भाषा चयन गर्नुहोस् ।

Close

WATV.org is provided in English. Would you like to change to English?

६ जना सन्तानकी आमा

जो उन जिन / छाङवन, कोरिया

610 हेरेको संख्या

मेरी आमा निकै दयालु र शान्त स्वभावकी हुनुहुन्थ्यो । कोमल सोरमा मेरो निम्ति पुस्तक पढिदिनुहुने मेरी आमाको स्वरूप मलाई धेरै मन पर्थ्यो । म ५ वर्षकी हुँदासम्म उहाँले मलाई राजकुमारीलाई जसरी हुर्काउनुभयो, र त्यही वर्ष मेरी बहिनीको जन्म भयो । शिरमा थोरै केश र पुक्क परेका राता गाला भएकोले उनी केटाजस्तै देखिन्थिन् । मेरो हजुरबुबा र हजुरआमालाई नाति हेर्ने ठूलो धोको थियो, तर नातिनी जन्मेकीले उहाँहरू निराश हुनुभयो ।

मेरी बहिनीको पहिलो जन्मदिनपछि मेरी आमाको पेट फेरि फुल्न थाल्यो । बाहिर निस्केको पेट र सुन्निएको अनुहार लिएर मेरी आमा मेरो किन्डरगार्टनको कार्यक्रममा आउनुहुँदा मलाई अलि लाज लागेको थियो ।

“अरूका आमाहरू चिटिक्क सजिएर आउँछन् …”

आमाको पेट धेरै ठूलो हुनुको कारणचाहिँ उहाँको गर्भमा जुम्ल्याहा सन्तान भएकाले थियो । ती दुवै सन्तान छोरीहरू थिए । त्यहाँदेखि आमाको कष्ट सुरु भयो । मेरा जुम्ल्याहा बहिनीहरू दिनभरि रुन्थे, अनि एक ताका ज्ञानी बनेकी मेरी माहिली बहिनीले घरमा जताततै दिसा-पिसाब गर्न थालिन् । जुम्ल्याहा बहिनीहरूको ईर्ष्या लागेर होला, उनी दिनभरि आमाको वरिपरि मात्र घुमिरहन्थिन् । त्यस्तो अवस्थामा मचाहिँ चूपचाप आफ्नो कोठामा गएर पुस्तक पढ्ने गर्थें ।

कहिलेकहीँ म प्रभातमा उठेर शौचालय जाँदाखेरि आमाले लुगा धोइरहनुभएको हुन्थ्यो ।

“आमा, अहिले किन लुगा धुनुभएको ?”

“अहिले गरिनँ भने पछि समय नै हुँदैन ।”

त्यो जमानामा प्रायःजसो कपडाको थाङ्ना प्रयोग गरिने भएकोले मेरी आमाले दिनहुँ ३ जना सन्तानले प्रयोग गरेका धेरै थाङ्नाहरू धुनुभएको हुनुपर्छ । त्यति बेला म केवल आठ वर्षकी थिएँ, र मेरी आमाले त्यस किसिमको जीवन जिउनुभएको कुरालाई मैले हलुको रूपमा लिएकी थिएँ ।

जुम्ल्याहा बहिनीहरू जन्मेको केही समयपछि मेरी आमाले अर्को छोरी जन्माउनुभयो । तिनी १८ महिनाकी हुँदा मेरा हजुरबुबा, हजुरआमाले लामो समयदेखि प्रतीक्षा गर्नुभएको परिवारको कान्छो सन्तान, छोराको जन्म भयो । निःसन्देह उहाँहरूले भोज लगाएर सबै गाउँलेहरूलाई आमन्त्रण गर्नुभयो ।

