सानो हेरचाहद्वारा बनेको खुशी परिवार

गिम उन सुक / सउल, कोरिया

8,220 भ्यु

निर्माणस्थलमा काम गर्नुहुने मेरा पति, प्रयोगशालामा अध्ययन गर्ने मेरी छोरी र म गरेर हामी ३ जनाको परिवार छ । मेरा पति र मेरी छोरी एकदमै व्यस्त हुने भएकोले हामीलाई एकै ठाउँमा भेला हुन गाह्रो छ । तर खुशी परिवार पुस्तकमा भएको ‘यो महिनाको मिसन’लाई लगनशीलतापूर्वक कार्यान्वयन गरेकोले मेरो परिवारमा थोरै परिवर्तन देखा पर्न थाल्यो । विगतमा मैले, बिहान सबेरै काममा जानुहुने मेरा पतिलाई भाँडा माझिरहेको बहाना गर्दै बेवास्ता गर्थें । तर अहिले भने म उहाँलाई प्रेमपूर्वक अँगाल्दै बिदाइ गर्छु । अनि पतिको तलब आउने दिन, म सधैँ कृतज्ञ मनद्वारा विशेष भोजन पनि तयारी गर्छु ।

परमेश्वरले निस्तार-चाडमा गोडा धुने धर्मविधिमार्फत उदाहरणस्वरूप देखाइदिनुभएको प्रेमलाई घरबाटै कार्यान्वयन गर्ने अर्थमा, हामीले हालसालै ‘परिवारको गोडा धोइदिने’ मिसन कार्यान्वयन गऱ्यौं । दिनभरि काम गर्दा बूट लगाउनुहुने मेरा पतिको लागि यो मिसन उपयुक्त हुन्छ जस्तो लाग्यो ।

त्यस दिन खाना खाइसकेपछि साँझमा मैले एउटा बाटामा गोलीगाँठासम्म आउने तातो पानी हालें, र त्यसमा नून र बेकिङ सोडा पनि राखिदिएँ । त्यसपछि सोफामा बसेर रिमोट समाउँदै टिभी हेरिरहनुभएका मेरा पतिलाई मैले बोलाएँ ।

“प्रिय, यता आउनुहुन्छ कि ?”

“किन ?”

“हजूरको गोडा धोइदिन्छु ।”

“मेरो गोडा ? मैले नुहाइसकें । अब टिभी हेर्नुपर्छ ।”

त्यस बेला ‘हत्तेरी ! मैले यो सबै उहाँलाई खुशी बनाउन तयार गरें, तर उहाँचाहिँ टिभी मात्र हेरिरहने ?’ भन्ने सोचमा म निराश भएँ । तर मैले हरेस खाइनँ । यदि उहाँ आउनुहुन्न भने म उहाँकहाँ गए भइहाल्छ नि । घुम्ती गोडा धुने सेवा सुरु गरी म बाटा लिएर पतिकहाँ गएँ । मैले बिस्तारै उहाँको गोडा तानेर पानीमा डुबाइदिएँ । मैले उहाँको दुख्ने गोडा मालिस गरिदिएँ र तातो पानी अझ थपेर २० मिनेटसम्म धोइदिएँ । रुमालले गोडा पुछिदिएपछि उहाँले अप्ठ्यारो मान्दै मलाई भन्नुभयो,

“स्याबास ! धन्यवाद !”

उहाँले मेरो सानो प्रयासको कदर गर्नुहुँदा म पनि धन्यवादी भएँ । अबदेखि म मेरो परिवारलाई खुशी बनाउन कुनै कसर बाँकी नराखी तनमन लगाउनेछु । खुशी परिवारको विषयमा सोच्दा मात्र पनि मेरो मुखका किनारहरू उचालिएर अनुहारमा मुस्कान लहराउँछ ।