलाई त्यही सीमाभित्र मात्र अनुभव गर्न सक्छौं ।

मानिसहरूले दृष्टि, श्रवण, गन्ध, स्वाद र स्पर्श जस्ता पाँच ज्ञानेन्द्रियहरूद्वारा संसारलाई बुझ्छन् । “हजार पटक सुन्नुभन्दा एक पटक देख्नु राम्रो हो” भन्ने भनाइजस्तै मानिसहरूले अन्य ज्ञानेन्द्रियहरू भन्दा दृष्टिलाई बढी विश्वास गर्छन् । कारण वस्तुहरूलाई बुझ्न वा पहिचान गर्नका लागि दृष्टिले ठूलो भूमिका खेल्छ । दृष्टिको ज्ञानेन्द्रियले धेरै जानकारीहरू सङ्कलन गरी मस्तिष्कमा पठाउँछ । यद्यपि मानव दृष्टिमा हामीले सोचेभन्दा बढी सीमाहरू हुन्छ ।

देखेको कुरामा कति विश्वास गर्न सक्नुहुन्छ ?

हाम्रो आँखाचाहिँ दूरी र वस्तुको आकारप्रति निकै संवेदनशील हुन्छ । हामीले एउटा निश्चित दूरीभन्दा टाढा रहेका वस्तुहरू देख्न सक्दैनौं, र निश्चित आकारभन्दा साना कुराहरूलाई पनि ठम्याउन सक्दैनौं । यी दुईमध्ये हामीले देख्न सक्ने र देख्न नसक्ने कुराहरू कुन चाहिँ बढी होला ?

अप्टिकल माइक्रोस्कोप(अप्टिकल सूक्ष्मदर्शक यन्त्र)बाट देखिने कोषिकाहरू
उच्च गतिमा खिचिएको, पानीको बेलुन फुट्दैगरेको क्षणको तस्बिर
ⓒ Luke Peterson / flickr.com / CC-BY-2.0

हाम्रो हातमा हजारौं किटाणुहरू टाँसिएका हुन्छन् । तर जतिसुकै नजिकबाट हेरे पनि ती किटाणुहरूलाई देख्न सकिँदैन । कारण हामीले अवलोकन गर्न सक्ने न्यूनतम आकार लगभग १ मिलिमिटर मात्र हुन्छ ।

मानिसहरूले यस्ता अति सूक्ष्म र नदेखिने वस्तुहरू हेर्नका लागि सूक्ष्मदर्शक यन्त्र(microscope)को आविष्कार गरेका हुन् । यसले दृश्य प्रकाश(visible light), वस्तु लेन्स(objective lens) र आइपिस लेन्स(eyepiece lens)को प्रणाली प्रयोग गरेर साना नमुनाहरूलाई ठूलो बनाएर देखाउँछ । अप्टिकल माइक्रोस्कोपले दृश्य प्रकाशको प्रयोग गर्ने भएकोले दृश्य प्रकाशको तरङ्गदैर्ध्य(wavelength)भन्दा साना वस्तुहरू अवलोकन गर्न सक्दैन । अप्टिकल माइक्रोस्कोपले वस्तुहरूलाई २,००० गुणासम्म मात्र ठूलो पार्न सक्छ, किनभने यसको अधिकतम सम्भावित रिजोल्युसन(resolution) लगभग ०.२ माइक्रोमिटर(μm) हुन्छ, जुन कोषिका(cell)को आकारका वस्तुहरू हेर्नका लागि पर्याप्त छ ।

अप्टिकल माइक्रोस्कोपको बेफाइदाहरूको पूर्ति गर्नका लागि इलेक्ट्रोन माइक्रोस्कोपको विकास गरिएको हो । इलेक्ट्रोन माइक्रोस्कोपले छोटो तरङ्गदैर्ध्य भएका इलेक्ट्रोनहरू प्रयोग गर्ने भएकोले यसमा उच्च विभेदन क्षमता हुन्छ । कोषिकाहरूभन्दा पनि सानो हुने भाइरस जस्ता सूक्ष्मजीवहरू इलेक्ट्रोन माइक्रोस्कोपबाट देख्न सकिन्छ । यो यन्त्रले वस्तुहरूलाई लाखौँ गुणा ठूलो बनाउन र पदार्थभित्रका परमाणु(atoms)हरूको स्थिति पत्ता लगाउन मद्दत गर्दछ । तर परमाणुभन्दा पनि सानो सूक्ष्म संसार अहिलेसम्म देख्न सकिएको छैन, यो संसार अझसम्म पनि अज्ञात नै छ, यसको अस्तित्व केवल अनुमान मात्र गरिएको हो ।

