WATV.org is provided in English. Would you like to change to English?

के पति-पत्नीको झगडा चाँडै समाधान हुन्छ ?

830 हेरेको संख्या

बहस भएपछि तुरुन्त मिलाप गरिहाल्नु राम्रो त हो, तर त्योभन्दा उत्तम उपाय भनेको बहसलाई झगडाको रूप लिन नदिनु हो ।

पति-पत्नीबीच शत्रुझैँ झगडा हुन सक्छ, तर तिनीहरू खासै केही नभएझैँ गरी एकछिनमै मिलिहाल्छन् । त्यसैले भनिन्छ नि, ‘लोग्ने-स्वास्नीको झगडा, परालको आगो ।’ तर हिजोआज यो एउटा पुरानो भनाइमा मात्र सीमित छ जस्तो लाग्छ । अहिले सम्बन्धविच्छेद दर वर्षैपिच्छे वृद्धि भइरहेको छ, अनि पति-पत्नीबीच झगडा भएर रिसको झोँकमा पूरै घरै आगो लगाइदिने जस्ता विभिन्न दुर्घटना तथा अपराधहरू भइरहेको छ ।

भनिन्छ, हुरी चलेपछि बल्ल शान्ति छाउँछ, तर यदि हुरीले सीमा नाघ्यो भने त्यसलाई नियन्त्रण गर्न निकै गाह्रो पर्नेछ । माटोको भाँडा थोरै मात्र चर्केको छ भने त्यो आखिरमा फुटेरै छाड्छ । त्योजस्तै पति-पत्नीबीचको झगडा पनि जतिसुकै सानै भए पनि यदि लगातार चलिरह्यो भने अन्ततः उनीहरू एक-अर्काबाट हैरान भएर छुट्टिन पुग्छन् । विवाहित जोडीबीच झगडा हुँदै नहुनु त असम्भव कुरा हो, तर झगडा भयो भने पनि त्यसलाई विकराल रूप लिन नदिन सक्दो प्रयत्न गर्ने दम्पती नै बुद्धिमान् दम्पती हुन् ।

प्रेम विवाह गरेर पनि किन झगडा हुन्छ ?

उसिनेको आलु चिनीसँग खाने कि नूनसँग खाने भन्ने कुरामा झगडा भएर अदालतसम्मै पुगेका एक दम्पती थिए । ती दम्पतीको कुरा सुनेर अदालतका न्यायाधीशले “म त खुर्सानीको चटनीमा चोपेर खाने गर्छु” भनेछन् ।

वैवाहिक दम्पतीबीच झगडा हुनुको कारणचाहिँ उनीहरू एक-अर्काभन्दा फरक भएकाले गर्दा हो । उनीहरूको बोलीवचन, सोचविचार, स्वाद, सुत्ने शैली, र टुथब्रसमा मञ्जन हाल्ने शैलीसमेत सबै फरक-फरक हुन्छ । एकै समयमा एउटै कोखबाट जन्मेका जुम्ल्याहा बच्चाहरूको त व्यक्तित्व फरक हुन्छ भने वयस्क उमेरसम्म फरक वातावरणमा हुर्केका पुरुष र स्त्रीको झन् के कुरा ?

जतिसुकै एक-अर्कालाई प्रेम गरेरै विवाह गरेको भए पनि सँगै बस्दैजाने क्रममा पैसा, बालबच्चाको पढाइ, सासू-ससुरासँगको सम्बन्ध, घरायसी कामकाज, बोल्ने तरिका इत्यादि कुरालाई लिएर झगडा उत्पन्न हुन पुग्छ । एक दम्पती भएअनुरूप पति-पत्नीबीचको सम्बन्ध दह्रिलो नहुँदा ती कुराहरूसम्बन्धी विवादले प्रायः झगडाको रूप लिन्छ । आपसी सम्बन्ध कमजोर भएमा पति-पत्नीले एक-अर्कालाई आरोप लगाउने, घृणा गर्ने अथवा इन्कार गर्ने जस्ता समस्याहरू उत्पन्न हुन्छ । तर आपसी सम्बन्ध दह्रो भएका पति-पत्नीले चाहिँ सँगै समस्या समाधान गर्ने उपाय खोज्न प्रयत्न गर्छन् ।

