बिबिम्बाब

स ह्यन जु / इन्छन, कोरिया

8,277 भ्यु

म विद्यालयबाट घर फर्किंदाखेरि मेरी आमाले कलिलो मूलाको किम्ची, उसिनेको जौ, एक चम्चा रातो खुर्सानीको पेस्ट र सिलामको तेल मिसाएर बिबिम्बाब बनाइदिने गर्नुहुन्थ्यो । यो मलाई सबैभन्दा मन पर्ने परिकार हो । तर विगत १० वर्षदेखि मैले मूलाको बिबिम्बाब खाएकी छैनँ । त्यसलाई हेर्दा मात्र पनि गला अवरुद्ध भएर मेरो गह भरिन्छ, र त्यो म खानै सक्दिनँ ।

१० वर्षअघिको कुरा हो । मेरो भाइले आमाको आयु अब १ हप्ता मात्र रहेको कुरा बतायो । आमा क्यान्सर रोगले ग्रस्त हुनुभएको भए पनि उहाँलाई जिउन कुनै समस्या परेको थिएन । उहाँसँग फोनमा कुरा गर्दैपिच्छे उहाँको आवाज, ममा उहाँले आफ्नो रोगलाई सजिलै जित्न सक्नुहुन्छ भन्ने सोचाइ आउनेसम्म सकारात्मक सुनिन्थ्यो । यसकारण भाइले भनेको कुरा मैले पत्याउनै सकिनँ । भित्रभित्रै मैले यसरी सोचें, ‘हाम्री आमा कदापि सजिलै ढल्नुहुन्न ।’

तर आमाको अनुहार देख्नेबित्तिकै म भुइँमा थचक्क बसें । उहाँको पूरै शरीर पहेँलो भएको थियो, अनि उहाँको पेट सुन्निएको थियो । उहाँले सधैँ सन्चै छु भन्नुभएकोले मैले उहाँ सन्चै हुनुहुन्छ होला भन्ठान्ने मूर्खता गरें । त्यो मेरो भ्रम र लापरवाही थियो । पूरै शरीर छिया-छिया परेको भए पनि उहाँले “दुख्यो, गाह्रो भयो” भनेर एक पटक पनि भन्नुभएन, अनि उहाँले जीवनभर आफ्ना छोरा-छोरीहरूबाट राम्रो व्यवहार पाउनुभएन । कमजोर अवस्थामा पल्टिरहनुभएकी आमालाई देखेर मैले आफ्नो छाती पिटें ।

‘म साँच्चै खराब छोरी हुँ । मैले आमाको मनलाई एक पटक पनि बुझिनँ !’ २ दिन उहाँको हेरचाह गरेपछि आमाको अनुहारमा रङ आयो, अनि सुन्निएको पेट फेरि ठीक भयो । तर ३ दिनपछि त उहाँले मेरो विवाह भइसकेको कुरालाई समेत बिर्सिएर आफ्ना बाल्यकालका यादहरूको विषयमा कुराकानी गर्नुभयो । आमाले घर फर्किएपछि बिबिम्बाब खाने इच्छा रहेको कुरा बताउनुभयो ।

“आमा, तपाईं घर फर्किनुभएपछि म तपाईंको लागि बिबिम्बाब बनाउनेछु । सदा आमाले बनाइदिने गर्नुहुन्थ्यो । यस पटकचाहिँ म बनाउनेछु । थोरै मात्र धैर्य गरिदिनुहोस् ।”

हामीले एकसाथ बिबिम्बाबको मज्जा लिने वाचा गऱ्यौं, तर डाक्टरले भनेअनुसारै मेरी आमा एक हप्ताभित्रै बित्नुभयो । अहिले पनि बिबिम्बाब देख्यो कि यो कान्छी छोरीको हृदय छिया-छिया हुन्छ भन्ने कुरा आमालाई थाहा छ ।