१. विभेदन क्षमता भन्नाले अति नजिक रहेका दुई वटा वस्तु वा बिन्दुहरूलाई स्पष्ट रूपमा छुट्टाछुट्टै देखाउन सक्ने क्षमता हो ।

गर्मीयाममा हामीलाई सताउने लामखुट्टेहरू देखा पर्छन्, र क्षणभरमै गायब हुन्छन् । कारण उनीहरूले एक सेकेन्डमा ६०० पटक आफ्नो पखेटा फड्फडाउन सक्छन् । तर हामीले उनीहरूले पखेटा फडफडाएको देख्न सक्दैनौं । त्यसोभए एक सेकेन्डमा हामीले के र कति विवरणहरू देख्न सक्छौं होला ? झर्दै गरिरहेको पानीको थोपाको सुन्दरतालाई देख्न सकिँदैन । तर मानव आँखाले देख्न नसक्ने तीव्र क्षणहरूलाई कैद गर्न डिजाइन गरिएका द्रुत गतिको क्यामेराले कैद गरेका पलहरूलाई हेर्ने हो भने, अहिले पनि हाम्रो वरिपरि हामीले बुझ्न नसक्ने अनगिन्ती कुराहरू भइरहेका छन् भन्ने कुरा थाहा पाउन सकिन्छ ।

चन्द्र एक्स-रे अब्जरभेटरी, हबल अन्तरिक्ष टेलिस्कोप, र स्पिट्जर अन्तरिक्ष टेलिस्कोपबाट खिचिएका तस्बिरहरूलाई संयोजन गरेर बनाइएको ‘क्रेब नेबुला’(Crab Nebula)को एउटा मिश्रित तस्बिर ।
यसमा चन्द्र एक्स-रे तस्बिरलाई नीलो रङ्गमा, हबल अन्तरिक्ष टेलिस्कोपको अप्टिकल तस्बिरलाई रातो र पहेँलो रङ्गमा, र स्पिट्जर अन्तरिक्ष टेलिस्कोपको इन्फ्रारेड तस्बिरलाई बैजनी रङ्गमा देखाइएको छ ।
NASA / Wikimedia Commons / Public domain

ब्रह्माण्डको वास्तविक रूप अज्ञात छ

रातको समयमा आकाशमा चम्किरहने ताराहरूलाई हेरौं । असङ्ख्य ताराहरूमध्ये हामीले हाम्रो नाङ्गो आँखाद्वारा केही ताराहरूलाई मात्र देख्न सक्छौं । मानव आँखाले ६ वा सोभन्दा बढी स्पष्ट परिमाण भएका ताराहरूलाई मात्र देख्न सक्छ, अनि सफा रातमा चाहिँ नाङ्गो आँखाले आकाशमा देख्न सकिने ताराहरूको सङ्ख्या २,००० भन्दा बढी हुँदैन । यद्यपि रातको समयमा आकाशमा अनगिन्ती ताराहरू चम्किरहेको भए पनि धेरै ताराहरू धमिलो भएकाले देख्न सकिँदैन ।

मानव आँखाको यिनै सीमितताहरूलाई चिर्नका लागि टेलिस्कोप(दूरबिन)को आविष्कार गरिएको हो । सबैभन्दा धेरै प्रयोग हुने टेलिस्कोप भनेको ‘अप्टिकल टेलिस्कोप’ हो, जसले लेन्स वा ऐनाको प्रयोग गरेर टाढाका आकाशीय पिण्डहरूबाट प्रकाश सङ्कलन गरी त्यसलाई देख्न सक्ने गराउँछ । सन् १६०९ मा ग्यालिलियोले बनाएको टेलिस्कोपको दृश्य क्षेत्र एकदमै साँघुरो थियो, लगभग चन्द्रमाको स्पष्ट व्यासको आधा मात्र, जसका कारण उनले चन्द्रमाको सम्पूर्ण सतह एकै पटक हेर्न सक्दैनथे । तर अहिले भने ८ देखि १० मिटर व्यास भएका ठूला अप्टिकल टेलिस्कोपहरू बनिसकेका छन्, जसले १० अर्ब प्रकाश वर्षभन्दा टाढा रहेका आकाशीय पिण्डहरूको मधुरो प्रकाशलाई समेत संकलन गर्न सक्छ । टेलिस्कोपले संकलन गरेको प्रकाशलाई लामो समयसम्म जम्मा गर्दा, मानव आँखाले देख्न नसक्ने सुन्दर खगोलीय वस्तुहरूको तस्बिर खिच्न सकिन्छ । यसरी टेलिस्कोपको आविष्कारले मानवजातिलाई टाढासम्म हेर्न सक्ने गराएको छ ।