माथि उल्लेखित घटनाको सन्दर्भमा, आलु चिनीसित खाने कि नूनसित खाने भन्नेबारे के सही, के गलत भनेर भन्नु पनि अर्थहीन कुरा हो । कोही आफूभन्दा फरक छ भन्दैमा उसलाई गलत भन्न मिल्दैन । यदि ती दम्पतीले “मैले अहिलेसम्म आलु चिनीमा चोपेर खाँदैआएँ, तर आज एक चोटि नूनमा चोपेर खाइहेर्नुपर्ला” अथवा “वाह्, नूनमा चोपेर खाँदा पनि मीठै हुँदोरहेछ” भनेका भए तिनीहरूले अदालतसम्म नगई घरमै बसेर सँगै आलुको मज्जा लिन सक्नेथिए ।

झगडा हुँदा ध्यान दिनुपर्ने कुराहरू

१. मुखभन्दा बढी कानको प्रयोग गर्ने

अरूको कुरा नसुनी आफ्नै कुरालाई मात्र अगि सार्दै अन्तिमसम्म जिद्दी गरियो भने यसले झगडा उत्पन्न गराउँछ । धेरै बोल्नुभन्दा बरु धेरै सुन्ने बानी बसालौं । अरूको कुरामा कान लगाएमा बल्ल त्यो व्यक्तिलाई बुझ्न सकिन्छ । अरूको कुरा नसिद्धिउञ्जेल अन्तिमसम्मै सुनिदियो मात्र भने पनि झगडाको आगो सल्किनुअगावै अवस्थालाई साम्य बनाउन सकिन्छ ।

बोल्दा पनि अरूलाई सल्लाह दिने अथवा गाली गर्ने हिसाबले नभएर श्रोतालाई आफ्नो विचार र भाव प्रवाह गर्ने किसिमले बोल्नुपर्छ । “तपाईंले यसरी गर्नुपर्छ” अथवा “तपाईंले गर्दा यस्तो भएको हो” भनेर भन्नुभन्दा बरु “मलाई थोरै सहयोग गरिदिनुहुन्छ कि ?” अथवा “तपाईंले त्यसो गर्नुहुँदा मेरो चित्त साह्रै दुखेको थियो” भनेर पहिला आफूले सुरु गर्नुभयो भने कुराकानी गर्न निकै सहज हुनेछ ।

२. रिस उठाउने बोली नबोल्ने

प्रायः झगडा हुँदा पति-पत्नीले झगडाको मुख्य कारणलाई बिर्सेर एकले अर्कालाई भनेको कुरालाई खोतल्दै जथाभावी बोल्न थाल्छन् । झगडाले गम्भीर रूप लिएर चरम रिस उठे तापनि हामीले कदापि बोल्न नहुने बोलीहरू छन् । त्यतिखेर हामीले अर्को व्यक्तिको बाहिरी रूप, शैक्षिक स्तर, पारिवारिक पृष्ठभूमिका कमजोरीलाई खोतल्ने, विगतका गल्तीलाई औँल्याउने अथवा त्यो व्यक्तिलाई अरू कसैसँग दाँज्ने काम गर्नुहुँदैन । हामीले खिसी र निन्दा हुने बोली, साथै श्राप र अपमानजनक बोली कदापि बोल्नुहुँदैन । भावनामा बहेर जानी-जानी कसैको मनमा चोट पुऱ्याउनु भनेको आगोमा घ्यू थप्नुसरह हो । आफ्नो बोलीले अरूको भावनामा चोट नपुऱ्याउनलाई हामीहरू सधैँ होशियार रहनुपर्छ । त्यस्तो बोलीले सुन्ने व्यक्तिको मनमा गहिरो चोट पुऱ्याउँछ, र त्यो दाग लामो समयसम्म मनमा रहेर त्यसले फेरि अर्को झगडा उत्पन्न गराउँछ ।

३. सानो सोरमा बोल्ने

ठूलो सोरमा बोल्यो भने त्यो अब कुराकानी नभएर झगडा बन्न पुग्छ । चर्को र रिसाहा सोरमा बोल्नाले कुराकानी राम्ररी गर्न नसक्नुका साथै श्रोतालाई निराश बनाउन पुगिन्छ । गाडी दुर्घटना हुँदा ठूलो सोरमा बोल्नेले जित्छ भनिन्छ, तर विवाहित जोडीबीच हुने झगडाले हार-जितसँग कुनै सम्बन्ध राख्दैन । यदि आफ्ना पति/पत्नीले पहिला चर्को सोरले बोलेमा आफू पनि सँगसँगै ठूलो सोरले बोल्ने होइनकि सानो सोरमा आरामले कुराकानी गर्न कोसिस गर्नुपर्छ । त्यसो गर्दा पनि सीप लागेन भने एकछिनको लागि त्यो ठाउँ छोडेर गई, के कारणले रिस उठेको र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्नेबारे सोचविचार गरेपछि फर्केर आई कुराकानी गर्न थाल्नुपर्छ ।