तर मेरी आमाको कष्ट यतिमै अन्त्य भयो भन्ने कुराचाहिँ होइन । सबै जना निदाइरहेका बेला उहाँले लगातार लुगा धुनुहुन्थ्यो, र सदाझैँ हामीले खाना खाइसकेपछि पूरै कोठामा भातका सिताहरू छरिएको हुन्थ्यो । आमाले एक जना सन्तानलाई ध्यान दिनुहुँदा अर्कोले पानी पोखाउँथ्यो, अनि त्यसलाई पुछ्‌नुहुँदा फेरि अर्कोले बामे सर्दै गएर भान्सा कोठा फोहोर पारिदिन्थ्यो । यो क्रम दिनहुँ दोहोरिन्थ्यो । एक दिन, म विद्यालयबाट घर फर्किंदा आमा भान्सा कोठामा बसेर रोइरहनुभएको थियो । उहाँको छेउमा भटमासको तेलको शीशी फुटेको थियो, र तेल भुइँभरि छताछुल्ल थियो । त्योचाहिँ मेरा चकचके जुम्ल्याहा बहिनीहरूको काम थियो ।

त्यो समयमा आमा, मेरो अहिलेको उमेरभन्दा पनि कान्छी हुनुहुन्थ्यो । उहाँले आफ्नो युवावस्थाका सम्पूर्ण समय आफ्नो लागि नभएर ६ जना सन्तानहरूलाई हुर्काउनमै खर्चनुभयो ।

आफ्ना छोरीहरूलाई कसैले नराम्रो भन्लान् कि भनेर चिन्ता गर्नुहुँदै उहाँले सधैँ हामीलाई सफा लुगा लगाइदिनुहुन्थ्यो, अनि हरेक बिहान हाम्रो कपाल एक-एक गर्दै बाटिदिनुहुन्थ्यो । छोरा-छोरीले २ वटा फ्राइड चिकेन एकैछिनमा खाइसक्दा आमाले, मलाई चिल्लो खानेकुरा अलि मन पर्दैन भन्दै त्यो एक चोटि पनि खानुभएन ।

आमालाई चिकेन मन पर्थ्यो, र सजिएर हिँड्न पनि मन पर्थ्यो भन्ने कुरा मैले पछि थाहा पाएँ । आमालाई स्वादिलो परिकार खुवाउन र राम्रा लुगाहरू किनिदिएर आराम र प्रशस्ततामा जिएको म हेर्न चाहन्थें, तर व्यस्तताको बहानामा त्यो कुरालाई पछि सारेकीले आखिरमा मैले त्यो मौका सदाको लागि गुमाउन पुगें । मैले आमालाई “माफ गर्नुहोस्,” “धन्यवाद” र “माया गर्छु” भन्नेजस्ता मनका साँचो भावनाहरू कहिल्यै पूर्ण रूपले व्यक्त गरिनँ ।

आमा बित्नुभएपछि मैले आफू कति लापरवाही र अपरिपक्व रहेछु भन्ने कुरा महसुस गरें । ६ जना सन्तानहरूमध्ये जेठी छोरी भएअनुरूप मैले मेरी आमाको कष्टलाई हलुको रूपमा लिएँ, र उहाँलाई सहयोग गर्नेबारे कहिल्यै सोचिनँ । त्यो कुरामा मलाई आफैप्रति दुःख लाग्छ ।

मैले आमाको जीवनलाई फर्किहेर्दा, स्वर्गीय मातालाई सम्झिन पुगें । बिस्तारै सङ्ख्यामा बढ्दैगएका सन्तानहरूका कारण एक दिन पनि आराम गर्ने समय नपाउनुभएकी माता, केवल आफ्ना सन्तानहरूको निम्ति जिउनुहुन्छ । समयले कसैलाई पर्खंदैन । माताप्रतिको सन्तानोचित कर्तव्य पूरा गर्ने समय अब धेरै छैन । फेरिचाहिँ नपछुताउनको निम्ति म अबदेखि माताको हृदयलाई बुझेर साँचो जेठी छोरीको रूपमा मेरा आत्मिक भाइ-बहिनीहरूको राम्रो हेरचाह गर्दै लगनशीलताका साथ मातालाई सहयोग गर्ने सन्तान हुन चाहन्छु ।