अन्तरिक्षलाई अप्टिकल टेलिस्कोपबाट हेर्ने हो भने अँध्यारो र खाली देखिन्छ । तर विभिन्न प्रकारका विद्युतचुम्बकीय तरङ्गहरू प्रयोग गरेर खिचिएका अन्तरिक्षको एउटै क्षेत्रका तस्बिरहरू हेर्दा हाम्रो दृष्टि कति सीमित छ भन्ने कुरा पुनः महसुस गर्न सकिन्छ । मानव आँखाले खाली र अन्धकारमय देख्ने अन्तरिक्षमा वास्तवमा अनगिन्ती खगोलीय वस्तु र पदार्थहरू रहेका हुन्छन् ।

मिल्की वे ग्यालेक्सीको केन्द्रको तस्बिरहरू (१, २, ३) स्पिट्जर स्पेस टेलिस्कोप (इन्फ्रारेड रे), हबल स्पेस टेलिस्कोप (दृश्यमान प्रकाश), र चन्द्र एक्स-रे अब्जरभेटोरी (एक्स-रे), र सम्पूर्ण कुराको एक संयुक्त तस्बिर (४) ।
NASA / Wikimedia Commons / Public domain

२०औँ शताब्दीको सुरुवातसम्म, खगोलीय अवलोकनहरू दृश्य प्रकाशको दायराभित्र गरिन्थ्यो । तर अब यसले अदृश्य विद्युतचुम्बकीय(electromagnetic waves) तरङ्गहरू पनि पत्ता लगाउँछ । विभिन्न प्रकारका विद्युतचुम्बकीय विकिरणहरूलाई कैद गरेर विश्लेषण गरी अन्तरिक्षका त्यस्ता वस्तुहरू पनि अवलोकन गर्न हामी सफल भएका छौं, जुन पहिला देख्न सम्भव थिएन । अमेरिकी भौतिकशास्त्री तथा रेडियो इन्जिनियर कार्ल जान्स्की(Karl Jansky)ले अन्तरिक्षबाट आउने रेडियो तरङ्गहरू पत्ता लगाउनुअघि, मानिसहरूले ‘अप्टिकल टेलिस्कोप’ बाट देखिने वस्तुबाहेक अन्तरिक्षमा अन्य कुनै वस्तुहरू छैनन् भनेर विश्वास गर्थे । तर वास्तवमा यो ब्रह्माण्ड मानव आँखाले देख्न नसकिने अनगिन्ती वस्तुहरूले भरिएको छ ।

अप्टिकल टेलिस्कोपले खगोलीय वस्तुहरूबाट आउने दृश्य प्रकाश सङ्कलन गर्छ र रेडियो टेलिस्कोपले चाहिँ अन्तरिक्षबाट आउने रेडियो तरङ्गहरू पत्ता लगाउँछ, जसलाई अप्टिकल टेलिस्कोपले ठम्याउन सक्दैन । हामीले देख्ने रेडियो तरङ्गका तस्बिरहरू वास्तवमा एन्टेनामार्फत प्राप्त जानकारीका आधारमा कम्प्युटरद्वारा तयार पारिएका दृश्यहरू हुन् । पृथ्वीमा पत्ता लगाउन सकिने अधिकांश रेडियो तरङ्गहरूले हामीलाई परमाणु र अणुबाट बनेका वस्तुहरूबारेको जानकारीका आधारमा तिनीहरूलाई हेर्न सक्षम बनाउँछ ।