४. बालबच्चाको अगाडि झगडा नगर्ने

झगडा पर्दा छेउमा उभिएको निर्दोष व्यक्तिलाई चोट लाग्छ । त्योजस्तै, पति-पत्नीबीच हुने झगडाले बालबच्चालाई सबैभन्दा ठूलो असर पर्छ । बुबा-आमा आपसमा झगडा गरेको देखेर बच्चाले एकदमै अप्ठ्यारो र डर महसुस गर्नुको साथै आफूलाई त्यसको दोषी ठान्न सक्छ । यस्तो अवस्था जति दोहोरिन्छ, बच्चामा भावनात्मक विकास त्यति नै ठप्प हुँदैजान्छ । यदि बच्चा भएको ठाउँमै बहस गर्न पुगियो भने बुबा र आमाबीच केही कुरा नमिलेकोले मिलाउनलाई प्रयास गर्दैछौं भनेर आफ्नो बच्चालाई जानकारी दिनुपर्छ ।

५. झगडालाई लामो समयसम्म रहन नदिने

बेलायतमा सबैभन्दा लामो वैवाहिक समय बिताएको भनेर सन् २००५मा कीर्तिमान तोडेका पर्सी एरोस्मिथ(१०५ वर्षीय)ले आफ्नो ८० वर्षे वैवाहिक जीवनको रहस्य नै “माया गर्छु” अथवा “माफ गरिदेऊ” भन्न कुनै कसर नछोड्नु, अनि झगडा भयो भने पनि सुत्न जानुअघि आपसमा मिलाप गरिहाल्नु हो भनी बताए ।

झगडालाई लामो समयसम्म रहन दिनु राम्रो कुरा होइन । पति-पत्नीले आफ्नो आत्मगौरवलाई रक्षा गरेर अथवा आफ्नो अडान लिएर पाउने कुरा केही छैन । ‘हार नै जित हो’ भन्ने भनाइजस्तै आफ्नो पति/पत्नीको सल्लाहलाई सहर्ष स्वीकारेर पहिला मिलाप गर्न कोसिस गर्नुपर्छ ।

पति-पत्नी दुवैले जीवनभरि नै एक-अर्काबीच हुने भिन्नताको कदर गर्दै बुझिदिन प्रयास गर्नुपर्छ । अनि आफूचाहिँ परिवर्तन हुन नखोजी, यदि आफ्नो पति/पत्नीलाई आफ्नै हिसाबले परिवर्तन गराउन खोजियो भने झगडाको कहिल्यै टुङ्गो लाग्दैन । वैवाहिक स्थिरता र सम्बन्ध विश्लेषणको कामले परिचित प्राध्यापक जोन गटम्यानका अनुसार वैवाहिक दम्पतीबीच हुने झगडामा ७०% जतिचाहिँ समाधान गर्नै नसकिने समस्या हुन्छ । त्यसोभए त्यति धेरै समस्याहरू लिएर ती दम्पती कसरी जिउन सक्ने होलान् ? एकदमै सजिलो उपाय भनेको नै आफ्नो पति/पत्नी जो, जस्तो छ उसलाई त्यसरी नै स्वीकार्नु हो । तर यदि कुनै दम्पतीबीच, वैवाहिक जीवन नै बिथोलिने समस्या छ भने त्यसलाई अनिवार्य समाधान गर्नुपर्छ । तर सानातिना कुराहरूको सवालमा चाहिँ त्यो खासै केही होइन भनेर सोच्न सक्ने फराकिलो मन लिन कोसिस गर्नुपर्छ ।

पति/पत्नीले एक-अर्काको हेरचाह र सुरक्षा गर्नुपर्छ । पति/पत्नी खुशी भएमा आफू पनि खुशी हुन सकिन्छ । पति-पत्नी दुवै एउटै शरीर र आत्मा हुन् नि, होइन र ? आपसमा प्रेम गर्दै जिउने जीवन एकदमै छोटो भएकोले एक-अर्काको गल्तीलाई ढाकछोप गरिदिँदै कमजोर पक्षमा एक-अर्कालाई सहयोग गरेर खुशीले भरिपूर्ण परिवार बनाऔं ।