
नव दुलहा अर्ल डिक्सनलाई एक जना व्यक्तिको चिन्ता लाग्थ्यो- हेल्चेक्र्याइँ गर्ने उनकी पत्नीको । कारण, तिनकी पत्नीले खाना पकाउँदा उनको घरी चक्कुले हात काटिने, घरी औँलाहरू पोल्ने हुन्थ्यो । त्यो समयमा डिक्सनले मेडिकल टेप उत्पादन गर्ने कम्पनीमा जागिर गर्ने भएकाले घाउमा लगाउने टेप र ब्यान्डेजले आफ्नी पत्नीको राम्ररी उपचार गरिदिन सक्थे । तर तिनी घरमा नभएको बेला यदि पत्नीको हात काट्यो अथवा उनलाई पोल्यो भने उनी अत्तालिन्छिन् कि भन्ने कुराको तिनलाई सधैँ चिन्ता लाग्थ्यो ।
‘एकलै हुँदा पनि आफ्नो उपचार आफैले गर्न सक्ने भएकी भए म ढुक्क हुन सक्थें ।’
यसरी तिनले, पत्नीलाई सजिलो होस् भनेर घाउहरूमा सजिलै लगाउन सकिने टेप उत्पादन गर्न थाले । पत्नीको उपचार गर्ने अनुभव बटुल्दैजाँदा, तिनी घाउ टेपलाई उपयुक्त आकारमा काट्ने, टेपको बीचमा औषध-पट्टी राख्ने र दुई छेउ नटाँसियोस् भनेर त्यसमा जालीदार ब्यान्ड राख्ने काममा सिपालु हुँदैगए ।
त्यसरी चिटिक्क तवरले प्रयोग गर्न सकिने खालको टेप देखेर एकदमै प्रभावित भएका तिनका हाकिमले, सन् १९२१मा ब्यान्ड-एड ट्रेडमार्कको नाममा ठूलो मात्रामा त्यो टेप उत्पादन गर्न लगाए । यसरी कम्पनीको उत्तरोतर प्रगतिको निम्ति डिक्सनले पुऱ्याएको योगदानको कदरस्वरूप तिनलाई जोनशन एन्ड जोनशनको उपाध्यक्षको रूपमा पदोन्नति गरियो ।
पत्नीप्रतिको प्रेमको मनबाट आविष्कार भएको टेपले अहिले पनि असंख्य मानिसहरूको घाउलाई छोपिदिने काम गरिरहेको छ ।