वायुमण्डलले विद्युतचुम्बकीय विकिरणलाई पूर्ण रूपमा फिल्टर गर्दैन । दृश्य प्रकाश पनि वायुमण्डलबाट जाँदा आवर्तन हुन्छ, जसले गर्दा खगोलीय वस्तुहरूको स्वरूप विकृत देखिन्छ । दृश्य प्रकाश र रेडियो तरङ्गहरू बाहेक अन्य तरङ्गदैर्ध्यहरू पृथ्वीको वायुमण्डलद्वारा अवशोषित वा परावर्तित हुने भएकाले, यी तरङ्गदैर्ध्यहरूमा विद्युतचुम्बकीय तरङ्गहरू अवलोकन गर्न टेलिस्कोपहरू अन्तरिक्षमा प्रक्षेपण गर्नुपर्छ । अन्तरिक्षमा जाने पहिलो टेलिस्कोप हबल स्पेस टेलिस्कोप(Hubble Space Telescope [HST]) थियो । हबल स्पेस टेलिस्कोपले मुख्यतया पराबैजनी(ultraviolet) र दृश्य प्रकाशको अवलोकन गर्छ । अन्तरिक्ष टेलिस्कोपमार्फत मानवजातिले ताराहरूको जन्मलाई देखिने प्रकाशमा मात्र नभई ‘प्रोटोस्टार’ बाट निस्कने इन्फ्रारेड विकिरणमा पनि नियाल्न सक्छन्, साथै पराबैजनी प्रकाशमा ताराहरू बनाउने सक्रिय ग्यालेक्सीहरूको पनि अवलोकन गर्न सक्छन् । एक्स-रे र गामा किरणहरूले सुपरनोभा विस्फोट जस्ता ब्रह्माण्डका उग्र र विनाशकारी गतिविधिहरूलाई उजागर गर्दछन् ।

ताराहरूलाई हेर्दा, हामी वास्तवमा विगतलाई हेरिरहेका हुन्छौं । ब्रह्माण्ड यति विशाल छ कि अत्यधिक गतिमा यात्रा गर्ने प्रकाशले पनि सम्पूर्ण ब्रह्माण्ड देखाउन सक्दैन । यदि पृथ्वीबाट देखिएको कुनै तारा १० करोड प्रकाश वर्ष टाढा छ भने, त्यसले उतसर्जन गरेको प्रकाश १० करोड वर्ष पुरानो हुन्छ, र वर्तमान समयमा त्यो तारा अस्तित्वमा नहुन पनि सक्छ । आधुनिक विज्ञानअनुसार, ब्रह्माण्डको अनुमानित आकार लगभग १३.७ अरब प्रकाश वर्ष रहेको छ । अझै पनि विशाल ब्रह्माण्डमा तारा र आकाशगङ्गाहरू जन्मने र मर्ने क्रम जारी छ, तर मानवजातिले यो कुरा धेरै पछि मात्र थाहा पाउनेछन् । ब्रह्माण्ड एउटा यस्तो संसार हो जुन मानवजातिले महसुस गर्ने गति र दूरी भन्दा धेरै पर छ, जसका कारण यसलाई पूर्ण रूपमा अवलोकन गर्न असम्भव छ ।

प्राचीन कालदेखि नै मानवजातिले अदृश्य संसारको चाह गर्दैआएको छ । विज्ञान विकसित भएको आजको दिनमा, के हामीले देख्ने कुरा नै सबै हो त ? एकपटक सोचिहेरौं । अहिले हामी त्यस्तो ब्रह्माण्ड अवलोकन गर्न सक्छौं जुन पहिला धेरै टाढा, सानो र सबै कुरा द्रुत गतिमा हुने भएकोले देख्न सकिँदनथ्यो । त्यसोभए के विज्ञानद्वारा देखिने संसार नै सबथोक हो त ?

जसरी इनारमा रहेको भ्यागुतालाई बाहिरी संसारको बारेमा थाहा हुँदैन, र पानीमा रहेको गाइने किरालाई त्यसले पखेटा फैलाएर उड्न सक्छ भन्ने कुरा थाहा हुँदैन, त्यसरी नै हामी पनि निश्चित सोचाइ लिएर संसारमा बाँचिरहेका हुन सक्छौं । हाम्रो अपूर्ण आँखाले देख्न सक्ने भन्दा देख्न नसक्ने कुराहरू धेरै छ । त्यसकारण देखेको कुरा मात्र विश्वास गर्छौं भन्ने विचारचाहिँ मानव अहङ्कार बाहेक अरू केही होइन । हामीले नदेखेको संसार पनि निश्चित अस्तित्वमा छ भनेर विश्वास गर्नुपर्छ । वैज्ञानको विकास भइसकेको यो वर्तमान युगमा हामीले यही मानसिकता राख्न आवश्यक छ ।